६ जेष्ठ २०८१, आईतवार

 

टीपीएसअन्तर्गत गएकाहरू अमेरिकामा थप ९ महिना बस्न पाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस टीपीएस कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएसअन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो ।

अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा चलिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन् । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ ।

बुधबारको निर्णयसँगै अमेरिकामा रहेका एल सल्भाडर, हाइटी, होन्डुरस, निकारागुआ र सुडानका नागरिकलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ । उनीहरूको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो ।

नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकले कानुनी रूपमा अमेरिकामा बसोबासको अनुमति पाउने भएका हुन् । टीपीएस कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली नागरिक बसोबास गरिरहेका छन् ।

अमेरिकाको नयाँ निर्णयले टीपीएस कार्यक्रमका तीन लाखभन्दा धेरै नागरिक लाभान्वित हुने बताइएको छ । अमेरिकामा यो कार्यक्रम सन् १९९० को दशकदेखि सुरु भएको हो । यो कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १० मुलुकका चार लाखभन्दा धेरै मानिस छन् ।

प्रतिक्रिया दिनुहोस्