१७ बैशाख २०८१, सोमबार

 

यूकेमा ९० वर्षीया महिलालाई कोरोनाविरुद्धको पहिलो खोप

९० वर्षीया महिला यूकेमा कोरोना खोप लगाउने पहिलो व्यक्ति भएकी छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउने देशव्यापी अभियानअन्तर्गत उनी पहिलो व्यक्तिका रूपमा छनोट गरिएकी हुन् ।
आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट किननले खोपलाई ‘जन्मदिनको सबैभन्दा राम्रो उपहार’ बताएकी छन् ।

उनलाई मंगलबार स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजर र बायोएनटेकले विकास गरेको खोप दिइएको थियो । उक्त खोपको आठ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ । यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ ।

सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीलाई यो खोप दिइनेछ । किननले भनिन्, ‘कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु । मेरा लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो ।

यसको अर्थ म अन्ततः परिवार र साथीसँग समय बिताउन सक्छु भन्ने हो ।’ यूके फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो । यूकेले उक्त खोपको चार करोड डोज किन्न फाइजरसँग सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्