बागलुङ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको छ।
बीबीसीका अनुसार कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्न हिमपहिरो गएको थियो।
त्यसयता टोलीसँग सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले जनाएका छन्।
सम्पर्कविहीन टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन्। मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गर्दै खोज तथा उद्धार अभियान सञ्चालनको प्रयास भइरहेको जनाएको छ।
हेलिकोप्टरसहित उपलब्ध सबै स्रोत–साधन परिचालन गरी आरोहीहरूको सकुशल उद्धारका लागि पहल भइरहेको क्लबले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।
सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए।













































































































































































































