१५ बैशाख २०८१, शनिबार

 

बूढानीलकण्ठ हेरिटेज होटल पुससम्म सञ्चालनमा आइसक्ने, पब्लिक कम्पनीमा लैजाने तयारी

दुई वर्षअगाडि विदेशी र स्वदेशी पर्यटकलाई लक्षित गरी सुरु भएको बूढानीलकण्ठ हेरिटेज होटल छिटटै सञ्चालन आउने भएको छ । आगामी पुसमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालकले जनाएका छन् ।

आरसीसीसम्बन्धी सबै काम सकेर अहिले मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङसहित इन्टेरियर थालिएको बूढानीलकण्ठ हेरिटेज प्रालिका अध्यक्ष डा राजेन्द्र केसीले बताए।

उनका अनुसार दर्ता भएको होटललाई पब्लिक कम्पनीमा लैजाने तयारी छ । ‘हामी अब साधारणसभामा यो प्रस्ताव लैजाने र आवश्यक कागजातसँगै प्रक्रिया अघि बढाइरहेका छौं,’ उनले भने।

होटलले निकट भविष्यमा आवश्यक परे आईपीओसमेत जारी गरिने जनाएको छ।बूढानीलकण्ठ नगरपालिका वडा नं १ टुङलुङ गाउँमा रहेको यो होटल चक्रपथस्थित नारायणगोपाल चोकबाट पाँच किलोमिटरको दूरीमा ११ रोपनी ११ आनामा निर्माण भइरहेको छ ।

यो होटलमा १०२ वटा कोठा रहने केसीले बताए। तीनवटा भवनसहितको उक्त होटलमा दुईवटा प्रेसिडेन्सियल, तीनवटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठा रहनेछन्।

आगामी जनवरी १ मा होटल उद्घाटन गर्ने योजना कम्पनीको छ। करिब १ अर्ब ६० करोड रुपैयाँ लागतमा बनिरहेको होटलमा विभिन्न क्षेत्रका ३१ जनाले लगानी गरेको बूढानीलकण्ठ हेरिटेज प्रालिका संचालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले नयाँ विश्वलाई बताए।

पाँचतारे होटलसँगै दुईवटा पार्टी भेन्यु पनि निर्माण गरिने बताइएको छ। ठूलो हलमा करिब ४ सय र सानोमा १ सय ५० जना अट्ने पार्टी भेन्यु निर्माण हुने केसीले जानकारी दिए।

होटलमा दुई सयवटा गाडी अट्ने पार्किङस्थल हुनेछ। होटलमा हेल्थ क्लब, स्विमिङ पुल, रुफ टप गार्डेन, योगा तथा ध्यान केन्द्र निर्माण हुने बताइएको छ।

पार्टी भेन्युलगायत हेल्थ क्लब, स्विमिङ पुल, रुफ टप गार्डेन, योग तथा ध्यान केन्द्र विशेष रूपमा आन्तरिक पर्यटकलाई र १०२ कोठाहरू विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गर्ने योजना रहेको केसीले जानकारी दिए। कोठाहरू युरोपियन, अमेरिकी, चिनियाँ, भारतीयलगायत पाहुनालाई लक्षित गरिएको छ।

‘सहरी क्षेत्रबाट नजिकै रहेको होटल भएकाले टाढा जानुपर्ने अवस्थाको अन्त्य हुनेछ,’ केसीले भने, ‘साथै नजिकै रहेका बूढानीलकण्ठ र कृष्ण मन्दिर, शिवपुरी राष्ट्रिय निकुञ्ज, विपश्यना ध्यान केन्द्रसहित होटलबाटै ट्रेकिङ रुट निर्माण हुने भएकाले धार्मिकसँगै एड्भेन्चर टुरिजमको स्वाद पाहुनाहरूले भेट्न सक्छन्।’

होटलका कोठाहरू अन्तर्राष्ट्रिय मापदण्डसहित उच्च स्तरको हुने अध्यक्ष केसीले दाबी गरे। उनका अनुसार कोठाहरू ३ सय २० देखि ३ सय ३० वर्गफिटसम्मका छन् ।

इन्टरकनेक्सन रुमसहित सेमिनार तथा वर्कसप आयोजना गर्ने हल पनि छन् । ग्राहकलाई सहज होस् भनेर सर्भिस लिफ्ट र ग्राहकलाई छुट्टाछुट्टै दुईवटा लिफ्ट जडान गरिने होटलले जनाएको छ।

होटलको बोर्डमा केसीसँगै सीए तथा व्यवसायी दीपक पाण्डे, जलेश्वर पाण्डे, अम्बिकाप्रसाद पौडेल, सीए नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की र जनक भट्ट छन्।

होटलमा आबद्ध लगानीकर्ताहरू वित्तीय,हार्डवेयर, हाउजिङ, होटल, शैक्षिकलगायत व्यवसायमा सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्