१९ भाद्र २०८३, शुक्रबार

 

श्रममन्त्रीसँगको भेटमा उद्योगीले भने– ‘अर्थतन्त्र सुदृढीकरणका लागि नीजि क्षेत्रसँग सहकार्य आवश्यक छ’

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँग भेटवार्ता गरेका छन्।महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकार बीच त्रिपक्षीय सहकार्य हुनुपर्नेमा जोड दिए।

भेटवार्तामा मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी थिए।

नेपालको श्रम उत्पादकत्व दक्षिण एशियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर सरकार लाग्नु पर्नेमा गोल्छाले जोड दिए।

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषदका तर्फबाट महासंघले धेरै सुझाव दिएको स्मरण गर्दै उनले सोही ऐन अन्तर्गत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीहरूको आकर्षण बढ्न नसकेको बताए।

श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सबैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छाले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताए।उनले स्वदेशी श्रमिकको दक्षता अभिवृद्धि मार्फत नेपालमा कार्यरत वाह्य देशका कामदार विस्थापन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव दिए।

अध्यक्ष गोल्छाले अहिले पनि एकाध उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएकाले यसमा सरकारले तत्काल हस्तक्षेप गरी उद्योग संचालन गर्ने वातावरण बनाउनु पर्ने माग गरे।आउने दिनमा श्रम सम्बन्धलाई थप मजवुद बनाउँदै औद्योगिक व्यवसायिक विकासमा सरकारलाई हरतरहले सहयोग गर्न महासंघ तयार रहेको पनि उनले बताए।

श्रम मन्त्री यादवले मुलुकभित्र उत्पाकत्व अभिवृद्धिका लागि उचित तालिमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा स्तरीय तालीम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा रहेकाले महासंघसँग समेत यसमा सहकार्यको अपेक्षा गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung