१९ भाद्र २०८३, शुक्रबार

 

खानेतेलको मूल्य बढ्यो

निषेधाज्ञा खुलेपछि खानेतेलको मूल्य लगातार बढिरहेको छ। तीन महिनाको अवधिमा तेलको मूल्य लिटरमै २५ रुपैयाँसम्म बढेको छ । अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएको जिकिर गर्दै तेल उत्पादकहरूले तोरी, सूर्यमुखी र भटमासको गरी तीन प्रकारकै तेलको मूल्य बढाएका हुन्।

तीन महिना अघि सनफ्लावर तेलको कारखाना मूल्य प्रति लिटर १ सय ६० देखि ६५ रुपैयाँ भएकोमा अहिले दुई सय रुपैयाँ पुगेको छ। ब्राण्डका आधारमा केही सनफ्लावर तेलको मूल्य २ सय समेत नाघिसकेको छ।

त्यस्तै प्रति लिटर १ सय ५० देखि ५५ मा पाइने भटमासको तेलको कारखाना मूल्य १ सय ८० पुगेको छ। तोरीको तेलको मूल्यमा पनि त्यस्तै उछाल आएको छ। तीन महिना अघिसम्म तोरीको तेलको कारखाना मूल्य प्रति लिटर १ सय ७५ देखि १ सय ८५ रुपैयाँसम्म थियो । हालको मूल्य १ सय ९५ देखि २ सय ५ सम्म छ। कुनै ब्राण्डको खुद्रा मूल्य २ सय ४० रुपैयाँ नाघिसकेको छ।

तोरीको तेल उत्पादन गर्ने सुनसरीको कारखाना जेके आयल इन्डस्ट्रीका सञ्चालक जितु राठीका अनुसार नेपालमा सबैभन्दा बढी तोरी क्यानाडाबाट आयात गरिन्छ। त्यसपछि अस्ट्रेलियाबाट हुन्छ। तर अस्ट्रेलियाको तोरी प्रति टन १५–२० डलर महँगो पर्ने हुँदा उद्योगीहरू क्यानाडाकै तोरी प्रयोग गर्छन्।

क्यानाडामा तीन महिना अघि तोरीको मूल्य प्रति टन ५ सय २० देखि ५ सय ३० डलर रहेकोमा अहिले ६ सय ३० देखि ६ सय ३५ डलर छ ।

त्यस्तै भारतमा पनि तोरी दानाको मूल्यमा अचाक्ली वृद्धि भएको छ। नेपालका तेल उद्योगले तेलमा राग ल्याउन भारतीय तोरीको प्रयोग गर्छन्। क्यानाडा र अस्ट्रेलियाबाट आयात गरिएको तोरीको तेलबाट राग नआउने भएकाले भारतीय तोरी मिसाउनै पर्छ। भारतीय तोरीमात्र प्रयोग गरेर कसैले तेल उत्पादन गर्दैनन्। भारतीय तोरीको तेल महँगो पर्छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung