४ जेष्ठ २०८२, आईतवार

 

काग तिहारसँगै मनाइँदै धन्वन्तरि जयन्ती

काग तिहारका दिन आज आयुर्वेद चिकित्साका पिता धन्वन्तरिको जन्मजयन्ती मनाइँदै छ । बागलुङमा पनि धन्वन्तरि स्वास्थ्य सहकारी, स्वास्थ्य रक्षाका लागि क्रियाशील आयुर्वेद समाज र विजया आयुर्वेद फर्माले कार्यक्रम आयोजना गरेका छन् ।

धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका अवसरमा सहकारीले बागलुङका क्रियाशील पत्रकारलाई गुडुची चूर्ण वितरण गरेको छ । गुर्जोबाट बनेको चूर्णको सेवनले रोगप्रतिरोधात्मक शक्ति बढाउने सहकारीका अध्यक्ष रमाकान्त सापकोटाले बताए ।

‘मेडिकल औषधिको प्रयोग हुनुअघि आयुर्वेद औषधि मात्रै प्रयोग हुन्थ्यो । अहिले पनि आयुर्वेदको महत्त्व उत्तिकै भएकाले सबैले प्रयोग गर्नुपर्छ,’ उनले भने । कोरोना महामारीविरुद्ध लड्न आयुर्वेदिक साबुन, स्याम्पु र दन्तमञ्जन उत्पादन गर्न लागेको सापकोटाले जानकारी दिए । उक्त सहकारी संस्थामा २ सय ५ जना सेयर सदस्य छन् ।

नेपाल सरकारले २०५६ सालदेखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सहकारीले पनि तीन वर्षदेखि लगातार दिवस मनाइरहेको छ । सहकारीका सदस्यमध्ये २५ जनाले जडीबुटी खेती गरेका छन् । उनीहरूले उत्पादन गरेको जडीबुटी संकलन गरेर सहकारीमार्फत बजारीकरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung