२६ बैशाख २०८१, बुधबार

 

गोप्य समारोहबीच बेलायती प्रधानमन्त्री जोनसनको तेस्रो बिहे

ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमन्ड्ससँग वेस्टमिनिस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरेका छन्।

उक्त विवाह शनिबार अपराह्न सानो समारोहबीच भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका एक प्रवक्ताले अर्को वर्ष प्रधानमन्त्री दम्पतीले परिवार र साथीहरूसँग विवाहको उत्सव मनाउने बताए।

जोनसन ब्रिटिस प्रधानमन्त्रीको पदमा रहँदा विवाह गर्ने २ सय वर्षयताकै पहिलो व्यक्ति बनेका छन्। खोपमन्त्री नदिम जाहाबीले यसलाई गजबको समाचार भन्दै बधाई दिएका छन्। उनले स्काई न्युजलाई आफूलाई निमन्त्रणा नआएको बताए।

यो जोनसनको तेस्रो विवाह हो। रोमन क्याथोलिक चर्चले पहिलेका विवाह आफ्नो गिर्जाघरमा नभएको भए पारपाचुके गरेका व्यक्तिलाई विवाह गर्ने अनुमति दिन्छ।

पहिले नै कुरा छिनिसकिएका उनीहरूको विवाह निकट साथीहरू र परिवारको उपस्थितिमा भएको कयौँ पत्रपत्रिकाले लेखेका छन्।

काम र निवृत्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्यान्डकी प्रथम मन्त्री अर्लिन फोस्टरले ट्विट गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन्।

द मेल पत्रिकाले आइतबार लेखेको समाचारमा ३० अतिथिहरूलाई निकै छोटो समय दिएर निम्तो गरिएको जनाइएको छ। इङ्ग्ल्यान्डमा कोभिडका कारण लगाइएको प्रतिबन्धले गर्दा विवाह समारोहमा त्यसभन्दा बढी अतिथिलाई बोलाउन पाइँदैन पनि ।

क्याथोलिक परम्पराअनुसार भएको विवाहको तयारीमा समेत गिर्जाघरका निकै कम कर्मचारी सहभागी भएको उक्त पत्रिकाले जनाएको छ। द सन पत्रिकाले डाउनिङ स्ट्रिटका वरिष्ठ सहयोगीहरूलाई उक्त विवाहबारे थाहा नभएको जनाएको छ।

उसले थप भनेको छ, ‘ब्रिटिस समयअनुसार दिउँसोको साढे १ बजेपछि सर्वसाधारणहरूलाई वेस्टमिनस्टर गिर्जाघर छाड्न भनिएको थियो।

त्यसको एक घण्टापछि ३३ वर्षीया साइमन्ड्स सेतो पहिरनमा ५६ वर्षीय प्रधानमन्त्रीसँग वैवाहिक प्रतिज्ञा साट्नका लागि एउटा विलासी कारमा गिर्जाघर पुगेकी थिइन्।’

शनिबार राति संगीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएका तस्बिरहरू खिचिएका छन्। सन् २०१९ को सुरुतिर सञ्चारमाध्यमहरूले साइमन्ड्स र जोनसनको प्रेमसम्बन्धबारे लेखेका थिए।

साइमन्ड्सले सन् २०१० देखि सन् २०१८ सम्म जोनसनको दलको प्रेस कार्यालयमा काम गरेकी थिइन्।

गत वर्ष फेब्रुअरीमा उनीहरूले आफूहरूको स्वयंवर भएको र साइमन्ड्स गर्भवती रहेको खुलाएका थिए। उनीहरूले गत अप्रिलमा छोरो विलफ्रिडलाई जन्म दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्