
सरकारले पहिलो पटक स्वदेशी कार्पेटको ‘नेपाल गुणस्तर’ बनाउने विषयमा छलफल सुरु गरेको छ । सम्बद्ध व्यवसायीले कार्पेटको गुणस्तर बनाउन सरकारसँग माग गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले आवश्यक तयारी थालेको हो ।
‘उद्योगीको मागअनुसार कार्पेटको नेपाल स्ट्यान्डर्ड बनाउने विषय सरोकारवालासँग छलफल सुरु गरिएको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘नेपालमा कार्पेटको बजार ठूलो रहेको र यसका लागि नेपाल स्ट्यान्डर्ड समेत आवश्यक भएकाले सरकारले त्यसबारे छलफल सुरु गरेको हो ।’
नेपालबाहेक अन्य देशमा कार्पेटको गुणस्तर तोक्ने गरिएको छ । यो क्षेत्रमा भएको लगानी, उत्पादन हुने परिणाम र विदेश निर्यातको सम्भावनालाई हेरेर पनि मापदण्ड आवश्यक रहेको पुडासैनीको भनाइ छ ।
८० प्रतिशतभन्दा बढी आयात प्रतिस्थापन गरेको कार्पेटको अहिलेसम्म नेपाल गुणस्तर नभएको पाइएको छ । नेपालका आधा दर्जनभन्दा बढी उद्योगले सस्तोदेखि महँगोसम्म कार्पेट बनाउन थालेपछि विदेशबाट कार्पेट आउन बन्द भएको उद्योगीले बताएका छन् । पछिल्लो समय उद्योगीले नयाँ–नयाँ प्रविधि भित्र्याएर कार्पेट बनाउन थालेका छन् । विश्वस्तरीय उत्पादन भएकाले नेपालबाट पनि विश्वका विभिन्न देशमा कार्पेट निर्यात भइरहेको सम्बद्ध उद्योगीहरूले बताएका छन् ।
हाल नेपालमा ७ वटा कार्पेट उद्योग छन् । सरकारले नेपाल स्ट्यान्डर्ड बनाएको अवस्थामा नेपाली कार्पेटले विश्व बजारमा सशक्त उपस्थिति जनाउने प्रेस्टिज ग्रुपका अध्यक्ष विनय साहले बताए । हाल नेपालमा हेरिटेज, एसटी, यती, जेन्टा, हाइटेक्स, प्रेस्टिज कार्पेट र यती पोलिकेन उद्योग छन् । यी उद्योगीले पीभीसीदेखि सबै प्रकारका कार्पेट बनाउँछन् । उद्योगीका अनुसार पाँचतारे होटलले प्रयोग गर्नेदेखि सामान्य परिवारले प्रयोग गर्नेसम्मका कार्पेट नेपालमै बन्न थालेका छन् ।