वालस्ट्रिटको पूर्वानुमानलाई गलत साबित गर्दै दुई अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पल र फेसबुकले चालू सन् २०२१ को पहिलो त्रैमासमा उच्च आम्दानी तथा मुनाफा आर्जन गर्न सफल भएका छन् ।
बुधबार सार्वजनिक गरिएको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार फेसबुकको कुल आम्दानीमा ४८ प्रतिशतले वृद्धि भएको छ । अर्थात् जनवरीदेखि मार्चसम्मको अवधिमा फेसबुकले २६ अर्ब १७ करोड आम्दानी गरेको छ । यसबाट फेसबुकले खुद मुनाफा साढे ९ अर्ब डलर गर्न सफल भएको छ ।
त्यस्तै पछिल्लोपटक सार्वजनिक गरिएको फाइभ जी आइफोनको लोकप्रियतासँगै एप्पलले सन् २०२१ को सुरुका ३ महिनामा ८९ अर्ब ६० करोड डलर आम्दानी गरेको छ । त्यसमध्ये खुद मुनाफा २३ अर्ब ६० करोड डलर रहेको छ ।
यो मुनाफा कुनै पनि त्रैमासिकमा एप्पलले गरेको अहिलेसम्मकै बढी हो । महामारीका बेला एप्पलका प्रडक्टहरूको विक्रीमा देखिएको ऐतिहासिक विक्रीदर निरन्तर रहेको देखिएको छ ।
पछिल्लो त्रैमासिक अवधिमा महँगो मूल्यको आइफोन १२ मात्र नभई महामारीका बेला घरबाटै काम गर्ने कर्मचारी तथा विद्यार्थीहरूका कारण म्याक कम्प्युटर र आइप्याडको विक्री पनि उच्च रह्यो ।
बितेको त्रैमासिकमा आइफोन विक्रीबाट मात्र एप्पलले ४७ अर्ब ९० करोड आम्दानी गरेको छ । त्यस्तै म्याक कम्प्युटरको विक्रीबाट उक्त ३ महिनामा एप्पलले ९।१ अर्ब आम्दानी गर्यो भने आइप्याडको विक्रीबाट ७.८ अर्ब डलर आम्दानी गर्यो ।
यस अवधिमा म्याकको विक्रीमा ७० प्रतिशत तथा आइप्याडको विक्रीमा ७९ प्रतिशतले वृद्धि भएको एप्पलले जनाएको छ । एप्पलका अधिकारीहरूले भने कम्प्युटर चिप्सको विश्वव्यापी अभावले आगामी दिनमा एप्पलको आम्दानीमा उल्लेख्य प्रभाव पार्ने बताएका छन् ।
चिप्सको अभावले खास गरी म्याक र आइप्याडको आपूर्ति शृंखलामा अवरोध सिर्जना हुने उनीहरूको अनुमान छ ।उता महामारीका बेला उपभोक्ताहरू अनलाइन सपिङतर्फ मोडिएको बेला डिजिटल विज्ञापनमा भएको तीव्र वृद्धि तथा विज्ञापन शुल्कमा पनि वृद्धि हुँदा फेसबुकलाई ठूलो फाइदा पुगेको छ ।
पछिल्लो रिपोर्टअनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा पनि १० प्रतिशतको बढोत्तरी भई २ अर्ब ८५ करोड पुगेको छ । वर्षको पहिलो त्रैमासिकमा भएको आम्दानीको वृद्धि आगामी दिनमा सुस्त हुन सक्ने अनुमान फेसबुकको छ ।
खास गरी एप्पलले आइफोनको प्राइभेसीसम्बन्धी नियममा गर्ने परिवर्तनले फेसबुकको विज्ञापनबाट हुने आम्दानीमा नकारात्मक असर पार्ने फेसबुकले जनाएको छ ।
एप्पलले आइफोनका एप डेभलपर्सहरूले वैज्ञापनिक प्रयोजनका लागि डाटा संकलन गर्न प्रयोगकर्ताको अनुमति लिनुपर्ने गरी आफ्नो प्राइभेसी नियममा परिवर्तन गर्दै छ ।
यसले आफ्नो विज्ञापन व्यवसायमा असर पर्ने र प्रयोगकर्ताको पर्सनलाइज्ड विज्ञापनमा आधारित अन्य ससाना कम्पनीलाई समेत मार पर्ने दाबी फेसबुकले गरेको छ ।
फेसबुक संस्थापक मार्क जुकरबर्गले विज्ञापनबाहेक आगामी दिनमा खास गरी तीनवटा क्षेत्रमा फेसबुकले ध्यान केन्द्रित गर्ने बताएका छन् । आगामी दिनमा अग्मेन्टेड तथा भर्चुअल रियालिटी, ई–कमर्स फिचरका साथै फेसबुक प्लाटफर्ममा सर्जकहरूले समेत आम्दानी गर्ने फिचरमा फेसबुकले ध्यान केन्द्रित गर्ने जुकरबर्गको भनाइ छ ।













































































































































































































