अर्थमन्त्री जनार्दन शर्माले संसारकै महँगो मानिएको नेपालको ब्रोकर कमिसनप्रति चासो लिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार लगानीकर्ताले बारम्बार ब्रोकर कमिसन अत्यधिक भएको र यसलाई घटाउनुपर्ने आवाज उठाइरहेका बेला शर्माले चासो देखाएका हुन् ।
यसअघिका अर्थमन्त्री विष्णुप्रसाद पौडेलका पालामा नगण्य मात्रामा ब्रोकर कमिसन घटाइएको थियो । अहिले कायम भएको ब्रोकर कमिसन पनि अत्यधिक भएको र यसलाई ५० प्रतिशत घटाउनुपर्ने लगानीकर्ताको माग छ ।
स्रोतका अनुसार अर्थमन्त्री शर्मा ब्रोकर कमिसन घटाउनुपर्ने पक्षमा पुगिसकेका छन् । उनले केही दिनमै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बोलाएर छलफलको तयारी गरेका छन् ।
यद्यपि, बोर्डले पनि कमिसन घटाउने विषयमा पुनः छलफल थालेको छ । तर, अहिलेसम्म छलफलले अन्तिम रूप पाइरहेको छैन । बोर्डका अध्यक्ष ढुंगाना आफैं भने ब्रोकर कमिसन घटाउन चाहँदैनन् ।
लगानीकर्ताको दबाब र बोर्डभित्रैका कर्मचारी कमिसन घटाउनुपर्ने पक्षमा उभिएपछि ढुंगानालाई अप्ठ्यारो परेको बुझिएको छ ।
नेपाल धितोपत्र बोर्डले गत पुस १२ आइतबारदेखि लागू हुने गरी कमिसन घटाएको थियो ।
बोर्डका अनुसार पछिल्लो समय ८५ प्रतिशतभन्दा बढी सेयर कारोबार अनलाइनबाट हुँदै आएको छ । पहिले ब्रोकर कमिसन ०.४ देखि ०.६ प्रतिशतसम्म लाग्दै आएको थियो ।
पछि ०.२७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था गरिएको हो । नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०।४ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ । ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
बोर्डले ३३ प्रतिशत कमिसन घटाएको हो । घटाइएको कमिसनले पुँजी बजारको विकास र विस्तारमा टेवा पुग्ने बोर्डले जनाएको छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्र खरिद बिक्री गर्दा ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्म ०.०५ प्रतिशत र ५० लाखदेखि माथिको कारोबारमा ०.०२ प्रतिशत शुल्क लाग्छ ।













































































































































































































