धेरैले युद्ध–पत्रकारिताको अनुभव सुनाउँछन् । आफू त पत्रकारिता क्षेत्रमा आएको ८ वर्ष पुग्यो । न युद्ध–पत्रकारिताको अनुभव छ न त व्यवस्था परिवर्तन गर्ने ठूला–ठूला आन्दोलनको रिपोर्टिङ अनुभव ।
निर्वाचन र आम हडतालमा मात्रै पहेँलो ज्याकेट र परिचयपत्र बोकेर उभिएको म अहिले ‘भर्चुअल’ पत्रकार भएँ । भर्चुअल भन्नाले प्रविधिको विकाससँगै एक स्थानबाट अर्को स्थानमा अडियो र भिडियोका माध्यमद्वारा सूचना आदानप्रदान गर्नु भन्ने बुझिन्छ ।
पत्रकारिता बहु–आयामिक पेसा हो जसमध्ये भर्चुअल पत्रकारिता पछिल्लो समय निर्विकल्प विधिका रूपमा थपिएको छ । कोरोनाका कारण भर्चुअल पत्रकारिता स्थापित नै भइसकेको छ भने भर्चुअल तालिम, भर्चुअल उद्घाटन र भर्चुअल माध्यमबाटै समाचार संकलन गर्ने अभ्याससमेत सुरु भएको छ ।
रिपोर्टिङका विभिन्न तरिका छन् । नेपालमा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगिसक्यो । आकाशवाणी, हुलाक, फ्याक्स, इमेल, इन्टरनेट, फोन हुँदै अहिले प्रविधिको विकाससँगै भर्चुअल रिपोर्टिङको अवधारणा आएको छ ।
मिसन पत्रकारिता, पीत पत्रकारिता सुन्दै आएको मैले भर्चुअल पत्रकारिताको धेरथोर अभ्यास पनि गरिरहेको छु । पत्रकारिताको छोटो अनुभवमै भर्चुअल युगमा प्रवेश गर्ने सबै पत्रकारलाई सलाम ।
नागरिक पत्रकारिताको प्रयास भइरहेको समयमा कोरोनाले भर्चुअल पत्रकारितालाई अगाडि ल्याइदियो । सुरुमा भौतिक उपस्थितिमा मात्रै अब्बल रिपोर्टिङ हुने मान्यता रहेकोमा कोभिडकालमा भर्चुअल माध्यम त्यसको गज्जबको विकल्प बनेर आयो ।
यो एक किसिमको बाध्यता पनि हो । प्रविधिको बढ्दो प्रयोग र कोरोना कहरले जन्माएको एउटा नवीनतम पत्रकारिताको परिचय बन्दै गइरहेको छ, भर्चुअल ।
अहिले भर्चुअल सभा, भर्चुअल बैठक, भर्चुअल सम्मेलन, भर्चुअल तालिम तथा भर्चुअल कार्यक्रमको आयोजना गर्ने प्रचलन ह्वात्तै बढेको छ । सम्बन्धित निकायले समेत भर्चुअल माध्यमबाट गरिएका गतिविधिलाई प्रमाणित गर्ने भनेपछि भर्चुअल पत्रकारितामा झनै बल मिल्यो ।
भर्चुअल पत्रकारिता कोरोनाभन्दा अगाडि नभएको होइन तर त्यसको तीव्रतर विकास र उपयोग कोरोनापछि भयो । यसका फाइदा र बेफाइदा आफ्नै छन् । अहिले हामी भर्चुअल युगमा छौं ।
भर्चुअल पत्रकारिताको चर्चा हुँदा केही वर्षअघिसम्म यसलाई अल्छीको कामका रूपमा लिइन्थ्यो । तर समयले यसलाई अपरिहार्य आवश्यकता बनाइदिएको छ । अब पत्रकार पहिलो स्रोत मात्रै होइन, जसले समाचारको सवाल, एजेन्डालाई क्याच गर्छ त्यो नै पहिलो भयो ।
दिग्गज पत्रकारको भाषामा पत्रकार दोस्रो भयो, जो आम जनसमुदायको प्रतिनिधित्व गर्ने भएकाले मात्रै प्रभावकारी भयो ।
भर्चुअल पत्रकारिताले अल्छी पत्रकारलाई चोर्न, तानतुन र कपी पेस्ट गर्न मात्र हैन, फिल्ड रिपोर्टिङमा जाने पत्रकारहरूलाई समेत सहज बनाएको छ ।
एउटा समाचार जनतासामु पुग्न महिनौं लाग्ने नेपालको पत्रकारितामा गम्भीर विषय अथवा भनाइ सेकेन्डमै समुदायमा पुग्ने र पु¥याउने काम भर्चुअल प्रविधिले नै गरेको छ भन्ने लाग्दछ ।
तर सिर्जनशील पत्रकारलाई समेत हताशापूर्ण बनाउने अवस्था भर्चुअल पत्रकारिताले ल्याएको हो कि भन्ने मेरो ठम्याइ हो । जस्तो– एउटा पत्रकारले निकै सनसनीपूर्ण खबर प्रसारण तथा प्रकाशनमा ल्याउने तयारी गरिरहँदा प्रविधिका कारण अर्कैले ‘ब्रेक’ गर्ने डरले हतारमा समाचार फाल्दा दुर्घटना निम्तिने अर्को खतरा हुन्छ ।
सम्बन्धित व्यक्तिको भित्री कुरा पत्ता लगाई समाचारमा नवीनतम प्रभाव पार्नका लागि स्थलगत रिपोर्टिङ गर्नु नै सर्वोत्तम हो । तर, फिल्डमा जाने पत्रकारभन्दा सामाजिक सञ्जालमा रम्ने पत्रकारले पहिला समाचार हाल्ने गरेको छ ।
एजेन्डा उठाउँदा मात्रै ठूलो भइने होइन, गुदी कुरा ल्याउन र खोज्न फिल्ड जानै पर्दछ । जति भर्चुअल पत्रकारिताको विकास हँुदै जान्छ, त्यति फिल्ड रिपोर्टिङको समेत महत्त्व बढ्दै जान्छ ।
अहिले नागरिकको हात–हातमा स्मार्ट फोन छ । घटना भएको केही सेकेन्डमै विश्वव्यापीकरण हुँदै आएको छ जसकारण पत्रकारितामा समेत नयाँ अभ्यास सुरु भएको पाइन्छ ।
सुरुमा जनताले पहिलो स्रोतका रूपमा पत्रकारलाई लिँदै आए पनि पत्रकार बिस्तारै दोस्रो स्रोत भइसकेका छन् । उदारणका लागि कुनै स्थानमा सवारी दुर्घटना भए दुर्घटनाको विषयमा यात्रुले नै अपडेट गरेको हुन्छ ।
यसलाई नागरिक पत्रकारिता भन्ने गरिन्छ । अब पत्रकारले यात्रुले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार समाचार तयार पार्छ । तर, दुर्घटनाको भित्री कारण खोज्न तुरुन्तै घटनास्थल पुग्ने पत्रकारले मात्रै सक्दछ ।
‘हट न्युज’मा भर्चुअल माध्यमको व्यापक प्रयोग भएको पाइन्छ । किनभने फोन तथा भिडियो कलमार्फत यात्रुसँग जानकारी लिएपछि उक्त घटनालाई समाचारका रूपमा तयार पारिन्छ ।
स्मार्ट युगमा नागरिक पत्रकारिताका कारण पत्रकारहरूले स्रोतसम्म पुग्न निकै सहज भएको छ । यसलाई सकारात्मक पक्षका रूपमा लिन सकिन्छ ।
यस्तै, भर्चुअल पत्रकारिताले जन्माएको एउटा सकारात्मक पाटो के हो भने पहिले पत्रकारले दिनमा एउटा समाचार तयार पाथ्र्यो र त्यही समाचार पढेर पाठकलाई पुग्थ्यो ।
अहिले पाठकले घण्टा–घण्टामा समाचार तथा नयाँ सूचना खोजिरहेका हुन्छन् ।पत्रकारिताको आयाम निकै परिवर्तनशील छ । बागलुङमा २००८ सालदेखि सुरु भएको पत्रकारिता २०७७ सालमा आउँदा धेरै परिवर्तन आएको छ ।
यसको कारक मुख्यतः प्रविधि हो । हस्तलिखित पत्रिका ‘सही बाटो’देखि अहिलेको स्मार्ट पत्रकारितामा आउन थुप्रै चुनौती थिए । प्रविधिको विकास कोरोनाकालमा निकै प्रभावकारी ढंगले परिचालित भएको छ ।
नेपालमा कोरोना कहरले फिल्ड रिपोर्टिङ गर्ने पत्रकारहरूलाई घरमै सीमित बनायो । ठूला मिडियाले प्रकाशन बन्द गरी अनलाइन तथा भर्चुअल पत्रकारितालाई मात्र अगाडि ल्याए जुन निकै पठनीय तथा प्रभावकारी बन्यो ।
बजारमा निस्केको पत्रिकालाई कोरोना सर्ने माध्यम ठानिँदा बागलुङका अनलाइनहरूले गरेको अपडेट र समाचारमा भित्र्याएको नयाँपनले धेरैलाई आकिर्षत गरेको छ ।
अब चर्चा गरौं, भर्चुअलका फाइदा तथा बेफाइदा । भर्चुअल पत्रकारिता कतिपय पत्रकारका लागि ‘लाइफलाइन’ बन्यो । त्यसमा शंका भएन । जसले प्रविधिको उच्चतम प्रयोग गर्छ ऊ नै अबको दुनियाँमा सक्षम र सबल पत्रकार बन्दै जान्छ ।
तर हरेक कुराका बेफाइदा पनि सँगै हुन्छन् । पत्रकारितालाई छिटो, सस्तो तथा नयाँपन दिन भर्चुअल प्रविधिले साथ दिएको छ तर यसका सीमाहरूलाई भने नकार्न सकिँदैन ।
हतारको साहित्य पत्रकारितामा भर्चुअल अभ्यासले झनै हतारो थपिदिएको छ जसकारण त्रुटि धेरै हुने सम्भावना छ । तथ्य जाँचमा कमजोरी हुन सक्दछ । बिनायोग्यता जो पनि पत्रकार बनिदिने अवस्था आउँछ ।
पाठकलाई वा समाचारबाट प्रभावित व्यक्तिलाई तनाव सिर्जना भई उसले तुरुन्तै प्रतिक्रिया दिन्छ । पाठकले राम्रोसँग समाचार अध्ययन नगरी शीर्षक हेरेर धारणा बनाउने परिपाटी भर्चुअल पत्रकारिताकै देन हो ।
यसले पाठकलाई समेत दुर्घटित गराउन सक्छ । अन्त्यमा, नवीनतम र युग सुहाउँदो तथा समय सान्दर्भिक पत्रकारिता नै आजको आवश्यकता हो ।
जसले ‘ग्राउन्ड जिरो’मा पुगेर तथ्य जाँच गरी, दबाब र प्रभावमा नपरी आम जनतामाझ छिटोभन्दा छिटो समाचार पु¥याउन सक्छ त्यो नै सच्चा पत्रकार हुन सक्छ ।
भर्चुअल पत्रकारिताले पत्रकारलाई प्रविधिका विषयमा जबरजस्त भए पनि ज्ञान दिएको छ । आधुनिक उपकरणको प्रयोगबाट पत्रकारितामा नयाँ शैलीसमेत भित्रिएको छ ।
भर्चुअल कार्यक्रम र भर्चुअल पत्रकारिता दुवैलाई पाठकसामु पुर्याउन पत्रकारले भर्चुअल शैलीमा आफूलाई सहज बनाउनेतर्फ लाग्न अपरिहार्य छ ।







































































































































































































