नेपाल पस्मिना व्यवसायी संघको समन्वयमा फाइबर प्रोसेसिङ प्रालिले उपल्लो मुस्ताङमा च्यांग्राको उन संकलन केन्द्र स्थापना गरेको छ । स्थानीयले पालेका च्यांग्राको उन संकलनका लागि प्रालिले मुस्ताङको चराङमा पहिलोपटक यस्तो केन्द्र सञ्चालन गरेको हो ।
पस्मिना व्यवसायी संघका उपाध्यक्ष एवम् प्रालिका अध्यक्ष धन लामिछानेले च्यांग्राको उनका लागि किसानलाई १ करोड रुपैयाँ बुझाएको बताए ।
‘जिल्लामा ३० हजार च्यांग्रा रहेछन्,’ उनले भने, ‘पहिलोपटक हामी किसानसम्म पुगेर प्रतिकेजी ४ हजार ५ सयमा खरिद गरेका छौं, त्यसबापत किसानले १ करोड रुपैयाँ पाएका छन् ।’.
यसअघि स्थानीयले चीनसँगको कोरोला नाकामा सिरक, डसना च्यांग्राको भुवा साट्ने गर्थे । उनीहरूले उपल्लो मुस्ताङको लोमान्थाङमा पनि संकलन केन्द्र स्थापनाको माग गरेका छन् ।
प्रालिले संकलन केन्द्र स्थापना गरेपछि दुई वर्षदेखि गोदाममै थन्किएको उनसमेत बिक्री भएको छ । स्थानीय पासाङछिरिङ गुरुङले बेच्न नपाएर थन्किएको उन गाउँमै खरिद गर्न व्यवसायी आएपछि खुसी भएको बताए ।
व्यवसायीहरू हिमाली क्षेत्रका १६ वटै जिल्लामा च्यांग्राको उन खरिदका लागि जाने तयारीमा छन् । ‘बर्खाको समय भएकाले सबै ठाउँ जान सकिएन, अब मनाङ हुँदै डोल्पा पुुगेर च्यांग्राको उन खरिद गर्ने तयारी छ,’ उनले भने ।
‘हामी विनाप्रशोधित उन प्रतिकेजी ४ हजार ५ सयमा खरिद गर्छौं, यसलाई प्रशोधन गर्दा ३० प्रतिशत हुन्छ,’ उनले भने । प्रशोधित उन प्रतिकेजी १५ हजार रुपैयाँसम्म खरिद हुने व्यवसायीको भनाइ छ ।
केन्द्र खुलेपछि किसानले नियमित रूपमा संकलन गरिरहेका छन् । व्यवसायीले त्यसलाई मौसमअनुसार प्रशोधन केन्द्रमा लैजान्छन् । केही वर्षदेखि ९ अर्बको पस्मिना बजार खस्किएर एक तिहाइमा झरेको पस्मिना व्यवसायी संघका पूर्वअध्यक्ष पुष्पमान श्रेष्ठले बताए ।
फाइबर प्रोसेसिङ प्रालिले उपल्लो मुस्ताङमा केन्द्र नै स्थापना गरेर उन संकलन गरिरहेको छ
किसानले तिब्बतमा लगेर उन बेच्ने गरेकोमा कोरोना महामारीले लोमान्थाङको नाका नखुल्दा दुई वर्षदेखि बेच्न पाएका थिएनन् । उनीहरूले तिब्बतको दामाकोलोमा वैशाख र कात्तिकमा लाग्ने मेलामा उन बेच्थे ।
नेपालका व्यवसायीले चीन र मंगोलियाबाट पस्मिना धागो आयात गरिरहेकोमा कोरोना संक्रमणपछि ठप्पजस्तै छ । उत्पादन घटाएका व्यवसायीले मंगोलियाबाट मात्रै वर्षमा १ सय ९५ टन तयारी धागो आयात गरिरहेको तथ्यांक छ ।
उन संकलन गर्ने काम भइरहेकाले प्रालिले अबको एक सातापछि काठमाडौं लैजाने तयारी भइरहेको लामिछानेले बताए ।मुस्ताङमा खेर गएको उन र चीनमा पठाइने भुवा अब नेपालमै प्रयोगमा ल्याइने उनको भनाइ छ ।













































































































































































































