
पछिल्लो समय तोरीको तेलको मूल्य ह्वात्तै अकासिएको छ । गत वर्षभन्दा लिटरमै ५० रुपैयाँले बढेको हो ।
अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा अचानक बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तेल उद्योगमै पुगेर अनुगमनसमेत गरेको छ ।
उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन गरेर कारण पत्ता लगाउन नेपाल वनस्पति घ्यु–तेल उत्पादक संघलाई निर्देशन दिएको थियो ।
विभागको निर्देशनपछि खाने तेल उत्पादकहरूको छाता संगठनले उद्योगीले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय रूपमै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा तेलको मूल्य बढेको जनाएको हो ।
‘२० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रूपमा आफ्ना उत्पादन सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय
बजारसँगै विदेशमा समेत निकासी हुँदै आएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थ अप्रशोधित
सोयाविन तेल, सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत देशहरूबाट आयात गर्नुपर्छ ।
यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘१६ महिनायता तेलको मूल्यमा अस्वभाविक रूपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’
सन् २०२० को मार्चमा प्रतिमेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य १ वर्षको अवधिमा १ हजार २७९ डलर पुगेको छ । यस्तै एक वर्षअगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावर तेलको मूल्य १ हजार ५ सय ८० भएको छ ।
ब्राजिल, अस्ट्रेलिया, क्यानडा, युक्रेनलगायत मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको संघले दाबी गरेको छ ।