ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । आईपीओ कम्पनीको मुख्य कार्यालयमा बाँडफाँड भएको हो । ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
आईपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । तीमध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ । योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँट भएको कम्पनीले जनाएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले सेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० श्रीजेश घिमिरेले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।
वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिनेछ । यस्तै सीडीएस एन्ड क्लियरिङले बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । ज्योतिले फागुन २१ बाट २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।













































































































































































































