५ जेष्ठ २०८१, शनिबार

 

वन्यजन्तुलाई सडक पार गर्न छुट्टै पुल

भारतका वन अधिकारीहरूले घस्रेर हिँड्ने सरिसृप र अन्य साना वन्यजन्तुलाई व्यस्त सडक पार गर्न सहयोग पुग्ने गरी उत्तराखण्डमा एउटा विशेष पुल बनाइदिएका छन् । नब्बे फुट अर्थात् २७ मिटर लामो उक्त ‘इको ब्रिज’ बाँस, जुट र घाँसबाट बनेको छ ।

त्यस्तो खालको संरचना पहिलो भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोकप्रिय पर्यटकीय गन्तव्य नैनीताल जाने उक्त राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण कैयौँ वन्यजन्तुको ज्यान जाने गरेको छ ।

लक्षित वन्यजीवले पुल प्रयोग गरून् भनेर त्यसमा घाँस र लहरा उमार्ने काम गरिएको अधिकारीहरूले बताएका छन् । उत्तराखण्डका वन अधिकारी चन्द्रशेखर जोशीले बीबीसीसँग भने, ‘कैयौँ सरिसृप र अरू साना जीवलाई यो राजमार्गमा पर्यटक चढ्ने सवारीसाधनले मार्ने गर्दै आएका छन् ।’

उनले वन्यजन्तुको आवतजावत निगरानी गर्न पुलको दुवैतिर क्यामरा जडान गरिएको पनि जानकारी दिए । अहिले उक्त पुल नै पर्यटकहरूको आकर्षणस्थल बनेको छ ।

त्यहाँ रोकिएर धेरैले तस्बिर र सेल्फी खिच्न थालेका छन् । तर वन विभागले उक्त पुलले चाँडै वन्यजन्तुलाई पनि आकर्षण गर्ने अपेक्षा राखेको छ ।

‘यो एउटा घना जंगल हो र यहाँ हात्ती, चितुवा, हरिणजस्ता जीव हिँडडुल गर्छन् । चालकहरूले उनीहरूलाई परैबाट देख्ने हुँदा या त रोक्छन् या गति कम गर्छन् ।

तर उनीहरूले सर्प, माउसुली, लोखर्केको हकमा कमै मात्र त्यस्तो गर्छन्,’ एक वन अधिकारीले समाचारपत्र द इन्डियन एक्सप्रेससँग भनेका छन् ।

अधिकारीहरूले यो पुलले त्यस क्षेत्रमा रहेका साना जन्तु र सरिसृपहरूबारे जनचेतना जगाउने र उनीहरूको संरक्षणमा सहयोग गर्ने विश्वास राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्