२७ बैशाख २०८१, बिहीबार

 

सरकारले दिएको रकममा ५ लाख थपेर स्थानीयले निर्माण गरे पदमार्ग

होमस्टे प्रवर्द्धनका लागि आएको रकममा दोब्बर थपेर स्थानीयले आकर्षक पदमार्ग बनाएका छन् । पाहुनालाई घुमाउन र आकर्षक झरनासमेत घुमाउन काठेखोला गाउँपालिका–७ रेशस्थित डोठेदेउराली होमस्टे व्यवस्थापन समितिले पदमार्गमा लगानी गरेको हो ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पाएको १० लाख रुपैयाँमा वडाको ५ लाख थप गरेर स्थानीयले काम गरेका हुन् । स्थानीयले ५ लाख रुपैयाँ बराबरको श्रमदान पनि गरेको वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

२० लाख खर्चेर यहाँ झन्डै ७ सय मिटर पदमार्ग बनाइएको हो । पदमार्गबाट आकर्षक माहुरी झरनामा पुग्न सकिन्छ । झरना नजिकै सानो सत्तल, वनभोज स्थल समेत बनाइएको छ ।

खोलामा फलामे पुललगायत संरचना बनेका छन् । ढुंगेसाँघु समेत छ । ‘यी सबै संरचनाले पर्यटन आकर्षण गर्छ, गाउँमा अधिकतम पाहुना भित्र्याउन सहयोग गर्छ,’ लामिछानेले भने, ‘गाउँलेले पनि पर्यटनका कार्यक्रममा लगानी गर्न सहमत भए ।’

होमस्टेमा पुग्ने पाहुनाले पदमार्गमा यात्रा गर्न थालेका छन् ।यो पदमार्ग घुम्न गएकाले पुल तरेर सबैस्थानको दृश्यावलोकन गर्न सक्छन् ।

‘घुम्न गएका थियौं, निकै आकर्षक रहेछ, होमस्टेमा बस्न जानेले पनि रमाइलो मानेका छन्,’ स्थानीय ललिता थापाले भनिन्, ‘एकरदुई घण्टा रमाइलो गरी भुल्ने स्थान बनेको रहेछ ।’शीतल र आनन्द लाग्ने स्थान भएको उनले बताइन् ।

केही युवा र आमा समूहले यो स्थानमा वनभोज समेत गरिसकेका छन् । यहाँको होमस्टेमा ८ घरमा पाहुना राख्ने व्यवस्था छ ।

२० जनासम्मको समूहलाई अर्गानिक खाना खुवाएर राख्न सक्ने गरी होमस्टे निर्माण भएको हो । ‘सबैले घरआँगन चिटिक्क पार्न थालेका छन्, खानेपानीको पनि राम्रो प्रबन्ध छ,’ लामिछानेले भने ।

उचाइमा रहेकाले यो होमस्टेबाट धौलागिरि र माछापुच्छ्रे हिमाली शृंखला पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्