१९ भाद्र २०८३, शुक्रबार

 

लयमा फर्किंदै एफएमसीजीको व्यापार

फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी)को व्यापारमा सुधार आएको छ । चैतयता खुम्चिँदै गएको यसको व्यापारमा विस्तारै पुनरावृत्ति भएको उद्योगीहरूले बताएका छन् ।

सरकारले कोनोरा भाइरस नियन्त्रण गर्न गत वर्षको चैत ११ गते लकडाउन गरेपछि खुम्चिएको व्यापार मंसिरबाट पुरानो लयमा फर्किएको उनीहरुको भनाइ छ ।

८ महिनासम्म २० प्रतिशत भन्दा कम क्षमतामा उत्पादन गरिरहेका उद्योगले मंसिर लागेपछि ८० प्रतिशत क्षमतामा चलाएको जनाएका छन् । मङ्सिरपछि सफ्ट ड्रिङ्स, डेरी प्रडक्ट, मदिरा तथा मदिराजन्य पदार्थ, कन्फ्रेसनरी, कोकाकोलालगायतको व्यापारमा सुधार आएको सम्बद्ध उद्योगीले बताएका छन् ।

एफएमसीसी उत्पादनमा लागेका उद्योगले विस्तारै आफ्नो उत्पादन क्षमता बढाउँदै लगेका छन् । अहिले उनीहरूले चैतअघिकै अवस्थामा उत्पादन पुर्‍याइरहेको बताएका छन् ।

‘बजारमा विस्तारै माग बढ्दै गयो, त्यसैअनुरुप उत्पादन पनि बढाउँदै लगेका छौं,’ सूर्य नेपालका सिनियर भाइस प्रेसिडेन्ड रवि केसीले भने, ‘अहिले एफएमसीजी उद्योगले आफ्नो गति समाउन खोजेको देखिन्छ ।’ सूर्य नेपालले एफएमसीसी उत्पादन गरिरहेको छ भने आयातमा पनि यसको ठूलो हिस्सा छ ।

केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्माणजन्य उद्योगपछि एफएमसीजीले पुरानो लय समात्न लागेको बताएका थिए । ‘अहिले सिमेन्ट तथा स्टिल उद्योग ८० देखि ९० प्रतिशत क्षमतामा चलेका छन्, त्यसपछि एफएमसीजी उद्योग नै छ’ गोल्छाले भने । त्यसैगरी, अहिले चाउचाउ उद्योगले पनि आफ्नो क्षमताअनुरुप उत्पादन गरिरहेका छन् ।

बजारमा नयाँ नयाँ चाउचाउ उद्योग समेत आएका छन् । ती उद्योगले पनि आफ्नो उत्पादनको राम्रो बजारीकरण गरेकाले यसको बजार पनि विस्तार भएको उद्योगीहरुले बताएका छन् । खास गरी दैनिक उपभोग्य वस्तु चाउचाउ, बिस्कुट, चक्लेटलगायतको व्यापारमा सुधार आएको उद्योगीहरू बताउँछन् ।

नेपालमा एफएमसीजीमा व्यावसायिक घरानाको लगानी छ । चौधरी ग्रुप, केएल दुगड ग्रुप, सारडा ग्रुप, सूर्य नेपाललगायतले एफएमसीजीमा ठूलो लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योगरव्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung