अर्थसचिव मधु मसासिनीले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर सेयर खरिदसम्बन्धी विषयसँग सम्बन्धित फाइल मगाएका छन् । उनले सोमबार अर्थसचिवको रुपमा कार्यभार सम्हाल्नेबित्तिकै धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेको सीईओ चन्द्रसिंह साउद जोडिएको फाइल मगाएका हुन् ।
बुक विल्डिङमार्फत जारी हुनलागेको सेयर खरिदमा ढुंगाना र साउदले कर्नरिङ गरी आफन्तको नाममा सेयर खरिद गरेको खुलेको छ।
उक्त खुलासापछि अर्थ मन्त्रालयले ढुंगाना र साउदलाई स्पष्टीकरण समेत सोधेको थियो। दुवैले अर्थ मन्त्रालयमा स्पष्टीकरण समेत बुझाइसकेका छन्।
बिहीबार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले स्वार्थ बाझिने गरी इन्साइड ट्रेडिङ गरेको बाहिरिएपछि मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले बोर्ड र नेप्सेलाई विभिन्न सञ्चारमाध्यममा आएको सत्य तथ्य के हो सोको स्पष्ट र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेश दिएको थियो ।
ढुंगानाले बुक बिल्डिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा खरिद गरेको र साउदले श्रीमतीको नाममा खरिद गरेको बाहिरिएको थियो ।
उनीहरूलाई दिइएको म्याद आइतबार सकिएको र आइतबार नै उनीहरूले स्पष्टीकरण मन्त्रालयमा बुझाएका थिए। उनीहरूको स्पष्टीकरणमा सिमेन्ट नेप्सेमा सूचीकृत नभएकोले कम्पनी बोर्डको नियमनको क्षेत्राधिकारभित्रै नपर्ने तर्क पेश गरेका छन। कारोबार वा सूचनाको पहुँच बोर्डलाई वा बोर्डका सञ्चालक समिति सदस्यलाई नहुने समेत जानकारी दिएका छन्।













































































































































































































