कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई उकास्नका लागि सरकारले व्यापारमैत्री नीति ल्याउनुपर्ने उद्योग–व्यवसायीले जोड दिएका छन् । वीरगन्जमा आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४५औँ साधारणसभाका वक्ताहरूले करको दर घटाउन मागसमेत गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण खुम्चिँदै गएको अर्थतन्त्रलाई उकास्न तीनै तहका सरकारले व्यपारमैत्री कानुन निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले संघ, प्रदेश र स्थानीय सरकारले विदेशी लगानी आकर्षित गर्ने नीति ल्याउनुपर्ने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ, प्रदेश उपाध्यक्ष शोक वैधलगायतले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धायोग्य नबनाएसम्म अर्थतन्त्रलाई बलियो बनाउन नसकिने विचार व्यक्त गरेका थिए ।
उनीहरूले उत्पादनको लागत कम गर्न सरकारले करको दर, विद्युत् महसुल र बैंक ब्याजदर घटाउन सुझाव दिए । कार्यक्रममा विभिन्न व्यक्तित्व तथा संघसंस्थालाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा पत्रकार कन्हैयालाल केशरी, क्रान्ति साह, तुलसी भण्डारी छन् ।
















































































































































































