साबिक धौलागिरि अञ्चलकै पहिलो नगरपालिका हो– बागलुङ नगरपालिका । तर २०५२ सालमा स्थापित नगरपालिकाको नवौं नीति तथा कार्यक्रम र बजेट होटलमा प्रस्तुत गर्न प¥यो ।
जबकि २०७३ सालमा स्थापित अन्य पालिकामध्ये अधिकांशले आफ्नै भवन र सभाहलमा बजेट सार्वजनिक गरे । यस भेगकै जेठो नगरपालिकाको कार्यालय भने अझै कृषि कार्यालयको भवनमा आश्रित छ ।
आफ्नै भवन नभएका जैमिनी नगरपालिकालगायतले पनि जग्गाको जोहो गर्दै छन् । बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिकाले प्रशासकीय भवनसमेत बनाइरहेका छन् ।
ताराखोला गाउँपालिकाले भने नवौं नीति तथा कार्यक्रम र बजेट प्रस्तुति आफ्नै सुविधासम्पन्न भवनमा सम्पन्न गरेको छ । उक्त सुविधासम्पन्न सभाहल जिल्लाकै १० पालिकामध्ये पहिलो हो ।
ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलमा करिब ५ सय सिट क्षमताको सभाहल बनाइएको हो ।गाउँसभाको समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ बागलुङका पूर्वसचिव राम थापाले गाउँपालिकामा समेत सुविधासम्पन्न सभाहल देखेर निकै खुसी लागेको बताए ।
गण्डकी प्रदेश सरकारको १ करोड ६८ लाख र गाउँपालिकाको १ करोड १२ लाख गरी २ करोड ८१ लाख ३६ हजार लागतमा सभाहल बनाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
उनका अनुसार अब संग्रहालय तथा प्रशासकीय भवन निर्माणको चरणमा छन् । ‘भौतिक पूर्वाधारबिना गाउँपालिकाको प्रशासनिक काम गर्न र अन्य योजनामा समेत समस्या हुँदो रहेछ, त्यसैले सुविधासम्पन्न प्रशासनिक भवन, सभाहल तथा संग्रहालय निर्माण गरेका हौं,’ घर्तीले भने,
‘अहिलेको गाउँपालिकाको कार्यालय साँघुरो भएकाले प्रशासकीय भवन बनेपछि अहिलेको भएको भवनलाई कर्मचारी आवासमा रूपान्तरण गर्नेछौं ।’
स्थानीयले दिएको ५ रोपनी जग्गामा गाउँपालिकाले गौरवको योजनाका रूपमा सभाहल निर्माण गरेको हो । सभाहलमा राष्ट्रिय जीवन, राजनीति र सशस्त्र द्वन्द्वमा मारिएका सहिदको चित्रसमेत कोरिएको छ ।
ताराखोलाका मात्रै २५ जना सहिद छन् । यो सभाहलभित्रै सार्वजनिक शौचालय, ड्रेसिङ कक्ष, विद्युत् आपूर्ति कक्ष, स्टोर, चमेनागृह, रेस्टुराँ, बार र पार्किङको सुविधा छ ।
सभाहल निर्माण भएको अर्गल क्षेत्रमा वर्षमा एक दर्जनभन्दा बढी सांस्कृतिक मेला हुने गर्छन् । सभाहल नहुँदा वर्षात र अन्य समस्याका कारण मेला तथा महोत्सव खर्चिलो हुँदै आएका थिए ।
प्रशासनिक भवनदेखि १ किमिको दुरीमा रहेको सभाहल जाने सडक स्तरोन्नति गर्ने योजनासमेत रहेको गाउँपालिकाले जनाएको छ । यस्तै, घुस्मेलीदेखि गाउँपालिका केन्द्र हुँदै सभाहल पुग्ने सडक स्तरोन्नतिका लागि चालू वर्ष १ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।
उक्त बजेटमा आगामी वर्ष १ करोड थप गरेर काम पूरा गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।
गाउँपालिकाले वडा नं १ को अमरभूमि, भुस्कातमा औद्योगिक ग्रामसमेत निर्माण गर्न थालिसकेको छ । औद्योगिक ग्रामका लागि ५५ करोड रुपैयाँ लाग्ने डीपीआरमा उल्लेख गरिएको छ ।













































































































































































































