१९ भाद्र २०८३, शुक्रबार

 

महासंघका पदाधिकारीले भेटे राष्ट्रपतिलाई

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा पूर्वअध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहितको प्रतिनिधिमण्डलले भण्डारीलाई भेटेको हो ।

उक्त अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरुत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिए ।

साना मझौला व्यवसाय चल्न सके ठूला उद्योग स्वतः चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको उनले बताए ।

गोल्छाले लाखौं युवा बेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिर्जना गर्ने जिकिर गरे ।

कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उनले बताए ।

भेटमा राष्ट्रपति भण्डारीले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग–व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन् ।

‘हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि पछि परेका छौं । प्राकृतिक स्रोत–साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरूकै भर पर्नुपर्ने परिस्थिति छ,’ राष्ट्रपतिले भनिन्, ‘रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ, यसमा तपाईहरू गम्भीर भएर लाग्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung