११ कार्तिक २०८३, मंगलवार

 

समाजवाद र नवमानवको सिर्जना – चे ग्वेभारा

  • यो ऐतिहासिक लेख चे ग्वेभाराले कार्लोस क्वीजानोलाई पत्रको रुपमा लेख्नुभएको थियो । कार्लोस उरुग्वे नामक ल्याटिन अमेरिकी देशको राजधानी मोन्टेभिदेओबाट प्रकाशित हुने वामपन्थी साप्ताहिक पत्रिका Marcha का सम्पादक थिए । यो लेख उहाँले संयक्त राष्ट्र संघलाई सम्बोधन गरेपछि भएको उहाँको अफ्रिकी राष्ट्रहरुको ३ महिने भ्रमणको क्रममा लेख्नुभएको थियो । यो लेख Marcha  को मार्च १२, १९६५ अंकमा र Varde Olivo पत्रिकामा अप्रिल ११, १९६५ मा Socialism and Man in Cuba शीर्षकमा प्रकाशित भएको थियो ।
  • ( चे ग्वेभारा जन्म दिन विशेष )  भाग एक…………………………..
प्रिय साथी,

हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो बाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरुका लागि यो रुचिकर हुनेछ ।

हामी समाजवादको निर्माणमा उद्यत छौं । समाजवादका विरुद्ध पूँजीवादी प्रवक्ताहरु पनि विचारधारात्मक संघर्षमा लीन छन् । यस्तो संघर्षको क्रममा उनीहरु धेरैजसो के तर्क दिन्छन् भने समाजवादमा वा समाजवादको निर्माणकालमा राज्यको हितका लागि व्यक्तिलाई बलि दिइन्छ ।
म केवल सिद्धान्तको आधारमा मात्रै यस तर्कको प्रतिवाद गर्दिनँ, बरु यसको प्रतिवादमा क्यूबाली अनुभवका तथ्यहरुसमेत प्रस्तुत गर्नेछु र सामान्य स्वभावको टिप्पणी अगाडि सार्नेछु ।

सबैभन्दा पहिले म सत्तामाथि अधिकार जमाउनुभन्दा अगाडि र पछाडिको आफ्नो क्रान्तिकारी संघर्षको इतिहासको विस्तृत रुपरेखा प्रस्तुत गर्नेछु ।

हामी सबैलाई थाहा छ – क्रान्तिकारी संघर्षको शुरुआत २६ जुलाई, १९५३ मा भएको थियो, जुन संघर्ष पहिलो जनवरी १९५९ मा समाप्त भएको थियो ।

२६ जुलाईको दिन बिहान सबेरै ओरियन्ट प्रान्तको मोन्काडा छाउनीमाथि फिडेल क्यास्त्रोको नेतृत्वमा रहेको एउटा समूहले आक्रमण गरेको थियो । त्यो आक्रमण असफल भएको थियो ।

यो असफलताले ठूलो बिपत्ति ल्यायो । जीवित रहनु भएका मानिसहरुलाई बन्दी बनाइयो । मुक्त भएपछि उहाँहरुले फेरि शुरुदेखि क्रान्तिकारी संघर्षको सूत्रपात गर्नुभयो ।

यही प्रक्रियाको क्रममा, व्यक्ति नै आधारभूत तत्वको रुपमा रहेको थियो, जुन प्रक्रियामा समाजवादको बीऊमात्रै रहेको थियो । व्यक्तिकै रुपमा देखापर्नु भएका यही विशिष्ट र एक्लो खास मानिस नै हाम्रो विश्वसनीय मनुष्य बन्नुभयो । र, उहाँलाई सुम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य–क्षमतामाथि निर्भर थियो ।

*******

व्यक्तिकै रुपमा देखापर्नु भएका यही विशिष्ट र एक्लो खास मानिस नै हाम्रो विश्वसनीय मनुष्य बन्नुभयो । र,उहाँलाई सुम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य–क्षमतामाथि निर्भर थियो ।

*******

त्यसपछि छापामार युद्धको चरण आयो । यस युद्धलाई दुई भिन्नाभिन्नै वातावरणअन्तर्गत विकसित गरियो । ती दुई भिन्नाभिन्नै वातावरणमा एकातिर जनता थिए, अर्कोतिर छापामारहरु ! त्यसबेलासम्म जनता अचेतन भीडको रुपमा थियो, जसलाई एकजूट पारी परिचालन गर्नु जरुरी थियो ।

अर्कोतिर छापामारहरु क्रियाशील थिए : जनताका अगुवाका रुपमा, जनपरिचालनको प्रक्रियालाई अगाडि बढाउने इन्जिनको रुपमा, क्रान्तिकारी चेतना र जुझारु उत्साहका जनकका रुपमा ! विजयका लागि आवश्यक आत्मगत स्थितिको सिर्जना गर्ने उत्प्रेरक शक्ति पनि यही अगुवा दस्ता थियो ।

म यहाँ फेरि पनि जोड दिएर भन्छु, हाम्रो विचार–शक्तिलाई सुस्तरी–सुस्तरी सर्वहाराकृत रुप दिने कार्यमा, हाम्रा बानी–व्यहोराहरु र हाम्रा मन–मस्तिष्कहरुमा भइरहेको क्रान्तिमा यही व्यक्ति नै आधारभूत तत्वको रुपमा रहेको थियो ।

क्रान्तिकारी सशस्त्र सैन्य–शक्तिअन्तर्गतका माथिल्ला पदहरु पाउने सियरा माइस्त्राका प्रत्येक योद्धाहरुले विशिष्ट काम गर्नु भएको थियो । हो, यस प्रकारले कामहरुकै आधारमा उहाँहरुले ती पदहरु पाउनु भएको हो ।

पहिलो वीरतापूर्ण कालमा यिनै व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई फत्ते गर्नुभयो । आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उहाँहरुले परम सन्तोष प्राप्तिको बाटोको रुपमा लिनुभयो, अन्य केही पुरस्कारको आशा गर्नुभएन ।

हाम्रो क्रान्तिकारी शैक्षिक कार्यमा हामी सधैँ नै यही शिक्षाप्रद विषयबारे बारम्बार चर्चा–परिचर्चा गर्ने गर्छौं । हाम्रा योद्धाहरुको मनोवृत्ति र आचरणमा हामी भविष्यको नव मानवको झलक देख्न थालेका छौं ।

हाम्रो इतिहासको अन्य कालखण्डमा क्रान्तिकारी उद्देश्यप्रतिको सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरुलाई दोहोर्‍याइएको छ । ‘अक्टोबर संकट’ र ‘प्लोराको तूफान’ को समयमा हामीले सम्पूर्ण जनसमुदायद्वारा गरिएका अनौठो वीरतापूर्ण र उत्तम बलिदानीपूर्ण कार्यहरु देखेका छौं ।

वैचारिक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापूर्ण कार्य एवं मनोवृत्तिहरुलाई श्रृंखलाबद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभूत काम कर्तव्यहरुमध्ये एक हो ।

*******

वैचारिक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापूर्ण कार्य एवं मनोवृत्तिहरुलाई श्रृंखलाबद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभूत काम कर्तव्यहरुमध्ये एक हो ।

*******

सन् १९५९ मा क्रान्तिकारी सरकारको स्थापना भयो, त्यसमा गद्दार पूँजीपति वर्गका अनेक प्रतिनिधिहरु पनि सहभागी भए । शक्तिको आधारभूत तत्वको रुपमा रहेको विद्रोही सेनाको उपस्थितिले क्रान्तिकारी सत्ताको दिगोपनाको प्रत्याभूति दिएको थियो ।

पछि गएर गम्भीर अन्तरविरोधहरु विकसित भए । ती अन्तरविरोधहरुको हल गर्ने प्रक्रिया सर्वप्रथम तब शुरु गरियो, जब ७ फेब्रुअरी, १९५९ मा फिडेल क्यास्त्रोले प्रधानमन्त्रीको पद ग्रहण गरी सरकारको नेतृत्व सम्हाल्नुभयो ।

यस प्रक्रियाको अन्त्य तब भयो, जब त्यसै वर्षको जुलाई महिनामा जनताको ठूलो दवाबबश राष्ट्रपति उरुतियाले राजीनामा दिनु भयो ।

क्यूबाको क्रान्तिको इतिहासमा स्पष्ट रुपले परिभाषित नख–शिख र रुपरेखासहित एउटा नयाँ बहुमुखी चरित्रको उदय भयो, त्यो चरित्र हो; जनता ! हो, जनता त इतिहासको मंचमा सुव्यवस्थित रुपले बारम्बार उदाइरहने छन् ।

क्यूबाको क्रान्तिको इतिहासमा स्पष्ट रुपले परिभाषित नख–शिख र रुपरेखासहित एउटा नयाँ बहुमुखी चरित्रको उदय भयो,त्यो चरित्र हो;जनता ! हो,जनता त इतिहासको मंचमा सुव्यवस्थित रुपले बारम्बार उदाइरहने छन् ।

*******

के दाबी गरिन्छ भने यो बहुमुखी चरित्र भएको जनता भनेको समान श्रेणीका तत्वहरुको कुलजोडमात्रै हो, यिनीहरुले पाल्तु भेडा–बाख्राहरुले जस्तै व्यवहार गर्छन् ।

तर यथार्थ के होभने जनता भनेका समान श्रेणीका तत्वहरु होइनन्, न त भेँडा–बाख्राहरु नै हुन् । बरु उनीहरुमाथि प्रभुत्व जमाइरहेको राज्य–ब्यबस्थाले उनीहरुलाई एउटै श्रेणीमा भेँडा–बाख्रालाई जस्तै कोचेर राखेको कारणले मात्र त्यसो देखिएको हो ।

के कुरा सत्य होभने जनताले विना कुनै दुविधा आफ्ना नेताहरुको अनुसरण गरेका छन्, विशेष गरी फिडेल क्यास्त्रोको !

तर जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वास आर्जन गर्नु भएको छ, त्यो निश्चित रुपमा जनताका इच्छा र आकांक्षाहरुको सही अभिव्यक्तिको कारणले संभव भएको हो, बाहिर घोषित बाचाहरु पूरा गर्नका लागि उहाँले गर्नु भएको इमान्दारीपूर्ण संघर्षको कारणले त्यसरी जनविश्वास प्राप्त गर्न सफल हुनु भएको हो ।

*******

जनताले विना कुनै दुविधा आफ्ना नेताहरुको अनुसरण गरेका छन्,विशेष गरी फिडेल क्यास्त्रोको ! तर जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वास आर्जन गर्नु भएको छ,त्यो निश्चित रुपमा जनताका इच्छा र आकांक्षाहरुको सही अभिव्यक्तिको कारणले संभव भएको हो,बाहिर घोषित बाचाहरु पूरा गर्नका लागि उहाँले गर्नु भएको इमान्दारीपूर्ण संघर्षको कारणले त्यसरी जनविश्वास प्राप्त गर्न सफल हुनु भएको हो ।

*******

जनताले कृषि–सुधारको अभियानका कामहरुदेखि लिएर राज्यका प्रतिष्ठानहरुको प्रबन्धसम्बन्धी कठिन जिम्मेवारीहरुमा समेत भाग लिए ।उनीहरु प्लाया गिरोनका वीरतापूर्ण अनुभवहरुबाट अगाडि बढे, उनीहरु सी.आई.ए.द्वारा सशस्त्र पारिएका डाँका डफ्फाको विरुद्ध चलाइएको

संघर्षमा इस्पातजस्तै मजबूत बने; अक्टोबर संकटको  बेलामा उनीहरु आधुनिक युगका सबैभन्दा महत्वपूर्ण परिभाषाअनुरुप बाँचे, अनि आज उनीहरु समाजवादको निर्माणको कामलाई निरन्तर रुपमा अगाडि बढाउन ब्यस्त छन् ।

बस्तुलाई सतही ढंगले हेर्ने दृष्टिकोणबाट हेर्दा मनमा लाग्नसक्छ : व्यक्तिलाई राज्यको अधीन मान्ने मानिसहरु नै सही हुन् कि के हो !

हो, निश्चित रुपमा जनताले अतुलनीय उत्साह र अनुशासनका साथ सरकारद्वारा निर्धारित कामहरुलाई पूरा गरेका छन्, ती कामहरुका स्वरुपहरु चाहे जस्तोसुकै किन नओऊन्, चाहे ती कामहरु आर्थिक, सांस्कृतिक, सुरक्षात्मक र खेलकूदसम्बन्धी नै किन नओऊ्न् !

हो, निश्चित रुपमा यस्ता कामहरुको पहलकदमी साधारणतया फिडेल कयास्त्रोबाट वा क्रान्तिको उच्च कमाण्डबाटै शुरु हुन्छ र ती कामहरुको बारेमा जनतालाई ब्याख्या गरेर बुझाइन्छ, अनि त्यसपछि जनताले त्यसलाई आफ्नै बोधको रुपमा लिन्छन् ।

अक्सर गरेर पार्टी र सरकारद्वारा विशिष्ट स्थानीय अनुभवहरुलाई लिइन्छन् र त्यही प्रक्रियाद्वारा ती अनुभवहरुको आधारमा बनेको धारणालाई आमरुप दिने र कार्यरुप दिने काम गरिन्छन् ।

*******

राज्यबाट कहिलेकाहीँ गल्तीहरु हुन जान्छन् । जब त्यस्ता गल्तीहरु हुन्छन्,तब जनताबीच विद्यमान प्रत्येक तत्वहरुमा गुणात्मक कमी आउँछ । त्यसैको परिणामस्वरुप सामूहिक उत्साह ओह्रालो लाग्छ;र कामहरु ठप्प हुन थाल्छन् अनि अन्ततः महत्वहीन सीमासम्म ती कामहरु संकुचित हुन थाल्छन् । हो,गल्तीहरु सुधार्ने समय भनेको यही नै बेला हो ।

*******

त्यसो हुँदाहुँदै पनि राज्यबाट कहिलेकाहीँ गल्तीहरु हुन जान्छन् । जब त्यस्ता गल्तीहरु हुन्छन्, तब जनताबीच विद्यमान प्रत्येक तत्वहरुमा गुणात्मक कमी आउँछ ।

त्यसैको परिणामस्वरुप सामूहिक उत्साह ओह्रालो लाग्छ; र कामहरु ठप्प हुन थाल्छन् अनि अन्ततः महत्वहीन सीमासम्म ती कामहरु संकुचित हुन थाल्छन् ।

हो, गल्तीहरु सुधार्ने समय भनेको यही नै बेला हो । अनीबाल एसकालान्ते( )द्वारा पार्टीमाथि थोपरिएको संकीर्णतावादी नीतिको परिणामस्वरुप सन् १९६२ को मार्च महिनामा यस्तै गल्ती हुन गएको थियो ।

नेतृत्व र जनसमूहबीच द्वन्द्वात्मक एकता
यसबाट स्पष्ट हुन्छ– संवेदनशील उपाय र समझदारीपूर्ण कदमहरुको कडी बनाइराख्नका लागि यस प्रकारका संयन्त्रहरु मात्रै काफी छैनन् ।
यसका लागि जनतासँग अझ बेसी सांगठनिक सम्बन्धको विकास गर्नु जरुरी छ, आगामी वर्षहरुमा हामीले यस सम्बन्धलाई अझ धनीभूत र विस्तृत पार्नु आवश्यक छ ।
तर अहिलेलाई भने सरकारका उच्च क्षेत्रहरुबाट पहलकदमीको सवालमा हामीले तत्काल आउने ठूलठूला समस्याहरुमाथि हुने प्रतिक्रियाहरुप्रति दुबै कान खोलेर सुन्ने अनुभूतिमूलक उपाय नै प्रयोग गरिरहेका छौं ।फिडेल क्यास्त्रो यस्तो उपाय प्रयोग गर्ने मामिलामा कुशल हुनुहुन्छ ।
जनतासँग एकरुप (Fusing) हुने उहाँको विशिष्ट तरिका छ, जुन तरिका कुशलतापूर्वक प्रयोग गरेर उहाँ क्रियाशील रहनु भएको देख्दा उहाँको प्रशंसा नगरिरहन सकिन्न ।
ठूलठूला जनसभाहरुमा उहाँ भाषण होइन, जनतासँग संवाद गर्नुहुन्छ, संवाद पनि त्यस्तो खालको संवाद, जुन दुईवटा सुमधुर स्वरहरुको झंकारको रुपमा सुनिन्छ ।
मानौं यस्तो लाग्छ – उहाँको र जनसमूहको अन्तक्र्रियाको कम्पनबाट अर्को नयाँ झंकारको सिर्जना भइरहेको छ !
फिडेल र जनसमूहबीच हुने झन् झन् गहिरो र अर्थपूर्ण खालको संवाद यति मज्जासँग झङ्कृत हुनथाल्छ कि त्यो संवाद चरमविन्दुमा पुग्दा–नपुग्दै हाम्रो विजयघोष र संघर्षका नाराहरुको हुंकारमा गएर अचानक नै अन्त्य हुन पुग्छ ।
फिडेल र जनसमूहबीच हुने झन् झन् गहिरो र अर्थपूर्ण खालको संवाद यति मज्जासँग झङ्कृत हुनथाल्छ कि त्यो संवाद चरमविन्दुमा पुग्दा–नपुग्दै हाम्रो विजयघोष र संघर्षका नाराहरुको हुंकारमा गएर अचानक नै अन्त्य हुन पुग्छ ।*******
जुन मानिसहरु क्रान्तिकारी अनुभवको बीच बाटोबाट अगाडि बढेका छैनन्, उनीहरुका लागि व्यक्ति र जनसमूह बीचको द्वन्द्वात्मक एकताले भरिएको त्यस स्थिति राम्ररी बुझ्न कठिन हुनेछ ।
त्यस्तो द्वन्द्वात्मकको स्थितिमा व्यक्ति र जनसमूह दुबै अन्तरसम्बन्धित हुन्छन् अनि समग्ररुपमा व्यक्ति–व्यक्तिहरु मिलेर बनेको जनसमूह पनि नेताहरुसँग अन्तरसम्बन्धित हुन्छ ।
पूँजीवादअन्तर्गत पनि यस प्रकारको एकताको  झलक कहिलेकाहीँ देख्न पाइन्छ, विशेष गरी जनमत परिचालन गर्ने क्षमता भएका राजनीतिज्ञहरु मंचमा देखा पर्दा यस्तो हुन्छ ।
तर त्यो परिचालनचाहिँ धेरैजसो साँच्चैको सामाजिक आन्दोलनसँग सम्बन्धित क्रियाकलाप हुँदैन । यदि यो सामाजिक आन्दोलनअन्तर्गतको क्रियाकलाप नै भए पनि त्यसलाई पूँजीवादअन्तर्गतको क्रियाकलाप भन्नु उपयुक्त हुँदैन ।
त्यो परिचालन साँच्चैको सामाजिक आन्दोलन नहुने हुनाले परिचालनकर्ताको जीवनकालसम्म मात्रै त्यो अगाडि बढ्छ, त्यो पनि पूँजीवादी समाजका क्रुरताहरुको बारेमा जनताबीच भ्रान्ति रहेसम्म मात्रै !

पूँजीवादअन्तर्गत व्यक्तिको जीवन एउटा त्यस्तो निर्मम र कठोर विधानले बाँधिएको हुन्छ, जुन सामान्यतया व्यक्तिको बोध–क्षमताभन्दा अलि टाढै हुन्छ ।

घना एक्लोपनाको भारी बोक्दै त्यो व्यक्ति समग्ररुपमा एउटा त्यस्तो अदृश्य धागोद्वारा समाजसँग बाँधिएको हुन्छ; जसलाई मूल्यको विधान भनिन्छ ।

यही अदृश्य मूल्य–विधानले व्यक्तिको जीवनका सबै पक्षहरुमाथि प्रभाव पार्छ, त्यसैले उसको जीवनको बाटो तय गर्छ र उसको भाग्यको निर्माण गर्छ ।

पूँजीवादका विधानहरु अन्धा हुन्छन् र अधिकांश मानिसहरुका लागि अदृश्य हुन्छन् । तर तिनै विधानहरु व्यक्तिको मन–मस्तिष्कभित्र पसेर,त्यस विषयसम्बन्धी उसको चेतनाविनानै क्रियाशील रहन्छन् ।

*******

पूँजीवादका विधानहरु अन्धा हुन्छन् र अधिकांश मानिसहरुका लागि अदृश्य हुन्छन् । तर तिनै विधानहरु व्यक्तिको मन–मस्तिष्कभित्र पसेर, त्यस विषयसम्बन्धी उसको चेतनाविनानै क्रियाशील रहन्छन् । व्यक्तिले त पूँजीवादी क्षितिजको विशालता मात्रै देख्न पाउँछ, जुन हेर्दाखेरी अनन्तजस्तो देखिन्छ ।

प्रचार माध्यमहरुले बिलकुल यसरी नै सफलताको कथा प्रस्तुत गर्छन्; सफलताका संभावनाहरुलाई व्यक्त गर्नका लागि तिनीहरुले रकफेलरको कथालाई सिक्नुपर्ने पाठको रुपमा प्रयोग गर्छन्, चाहे त्यो सफलता झूठो होस् कि साँचो !

एक रकफेलरको कथा सिर्जना हुन कति अभावहरु, कति गरीवीहरु र कति पीडाहरुको संचयको आवश्यकता भएको थियो भन्ने कुरा त्यस सफलताको प्रस्तुतिमा छोएको पनि हुँदैन ।

एक रकफेलरको अपार धन–सम्पत्तिको निर्माणका लागि कति धेरै नीचता र उत्पीडनहरुको विशाल संचयको जरुरी भयो भन्ने वास्तविकता पनि त्यस सफलताको कथाबाट गायब गरिएको हुन्छ ।

र, जनताबीच क्रियाशील शक्तिहरुसँग यस्ता झूठा कथा र धारणाहरुलाई चिरेर वास्तविकता प्रष्ट्याउन सक्ने क्षमता सधैं हुन्छ भन्ने कुरा पनि भएन नि !

(यसै सन्दर्भमा यहाँ दुई तीनवटा पक्षहरुलाई अध्ययनको विषय बनाउनु जरुरी हुनसक्छ, जस्तो : पराधीन देशहरुका जनतामाथिको शोषणप्रति अलिकति सम्मति हुने भएकाले साम्राज्यवादी देशहरुका मजदूरहरुले कसरी अन्तर्राष्ट्रिय वर्गीय भावना विस्तारै–विस्तारै त्यागिरहेका छन् ?

कसरी आफ्नै राष्ट्रिय पृष्ठभूमिमा ती देशका जनताको जुझारु भावना थाक्दै थाक्दै गइरहेको छ ? – तर यी विषयहरु वर्तमान टिप्पणीको सीमाभन्दा बाहिर भएकाले यसलाई यहीँ रोक्छु ।)

पूँजीवादमा जुनसुकै मामिलामा पनि हामीले सफलताको लक्ष्यसँग जोडिएको एउटा अवरुद्ध बाटो देख्छौं । त्यो बाटो लक्ष्यसम्म पुग्न सफल हुनका लागि आवश्यक पृष्ठभूमि, ल्याकत र गुणहरुले सम्पन्न व्यक्तिले मात्र हिँड्न सक्छ ।

त्यसमा इनामको झलक निकै टाढा–टाढा मात्रै देखिन्छ र बाटो एकलास र निर्जन देखिन्छ । त्यसमाथि यो बाटोमा अगाडि बढ्नु भनेको ब्वाँसोको दौडजस्तै हो, केवल अरुको असफलताको बलमा मात्रै आफू कुनै लक्ष्यसम्म पुग्न सकिने दौडजस्तै हो यो !

अब म समाजवादको निर्माणसँग सम्बन्धित अद्भूत र मार्मिक नाटकका कलाकारको रुपमा रहेको व्यक्तिलाई एउटा अनौठो अस्तित्व तथा समाजको सदस्यको नाताले उसको दोहोरो अस्तित्वलाई परिभाषित गर्ने प्रयत्न गर्नेछु ।

मलाई लाग्छ, त्यस व्यक्तिको अनिर्मित गुणलाई मान्यता प्रदान गर्नु नै सबैभन्दा धेरै सोझो तरिका हुनेछ । हो, त्यो व्यक्ति अहिलेसम्म पनि अधुरो सिर्जना हो !

वैयक्तिक चेतनाभित्र विगत कालका कमी–कमजोरीहरुलाई सच्याउनका लागि अविराम प्रयासको आवश्यकता छ । यो प्रक्रियाअन्तर्गत दुईवटा पाटाहरु हुन्छन् । एकातिर परोक्ष र प्रत्यक्ष शिक्षाद्वारा समाज व्यक्तिमाथि क्रियाशील हुन्छ भने अर्कोतिर व्यक्ति स्वयं पनि आत्म–शिक्षाको सचेत प्रक्रियाद्वारा अगाडि बढ्छ ।

क्रमश……………………………

(स्वदेश या मृत्यु !) राजेन्द्र महर्जन  (Twitter: @rmaharjan72) को लेखन, अनुवाद र सम्पादनमा प्रकाशित  ‘समाजवादको सपना’ पुस्तकबाट साभार

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung