३ श्रावण २०८३, आईतवार

 

गलकोटमा अत्याधुनिक सभाहल बन्दै

गलकोट नगरकै गौरवको योजना मानिएको निर्माणाधीन घुम्टे बहूद्देश्यीय सभा हलको नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेणुका काउचा मगरले अनुगमन गरेका छन् । अनुगमनपछि वडा नं ७ मल्ममा निर्माण भइरहेको सभाहलको कामको प्रगतिबारे गैरेले जानकारी दिए ।

सभाहल निर्माण भएपछि तालिम, गोष्ठी, सभा, सम्मेलन, भेलालगायत कार्य गर्न सहज हुने उनले बताए । ‘अहिले विभिन्न कार्यक्रम गर्न समस्या हुने गरेकोमा सभा हल निर्माण कार्य सम्पन्न भएपछि समस्याको समाधान हुनेछ,’ उनले भने ।

नगर उप्रमुख मगरले स्थानीय तह निर्माण भएसँगै पालिकामा विकास निर्माणले तीव्रता लिएको बताइन् । नगरपालिकाले नगरभित्रको आवश्यकता पहिचान गरेर सोही बमोजिम नीति तथा कार्यक्रम ल्याइरहेको उनले जानकारी दिइन् ।

उक्त सभा हल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारले १५ लाख बजेट विनियोजन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा गलकोट नगरपालिकाले नगर गौरव योजनाअन्तर्गत १५ लाख दिएको थियो ।

चालु आर्थिक वर्षमा गलकोट नगरपालिकाले सभा हल निर्माणको बाँकी काम सम्पन्न गर्न २० लाख बजेट विनियोजन गरेको गलकोट नगरपालिका—७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले बताए । गत वर्ष ग्राउन्ड बेस र पिलर तयार गरिएको सभा हलको यस वर्ष वाल निर्माणसँगै पहिलो तला ढलान गरी शौचालयसमेत बनाइएको छ ।

१६ मिटर लम्बाइ र ५ मिटर चौडाइ रहेको सभा हल यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

दुईतले सभाहलको भुइँ तलामा स्टोर रुम, कार्यालय रहनेछ भने उपल्लो तलामा झन्डै ३ सय मानिस अट्ने सुविधासम्पन्न कक्ष बनाइनेछ । सभाहलको घडेरी व्यवस्थापन र सडक ट्य्राक निर्माण गर्न घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको थियो ।

नगरप्रमुख गैरे र उपप्रमुख मगरले प्रगति आधारभूत विद्यालय मल्मको नवनिर्मित दुईकोठे भवनको समेत स्थलगत अवलोकन गरेका छन् । १८ लाख रुपैयाँको लागतमा उक्त भवन बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung