५ जेष्ठ २०८१, शनिबार

 

कोभिड संक्रमण घटेसँगै महँगा स्मार्टफोनको व्यापार बढ्दै

कोभिड संक्रमण घट्दै जाँदा महँगा स्मार्टफोनको व्यापार बढ्न थालेको छ । सेयर बजार, घरजग्गा कारोबार हुँदै अन्य व्यावसायिक क्षेत्र पनि पुरानै अवस्थामा फर्किन थालेपछि महँगा स्मार्टफोनको व्यापार बढ्न थालेको हो ।

भन्सार विभागका अनुसार माघ महिनामा ३ अर्ब ४३ करोड ७८ लाख ४८ हजार रुपैयाँ बराबरका ७ लाख ४ सय थान मोबाइल आयात भएका छन् । यो आयातबाट सरकारले ५४ करोड ३९ लाख ३२ हजार रुपैयाँबराबर भन्सार पाएको छ ।

जबकि पुसमा तीन अर्ब रुपैयाँबराबरक ८ लाख ९१ हजार ७ सय ८७ थान स्मार्टफोन आयात भएका थिए । पुसभन्दा माघमा ४३ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।

आयात मूल्य बढेसँगै सरकारको भन्सार असुलीमा पनि वृद्धि भएको छ । पुसभन्दा माघमा सरकारले ७ करोड ४० लाख रुपैयाँ बढी भन्सार असुलेको जनाएको छ । भोक्ताहरू बिस्तारै महँगा स्मार्टफोनतर्फ आकर्षित हुँदा आयात मूल्य र भन्सार दुवै बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले बताए ।

उपभोक्ताहरूले २० हजार रुपैयाँ वा सोभन्दा कम मूल्यका भन्दा मिडियम तथा हाइरेन्जका स्मार्टफोन खरिद गर्न थालेको उनको भनाइ छ । ‘बेसिक फिचर फोन बोकिरहेका उपभोक्ताले आफूलाई अपग्रेड गर्दै स्मार्टफोन, त्यो पनि लो रेन्जभन्दा माथिका अर्थात् मिडियम र हाइ रेन्ज खरिद गरिरहेकाले आयात संख्या कम देखिएको हो,’ मल्होत्राले भने, ‘नौ सय एक हजार रुपैयाँमा पाइने बेसिक फोनहरूको आयात स्वाट्टै घटेर मिडियम र हाई रेन्जका स्मार्टफोनहरूमा उपभोक्ताहरू झुम्मिनु नै अहिलेको परिस्थितिको मुख्य कारक हो ।’

कोभिड संक्रमणका बेला अनलाइन कक्षाका कारण बेसिक स्मार्टफोनको बिक्री बढेको थियो । अनलाइन कक्षाका लागि उपभोक्ताले सस्ता स्मार्टफोन किन्दा कोभिडका बेलामा मोबाइलको व्यापार चम्किएको थियो । चालू आवको सात महिनामै झन्डै २४ अर्ब रुपैयाँ बराबरको ४३ लाख ६९ हजार थान स्मार्टफोन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्