प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद विघटनको निर्णय सुनाए । उपस्थित मन्त्रीहरु प्रधानमन्त्रीको निर्णय सुन्दा आश्चर्यमा परे । बैठक शुरू हुनासाथ प्रधानमन्त्री ओलीले अध्यादेश औपचारिकरुपमा फिर्ता लिनुपर्ने भन्दै प्रस्ताव राखे र आफ्नो कुरा अघि बढाए ।
उनले पार्टीभित्रको परिस्थितिले नयाँ जनादेशमा जानुपर्ने अवस्था आएको बताएका थिए ।
‘अहिलेको परिस्थितिले नयाँ जनादेशमा जानुपर्ने अवस्था आयो । अरु विकल्प भएन,’ प्रधानमन्त्री ओलीले यही भनेपछि बैठकबाट निस्केका थिए ।
मन्त्रीहरू घनश्याम भुसाल, वर्षमान पुन र योगेश भट्टराईले रोक्न खोजेका थिए । उनीहरूले पहिले पार्टीमै छलफल गरेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए । तर, ती कुराको वास्ता नगरि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेसँगै सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु खुमलटारमा भेला भएका छन् ।
वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु दाहाल निवास खुमलटारमा छलफलमा जुटेका हुन् ।
जारी छलफलबाट प्रधानमन्त्रीको कदमका विषयमा ठोस धारणा बनाउने र स्थायी कमिटी बैठकबाटै निर्णय गरेर अघि बढ्ने उनीहरुको तयारी छ ।













































































































































































































