लगानीकर्ताहरूले सेयर विक्रीमा विभेदकारी नियम रहेको भन्दै त्यसलाई खारेज गर्न अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेका छन् । अघिल्लो सरकारले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबीच विभेद गरेकाले त्यसलाई सच्याउनुपर्ने उनीहरूको भनाइ छ । अर्थमन्त्री शर्माले यो विषयलाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् ।
सरकारले सेयर विक्रीमा दुई थरी लाभकर प्रणाली कार्यान्वयनमा ल्याएको छ । खास गरी साना तथा छोटो समयको लगानी गर्नेलाई लक्षित गरेर यसअघिको सरकारले दुई थरी पुँजीगत लाभकरको व्यवस्था गरेको थियो । यसअनुसार ३६५ दिनपछि सेयर बेच्दा ५ प्रतिशत लाभकर तिरे पुग्छ भने त्यसअघि बेचे ७.५ प्रतिशत लाभकर तिर्नुपर्छ ।
कतिपयले यसलाई सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश रोक्ने नियमका रूपमा अर्थ्याएका छन् । उनीहरूका अनुसार बजारमा जति धेरै लगानीकर्ता प्रवेश गर्छन्, त्यति धेरै सरकारले राजस्व पाउनेमा नयाँ लगानीकर्तालाई रोक्ने प्रयास भएको छ । विरोधका बावजुद सीडीएससीले दुई थरी लाभकर उठाउन भने थालिसकेको छ ।
सरकारले नयाँ बजेट ल्याउने वा नल्याउने विषयमा छलफल गरिरहँदा बजारप्रति सकारात्मक बनेका शर्माले ब्रोकर कमिसनका बारेमा समेत चासो लिएका हुन् । बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा पनि उनी सकारात्मक रहेको बताइएको छ ।













































































































































































































