३ श्रावण २०८३, आईतवार

 

बैंकको नाफा बढ्ने संकेतले सेयरबजारमा सकारात्मक प्रभाव

बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने संकेतसँगै सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाले बढी नाफा कमाएको रिपोर्ट आउने सम्भावना देखिएको छ ।

असारमा बजार घटाउन सक्रिय समूह नै अहिले बैंकले सकारात्मक रिपोर्ट ल्याउने भन्दै प्रचारमा लागेको छ । यस्तो बेला सेयर होल्ड गर्दा निकै छोटो समयमा लाभांश पाइने भएकाले पनि लगानीकर्ता बढी आकर्षित हुने गर्छन् ।

लामो समयदेखि सुस्त बनेको वाणिज्य बैंकको कारोबार अघि लाग्दा समग्र बजारमा सकारात्मक प्रभाव पर्ने चर्चा हुन थालेको हो । साउन लागेसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । लगानीयोग्य रकम सजिलै उपलब्ध हुने भएपछि बजार पनि उत्साहित देखिएको छ । बैंकहरूले सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति आउन केही विलम्ब हुने बताएको छ । तथापि, अहिलेको योजनाअनुसार नीति आएमा पुँजी बजारलाई खासै नकारात्मक असर नपर्ने उसले जनाएको छ । लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्न सक्नुपर्ने विश्लेषकहरूको भनाइ छ ।

उनीहरूका अनुसार आम लगानीकर्ताले लगानी गरिने कम्पनीको नाफा, रिजर्भ, ईपीएस, नेटवर्थ तथा भविष्यमा व्यवसाय विस्तारका सम्भावनाहरूलाई पनि ख्याल गर्न आवश्यक हुन्छ । गत बिहीबार म्युचुअल फन्डले बजारलाई बढाएका थिए । अघिल्लो आइतबार वाणिज्य बैंक समूहले सेयर बजारलाई उचालेका छन् । जेठ ३१ यता बजारमा झन्डै ३०० अंकको गिरावट आएपछि अहिले बजार सम्हालिएर अघि बढिरहेको छ ।

उसै पनि यो बेला सेयर बजार बढ्ने समय हो । किनभने बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक वित्तीय विवरण प्रकाशित गर्ने गर्छन् । त्यसपछि बैंकले लाभांश घोषणा गर्ने भएकाले पनि यो समय सेयर बजारअनुकूल हुन्छ । यसअघि वाणिज्य बैंक समूहको सेयर मूल्य लामो समयदेखि बढ्न सकेको थिएन् ।

तर, पछिल्ला केही दिनयता वाणिज्य बैंक समूहको सेयर मूल्यमा आकर्षण बढेको देखिन्छ । यससँगै जलविद्युत् तथा विशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung