सात अर्ब बढीको कारोबार भएको बजारमा सबै उपसूचक घटेर बजार १२३ अंकमुनि आइपुगेको छ । चार कम्पनीको सेयर मूल्य बढेको छ । यसबाहेक एक सामूहिक लगानी कोषको इकाइ र दुई बैंकको ऋणपत्रको मूल्य बढेको छ।
बाँकी सबै ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, आज बजारमा तीन वटा रेकर्ड बनेको छ । आज सर्वाधिक अंकले बजार घटेको हो भने जीवन बीमा सूचक पनि सर्वाधिक आज घटेर अर्को रेकर्ड राखेको छ।
आज लगानीकर्ताले सबैभन्दा बढी गुमाए । फराकिलो रकमले बजार पुँजीकरण आज झरेको हो । गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ।
लगानीकर्ताले एक दिनमा एक खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाएका छन्। तर, आइतबार सेयर ब्रोकरले कमिसनमार्फत ३ करोड ५० लाख रुपैयाँ हाराहारी कमाएका छन् ।
नेप्सेका अनुसार, जीवन बीमा सूचक ८ प्रतिशतले घटेको छ। १०४१ अंकले सूचक घटेको हो। यो समूहको सबैभन्दा उच्च दरको घटौती हो। यसबाहेक निर्जीवन बीमाको ५६९ अंकले झरेको छ। यसमा सबैभन्दा बढी घट्नेमा नेपाल रिइन्स्योरेन्स कम्पनी छ। कम्पनीको सेयर मूल्यमा घटेर सर्किट लागेको छ।
















































































































































































