२७ बैशाख २०८१, बिहीबार

 

बागलुङको मदन आश्रित पार्क अलपत्र

नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय रूपमै अस्तव्यस्त बनिरहेको बेला बागलुङ सदरमुकाममा रहेको एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा बनेको पार्क अलपत्र बनेको छ ।

बागलुङ सदरमुकाममा २५ वर्ष अघि जननेता मदन भण्डारी र जीवराज आश्रितको नाममा बनाइएको मदन आश्रित स्मृति पार्क संरक्षणको अभावमा अलपत्र बन्न पुगेको हो ।

मध्यपहाडी लोकमार्गको मुटु बागलुङ नगरपालिका –१ बाङ्गेचोरको मुख्य चोकमा दुई दशक अघि निर्माण गरिएको पार्क संरक्षण गर्ने निकाय बेखबर हुँदा पार्क घाँसे मैदानमा परिणत भएको छ ।

तत्कालीन बागलुङ नगरपालिकाले सार्वजनिक जग्गा ओगटेर एमाले नेताको स्मृतिमा निर्माण गरेको पार्कको संरक्षण गर्न नसक्नु सरोकारवाला निकायको कमजोरी भएको एमाले नेता कृष्णराज शर्माले बताउँछन् ।

पार्क माथि टाँगिएका मदन आश्रितको फोटो पार्कको फलामे गेटसमेत अस्तव्यस्त बनेको छ ।

पार्क भित्र जताततै फोहोर छ भने पोखरा– बागलुङ सडक विस्तार गर्ने क्रममा वरिपरिका पर्खालसमेत भत्काइँदा पार्क झन साँघुरो बन्दै गइरहेको मात्रै छैन झनभन्दाझन कुरूप बन्दै गइरहेको छ ।

नेकपा एमाले नेतृत्वको बहुमत सरकार बनेको बेलामा समेत पार्कको व्यवस्थापनमा कसैको ध्यान पुग्न नसकेको कारण पार्कको अवस्था दयनीय बनेको छ ।

नेकपा एमालेका वरिष्ठदेखि सबै तहका नेता तथा कार्यकर्ता दिनहुँजसो यहीँ बाटो भएर हिड्ने गरेपनि कसैले चासो नदिनु दुखद् भएको एमाले नेता सुजन परियार बताउँछन् ।

सयौं मदन भण्डारी र जीवराज आश्रीतका अनुयायीहरू हिड्ने गरेपनि यो पार्कलाइ सुन्दर हरियाली बनाउने बारे नत सोचेको देखिन्छ नत केही गरेको नै ।

केन्द्रदेखि स्थानीयतहसम्म पार्टीको गुटबन्दी भएकै कारण पार्क अलपत्र पर्न गएको कार्यकर्ताको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्