२२ बैशाख २०८१, शनिबार

 

आफ्नो नामको २८ रोपनी आविष्कार केन्द्रलाई दान गर्ने महावीरको घोषणा

सूचनाप्रविधि क्षेत्रका अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई २८ रोपनी जग्गा दान गर्ने घोषणा गरेका छन् । उनले पोखराको बेगनास तालछेउको करिब ३ करोड रुपैयाँबराबरको जग्गा केन्द्रलाई नामसारी गरिदिने भएका हुन् ।

जग्गा दान गर्ने घोषणा नयाँ नभएको र आफूले विगतका अर्थमन्त्रीहरू रामशरण महत, विष्णु पौडेलसहितलाई पनि यसबारे बताएको पुनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

‘सरकारले राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब रु। ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु भनेकै हो । यसो भन्दा उहाँहरूले ‘जग्गा बेच्न पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ’ भनेको हो,’ पुनले लेखेका छन् ।

पुनका अनुसार उक्त २८ रोपनी जग्गा बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा छ जुन पर्वतका पदम पुन र उनी मिलेर २० वर्षअगाडि किनेका थिए । त्यो जग्गा किन्दा नै उनीहरूबीच भविष्यमा समुदायलाई फाइदा पुग्ने कुनै राम्रो काममा प्रयोग गर्ने सल्लाह थियो ।

पदम अहिले अमेरिकामा बस्छन् । सुरुमा पदमकै नाममा रहेको जग्गा केही महिनाअघि आफ्नो नाममा नामसारी भएको पुनले जनाएका छन् । फेसबुक पेजमा उक्त जग्गाको लालपुर्जाको तस्बिरसमेत पोस्ट गरेका उनले आफूसँग अरू कुनै भौतिक सम्पत्ति नभएको प्रस्ट पारेका छन् ।

‘अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेको अवस्थामा र नेपालको विकासका लागि अब मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनिरहेको अवस्थामा उक्त २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु,’ पुनले लेखेका छन् ।

पैसाको आवश्यकता परेका बेला त्यो जग्गा बेच्ने र अरू नै तरिकाबाट पैसा जुटेमा उक्त जग्गामा अनुसन्धानका लागि चाहिने भौतिक संरचनाहरू बनाइने उनले जनाएका छन् ।

उनले अरूलाई पनि आविष्कार केन्द्रलाई जग्गादान गरेर सघाउन आग्रह गरेका छन् । ‘तपाईंहरूसँग पनि त्यस्तो दान गर्न मिल्ने कुनै जग्गा छ भने दान गर्न सक्नुहुनेछ । जग्गा दान पनि अहिले सुरु गरिएको महादान अभियानकै अंग हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्