नेपाल नापतौल तथा गुणस्तर विभागमा ४३ र ५३ ग्रेड लेख्न अनुमति माग्दै निवेदन दिएका पाँचवटा सिमेन्ट उद्योगको पहिलो चरणको परीक्षण मापदण्डअनुरूप रहेको पाइएको छ ।
सरकारले सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा ४३ र ५३ ग्रेड लेख्न सक्ने व्यवस्था गरेपछि अर्घाखाँची, पाल्पा, शिवम्, मारुती र प्युठान सिमेन्टले विभागमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा विभागले उद्योगमा पुगेर सिमेन्टको नमुना संकलन गरेको थियो ।
उक्त नमुना परीक्षण गर्दा मापदण्डअनुरूप पाइएको विभागले जनाएको छ । ‘विभागमा आवेदन दिएका सबै उद्योगको पहिलो चरणको नमुना गुणस्तरअनुसार नै छ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले क्यापिटल नेपालसँग भने, ‘ती उद्योगबाट उत्पादित सिमेन्टको दोस्रो चरणको नमुना पनि परीक्षण भइसकेको छ । कतिपय उद्योगको दोस्रो पटकको परीक्षण पनि सफल भएको छ ।’
अहिलेसम्म नेपालमा ३३ ग्रेड लेखेर मात्रै सिमेन्ट बेच्नुपर्ने उद्योगको बाध्यता छ । आफ्ना उत्पादन ५३ ग्रेडसरह हुँदा पनि सरकारले त्यससम्बन्धी कानुन नबनाएकाले उद्योगीले लेख्न सकेका थिएनन् । तर, अहिले सरकारले यससम्बन्धी कानुन ल्याइसकेको छ । पाँचवटाबाहेक अन्य उद्योगले पनि निवेदन दिएका छन् । तर, विभागले पाँचवटा उद्योगको पहिलो चरणको परीक्षण सिध्याएको हो ।
दोस्रो चरणको पनि अन्तिम तयारी रहेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए । त्यो रिपोर्ट आउनेबित्तिकै उद्योगीलाई जानकारी गराइन्छ । ‘४३ र ५३ ग्रेड लेख्न सिमेन्टको नमुना दुईपटक परीक्षण हुनुपर्छ । एकपटक परीक्षण भइसकेको छ । त्यसको रिजल्ट पनि मापदण्डअनुसार आइसकेको छ,’ उनले भने, ‘पहिलो चरणको परीक्षणको आवेदन दिएका सबै उद्योगहरू पास भइसकेका छन् ।’
२०७६ माघमा बसेको नेपाल गुणस्तर परिषद्को १०२ औं बैठकले ग्रेड निर्धारण गरेको थियो । सरकारले सिमेन्टको ग्रेड निर्धारण नगर्दा स्वदेशी सिमेन्ट उद्योगले राष्ट्रिय गौरवका आयोजनामा आफ्नो उत्पादन पठाउन सकेका थिएनन् । ठूला आयोजनाले टेन्डर निकाल्दा नै ४३ र ५३ ग्रेडको सिमेन्ट हुनुपर्ने उल्लेख गरेकाले कुनै पनि उद्योगले ठूला आयोजनामा भाग लिन नसकेका हुन् ।
व्यवसायीले नेपाल गुणस्तर ४९ अन्तर्गत रहेर ३३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएकोमा अब नयाँ गुणस्तर नम्बर निर्धारण गरिएको छ । नयाँ मापदण्डअनुसार नेपाल गुणस्तर नं ५७२ मार्फत ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन हुन्छ ।
















































































































































































