वैशाख १५ गते गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ज भएको अविश्वास प्रस्तावमाथि मतदान हुँदै थियो । कार्यसूचीअनुसार सदनमा छलफल जारी रहँदा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एक्कासि हराएको सूचना आयो । उनी उपस्थित नभएपछि कांग्रेस र राष्ट्रिय जनमोर्चाका केही सांसद खोज्न बजार डुले तर उनी भेटिएनन् ।
मोबाइल अफ थियो । जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो सांसद हराएको भन्दै खोजी गरी सार्वजनिक गर्न दिएको निवेदनका आधारमा संसद् बैठक स्थगित भयो ।
केही समयपछि बिहान कोरोना नेगेटिभ आएका सांसद चरक अस्पतालको आईसीइयूमा भर्ना भएको सूचना निस्कियो । उनका स्वकीय सचिव मिलन हमालले पनि सांसद एक्कासि बिरामी भएका कारण अस्पतालमा उपचार गराइरहेको जानकारी दिए । तर बिहान ठिकै भएका सांसद कसरी बिरामी भए, बिरामी भए पनि मोबाइल किन अफ भयो भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
मुख्यमन्त्रीविरुद्ध मतदान हुँदै छ भन्ने थाहा पाएपछि नेकपा एमालेका नेता महेश बस्नेत पोखरा आइसकेका थिए । बिहानै पृथ्वी सुब्बाको फोन गएपछि हेलिकोप्टर चार्टर गरेर ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पोखरा आइपुगे ।
पोखराको सिर्जनाचोकमा उनको आलिसान भवन छ । पोखरा आउनुको कारणबारे इमेज बचत तथा ऋण सहकारीको कामले आएको बताए । तर गाडीमा पोखरा आउने मेयर एक्कासि हेलिकप्टर चार्टर गरेर किन आए भन्ने कुरालाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।
पूर्वमाओवादीका नेतासमेत रहेका नेपाली स्थानीय तहको चुनावमा एमाले भएर ढोरपाटन नगरपालिकाको मेयर चुनिए । चुनावपछि वाम एकता हुँदा पनि संघका सांसद देवेन्द्र पौडेल र टेकबहादुर घर्तीलाई जिताउन प्रत्येक ठाउँमा नेपाली पुगे । त्यति बेला क्लब, मठमन्दिर, विद्यालयमा खुला मनले पैसा बाँडे । निर्वाचन पनि जिते । नखेदिने तर कसलाई कसरी सफल बनाउने भन्नेमा मेयर देवकुमार नेपालीको ठूलै भूमिका रहेको मानिन्छ ।
राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको २०७५ मंसिरमा मृत्यु भएपछि शाहीले गण्डकी प्रदेशसभा छिर्ने ‘अवसर’ पाएका हुन्। त्यसअघि स्थानीय तहको निर्वाचनमा उनी बागलुङकै निसीखोला गाउँपालिकामा पराजित भएका थिए। प्रदेशसभा सदस्य घर्तीको निधन भएपछि नेकपा र जनमोर्चाको तालमेलमा बागलुङ क्षेत्र नं। २ ९ख० बाट शाही उपनिर्वाचन लडे।
गाउँपालिकामा पराजित उम्मेदवारलाई प्रदेशसभाको उम्मेदवार बनाइँदा तत्कालीन नेकपाका कार्यकर्ताले समेत निधार खुम्च्याएका थिए । देवकुमार नेपालीले ठूलै कसरत गरेर शाहीलाई उम्मेदवार मात्र होइन, प्रदेशसभा सदस्य नै बनाए ।
शाहीको उम्मेदवारीमा बागी दिएका शेरमान घर्तीको उम्मेदवारी फिर्ता लिन नेपालीले उनलाई हेलिकोप्टर चढाएर बागलुङ लगेका थिए । त्यसपछि नेपाली नै लागेर शाहीलाई जिताए ।
तत्कालीन नेकपाका नेता शेरमान ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमारसँग पराजित भएका थिए । उनै देवकुमारले शेरमानलाई हेलिकोप्टर चढाएर बाागलुङमा ल्याई उम्मेदवारी फिर्ता लिएको घोषणा गराएपछि जनमोर्चाका शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गरे ।
शाहीलाई प्रदेशसभामा छिराउन ठूलै मेहनत गरेका देवकुमारले उनको चुनावी अभियानमा आर्थिक सहयोग पनि राम्रै गरेका थिए । अहिले शाहीमार्फत मुख्यमन्त्री गुरुङको कुर्सी जोगाउन उनले राम्रै चलखेल गरेको चर्चा प्रदेशमा चल्न थालेको छ । ‘गाउँपालिमामा हारेको मान्छेलाई प्रदेश सांसद बनाउन हरसम्भव उपाय गरेको व्यक्तिको गुन तिर्नुभएको हो खिमविक्रम माननीयले,’ नेकपा माओवादीका एक प्रदेश सांसदले भने ।
संसद्मा उनी शालीन र सोझो सांसदका रूपमा चिनिन्थे । संसदीय ‘बिजनेस’ मा देखाएको सक्रियताले नै उनी इमानदार र सोझो जनप्रतिनिधि हुन् भन्ने प्रतीत हुन्थ्यो । बागलुङको राजनीतिमा चासो राख्नेहरूले पनि उनले देवकुमारको गुन तिर्न यसो गरेको विश्लेषण गर्न थालेका छन् । यद्यपि, जनमोर्चा सांसद शाहीले बिहीबार एउटा विज्ञप्ति जारी गरेर आफू पार्टी निर्णयप्रति प्रतिबद्ध भएको बताइसकेका छन् ।
जनमोर्चाको युवा संगठनमा गाविसको नेतृत्व गर्दै बागलुङ उपाध्यक्षसमेत बनेका शाही अहिले पार्टीका केन्द्रीय सदस्य हुन् । ०४० सालदेखि राजनीति गरेका उनी आफ्नो क्षेत्रमा पनि इमानदार कार्यकर्ताका रूपमा परिचित छन्।
देवकुमार भने खिमविक्रमलाई रोक्न आफूले चलखेल गरेको भन्ने तर्कमा सहमत नभए पनि बिहीबार बिहान उनी पोखरा आउनु र लगत्तै खिमविक्रम ‘बिरामी’ हुनुलाई संयोग मात्रै मान्न केही नेताहरू तयार छैनन् । स्वयम् जनमोर्चा नेपालका गण्डकी प्रदेश संयोजक शंकर बरालले यसमा ठूलै चलखेल भएको बताएका छन् ।
नेपाली कांग्रेसका एक सांसद भन्छन्, ‘पार्टीको ह्विपविपरीत गएर मुख्यमन्त्रीको कुर्ची जोगाउन नेकपा एमालेका नेताले जनमोर्चाका नेतालाई प्रयोग गरे ।’ मुख्यमन्त्री गुरुङ के कुरामा ढुक्क थिए भने माओवादीले समर्थन फिर्ता लिए पनि जनमोचाले समर्थन कायमै राखे सरकार जोगिन्छ । सुरुमा जनमोर्चा मुख्यमन्त्रीप्रति लचिलो थियो । संसदीय दलका नेता कृष्ण थापाले गण्डकी प्रदेशमा यही सरकारलाई समर्थन गर्ने बताइरहेका थिए ।
जनमोर्चाको बुटवल सम्मेलनपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर गण्डकीमा मुख्यमन्त्रीलाई समर्थन गर्न नसकिने जनाएपछि यहाँको राजनीतिले कोल्टे फेरेको हो । जनमोर्चाको केन्द्रीय समिति बैठकले गण्डकीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने, सरकारमा नजाने निर्णय गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए ।
गण्डकी सरकारको भविष्य बागलुङको हातमा
गण्डकी प्रदेश सरकार टिकाउने वा गिराउने मुख्य भूमिका बागलुङकै ४ सांसदको भरमा रहेको छ । जनमोर्चाका बागलुङबाटै २ जना प्रत्यक्ष र १ समानुपातिक प्रदेश सांसद छन् ।
अर्का एमालेमा माधवकुमार नेपाल पक्षधर मानिएका इन्द्रलाल सापकोटा । बुधबार बिहानैदेखि प्रदेश राजधानी पोखरामा मुख्यमन्त्री गुरुङ नेतृत्व सरकारको आयु बागलुङेहरूको हातमा भन्ने चर्चा थियो । एमालेकै सांसद सापकोटाले फ्लोर क्रस नगर्ने पक्कापक्की भइसकेको थियो ।
केन्द्रको निर्णयले बेखुसी थियो जनमोर्चा । कांग्रेसलाई कुनै पनि हालतमा सहयोग गर्न नसकिने भनेर केन्द्रमा समेत नोट अफ डिसेन्ट जनाएका थिए बागलुङका नेताहरूले । केन्द्रले ह्विप जारी गर्दासमेत दलका नेता कृष्ण थापाले मानेका थिएनन् ।
केन्द्रको नीति कांग्रेसलाई सहयोग गर्ने तर सरकारमा नजाने भन्ने थियो । यता मुख्यमन्त्री गुरुङले दुई मन्त्री, एक समिति सभापति दिने भनेका थिए । थापा उक्त प्रस्ताव र चुनावी सहकार्यका लागि एमाले नै ठिक भन्ने अडानमै रहे ।
थापाले केन्द्रको आश्वासन पाए पनि गण्डकी प्रदेशमा प्रभावशाली नेता मानिने जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको चित्त बुझेको थिएन । पार्टीभित्र विगतदेखि चल्दै आएको बहुमत र अल्पमतको विवाद त थियो नै । पछिल्लो पटक गण्डकी प्रदेश सरकारविरुद्ध जाने विषयले बहुमत पक्ष पुनः टुक्रियो ।
बहुमत पक्षमा नयाँ गुटको नेतृत्व संसदीय दलको नेता कृष्ण र अमर गण्डकी प्रदेश सरकारलाई समर्थन गरेर जानेमा एक ठाउँ भए । तर, एकाएक सांसद थापा उधारो मन्त्री बन्ने आश्वासनमा अडान फेरेपछि अध्यक्ष थापा र सांसद थापाबीच विवाद चर्कियो । शाही अध्यक्ष थापानिकट मानिन्छन् ।













































































































































































































