राष्ट्र बैंकको परिपत्रपछि बजार घट्ने अनुमानलाई गलत साबित गर्दै सेयर कारोबारमा अर्को नयाँ रेकर्ड बनेको छ । यसअघि १३ अर्ब ११ करोड कारोबारको रेकर्डलाई तोड्दै साताको अन्तिम दिन नयाँ रेकर्ड बनाएर बजार बन्द भएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई माइक्रो फाइनान्सको सेयर किन्न रोक लगाएपछि बजार स्वात्तै घट्ने आकलन गरिएको थियो ।
तर, बजारमा सेयर खरिद गर्नेको चाप बढेकाले बजार जम्मा १.३२ अंकले घटेर २८१५.२८ अंकमा रोकिएको छ । यसले आगामी आइतबार बजार बढ्ने संकेत पनि गरेको छ ।
बिहीबार कारोबार रकम १४ अर्ब ७७ करोड रुपैयाँ बराबरको ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । ठूला लगानीकर्ताले बजारमा केन्द्रीय बैंकको परिपत्रले खासै ठूलो असर नपर्ने बताइरहेका थिए ।
बजार खुलेको केही मिनेटमै बजार झरे पनि पछि सम्हालिएको थियो । गत मंगलबार २७८४ अंकमा बन्द भएको बजार ११ बजेर ३ मिनेटमै २७६२ अंकमा झरेको थियो ।
त्यस बेला केही लगानीकर्ताले नाफा बुक गरेको देखिन्छ । खास गरी माइक्रो फाइनान्सका लगानीकर्ताले नोक्सान खाएरै भए पनि सेयर बेचेको देखिन्छ ।
त्यसको प्रभावले सुरुमा सबैभन्दा बढी माइक्रो फाइनान्स नै घटेको थियो । बिस्तारै माइक्रो फाइनान्सको सेयर खरिद गर्नेको चाप बढेपछि घट्ने दर कम भयो र बजार लयमा फर्किएर ११ बजेर १४ मिनेटमै बजार २८०० माथि उक्लिएको थियो ।
त्यसपछि फेरि बजारमा सेयर बिक्री गर्नेको चाप बढेकाले केही घटेको थियो । बजारमा दिनभर नाफा बुक गर्ने र सेयर खरिद गर्नेबीच रस्साकसी भएको देखिन्छ ।
तर, १२ बजेपछि बजारले लय समातेको र बिस्तारै बढ्न थालेको हो । १ बजेर ३० मिनेट पछि बजार ह्वात्तै माथि उक्लिएको देखिन्छ । त्यसपछि बजार २८०५ को उच्च रेकर्डलाई १ बजेर ३० मिनेटमै तोड्दै २९३५ अंकसम्म पुग्छ । त्यसपछि बिस्तारै बजार पुनस् घट्न थालेको देखिएको हो ।
ठूला लगानीकर्ताले बिहीबार बजार एक अंक घटबढ भएर रोकिएको अवस्थामा आइतबारबाट बजार बढ्ने आकलन गरेका छन् । बिहीबार सेयर बजार नराम्ररी खस्कने आकलन गरिएको थियो ।
तर त्यो भएन । यसले बजार बिस्तारै परिपक्व बन्दै गएको ठूला लगानीकर्ताको बुझाइ छ । बिहीबार बैंक, बिमा, लघुवित्तको सेयर ओरालो लाग्यो भने जलविद्युत्को सेयरमा उछाल आएको छ ।
अधिकांश जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रो, जोशी, दिव्येश्वरी हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
खास गरी साना लगानीकर्ताले सस्तो सेयरमा आँखा लगाएकाले ती कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।













































































































































































































