७ जेष्ठ २०८१, सोमबार

 

वडाको पहलमा बलेवामा उच्च गतिको इन्टरनेट

बागलुङको एक गाउँका सर्वसाधारण वडा कार्यालयको पहलमा गाउँमै उच्च गतिको इन्टरनेट पाएपछि दंग छन् । बागलुङ नगरपालिका–१३ र १४ का सर्वसाधारणलाई नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट उपलब्ध गराएको हो ।

अहिले गाउँका पाका मानिसहरू इन्टरनेटमा भजन–कीर्तन हेर्छन् भने बालबालिका अनलाइन कक्षा पढ्छन् । वयष्कहरू मोबाइलमै संसार खोजिरहेका छन् ।
नेपाल टेलिकम बागलुङले जिल्ला सदरमुकामबाहिर पहिलोपटक फाइबर सेवा विस्तार गरेपछि उक्त टोलमा उच्च गतिको इन्टरनेट चल्न थालेको हो ।

कार्यालयको पहलमा द्रुत गतिको इन्टरनेट र भ्वाइसका लागि टेलिकमले बागलुङको बलेवा क्षेत्रमा फाइबर सेवा विस्तार गरेको हो । नेपालमै बागलुङ बजारबाट पहिलोपटक सुरु भएको ‘फाइबर टु दी होम’ अभियानअन्तर्गत पुरानो तामाको तार विस्थापित गरेर फाइबर जडान गरिएको हो ।

नेपाल टेलिकम बागलुङ शाखाले बलेवा क्षेत्रका दुई वडामा ५ सय १२ वटा लाइन दिन मिल्ने गरी सेवा विस्तार गरेको छ । फोनका लागि ल्यान्डलाइन र इन्टरनेटसमेत एउटै राउटरबाट चल्ने गरी सेवा विस्तार भएको छ । पुरानो तामाको तारको तुलनामा द्रुत गतिको भ्वाइस र इन्टरनेट फाइबरबाट सेवा दिन थालिएको नेपाल टेलिकमले जनाएको छ ।

उच्च गतिको इन्टरनेट गाउँमा पुगेपछि स्थानीय सबैलाई सहज भएको छ । कार्यालयदेखि विद्यालय र सहरकारी तथा गैरसरकारी संस्थाहरूका लागि समेत इन्टरनेटका कारण सेवा प्रवाहमा रोकिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

टेलिकमले आवश्यकताअनुसार ८ देखि ६० एमबीपीएससम्मको इन्टरनेट र ल्यान्डलाइन फोन वितरण गरेको छ । नयाँ ग्राहकले यो सेवा लिँदा एकमुष्ट एक वर्षका लागि दशहजार रुपैयाँ तिर्दा पुग्छ । सदरमुकामबाहिर बलेवामा पहिलोपटक विस्तार भएको फाइबर जिल्लाका अन्य बजार क्षेत्रमा विस्तारको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्