३ श्रावण २०८३, आईतवार

 

बागलुङमा गाईजात्रा पर्व सुरु, आज तायाः मचा नाच

बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज स्वास्थ्य मापदण्ड पालन गरी प्रारम्भ भएको छ । एक वर्ष पहिले दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै बागलुङमा गाईजात्रा मनाइएको हो ।

आज सोमबार विहान ५ बजे नेवार समुदायले मनाउने गरेको गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायाः मचा बनाएर नगर परिक्रमा गरिएको छ ।

यस वर्ष सदरमुकाम बागलुङ बजारका नेवार समुदायका परिवारमा मृत्यु भएका १४ जनाको तायाः मचा बनाइएको हो ।गाईजात्रा मृत्युसंस्कारसँग सम्बन्धित पर्व हो ।

नेवार समुदायमा कसैको मृत्यु भएपछि मृतकलाई मरेपिपल हुँदै दाहसंस्कारको लागि निरेघाटमा लैजाने हुँदा विहान निकाल्ने ताया मचालाई मरेपिपलसम्म लगेर मृतकको आत्मालाई देखाएर फर्काएकापछि मात्र मृतकको आत्माले शान्ती पाउने भन्ने कथन छ ।

बजारको नारायणचोकबाट सुरु भई मरेपिपल परिक्रमा गरी पुनः नारायणचोकमा गएर गाईजात्राको समापन गरिएको थियो ।

६ सय वर्ष पुरानो गाईजात्रा

मृत्युलाई स्वभाविक र शास्वत सत्यका रुपमा आत्मसाथ गर्दै मृतात्माको पुरानो आख्यानअनुसार नेसं ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा राजकुमार चक्रवतिन्द्र मल्लको शितला रोगका कारण मृत्यु भएपछिराजकुमारको मृत्युमा भावविव्हल रानी राजमतीलाई कसैले पनि

शान्त राख्न नसकेपछि राजा प्रताप मल्लले जसको घरमा वर्षभरी आफन्तको मृत्यु भएको छ, उसको नाममा झाँकीसहित गाईजात्रा निकाल्न उर्दी गरेअनुसार गाईजात्रा पर्व मनाउन सुुरु गरिएको मान्यता छ ।

राजा मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आदेश दिएपछि यो पर्व सुरु भएको ऐतिहासिक तथ्यमा उल्लेख छ ।

देशवासीले मृतकका नाउँमा निकालेको झाँकी हास्य प्रदर्शनदेखि रानीलाई अनित्य संसारको सत्य ज्ञान भई मेरो छोरा मात्र होइन थुप्रै जनाको मृत्यु भएको रहेछ भनि बुझिछन् ।

‘साँ यात’ अर्थात ‘गाईको यात्रा’

त्यसै वर्षदेखि गाईजात्रा निकाल्न थालनी भएको भन्ने जनविश्वास छ । जयस्थिति मल्लको समयको गोपालराज वंशावली पत्र ६१० मा ‘साँ यात’ भनेर लेखिएको छ यो भनेको ‘गाईको यात्रा’ हो । यसले गाईजात्रा जयस्तिथि मल्लको समयभन्दा पनि पहिल्यै सुुरू भएको देखिन्छ ।

लिच्छविकालमा मनोरञ्जनका लागि गोरु जुधाउने परम्परा पनि रहेको थियो यस बारे अनन्तलिंगेश्वरको अभिलेखमा ‘गो युद्ध’ उल्लेख छ ।

गाई यात्रालाई जात्राको रूपमा र त्यसमा संगीतको प्रयोग भने काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालामा भएको थियो ।

३ सय वर्ष अघि काठमाडौंलगायत उपत्यकाका विभिन्न ठाउँबाट बागलुङ आई बसोवास गरेका नेवार समुदायले आफूले सँगै ल्याएको भाषा, कला, संस्कृति र जात्रालाई संरक्षण गर्दै आफ्नो संस्कृतिको रुपमा रहेको गाईजात्रा पर्वलाई भने निरन्तररुपमा मनाउँदै आएका छन् ।

१ वर्ष भित्र मृत्यु भएका घरबाट गाईजात्राकै दिन प्रसाद बनाएर आफन्त छरछिमेकीलाई खुवाउने चलन पनि रहेको छ ।

९५ वर्षअगाडि नारायण चोकमा लक्ष्मीनारायण मन्दिर स्थापना

विसं १९८३ अघिको समयमा बागलुङ बजारमा गाईजात्रा वा तायाः मचा नाच चौधरी थरका नेवारहरुले बानपा ३ बुद्ध विहारबाट सुुरु गरेर नगरपरिक्रमा गर्ने चलन रहेको नेपाल भाषा मंका खल बागलुङका सदस्य जयराम भारीले बताए ।

पछि बागलुङ नगरवासी टेकनारायण भारी, बहुद प्रसाद भारी ( मानकाजी भारी ),अश्विनी कुमार वझान्थाछे पाल्पामा परम्परागत रुपमा संचालन हुने ऐतिहासिक तायाः मचा नाच हेरेर आएपछि उनको पहलमा विसं १९८३ मा बानपा ३, नारायणचोकमा लक्ष्मीनारायण मन्दिरको स्थापना गरी नारायण चोकबाट तायाः मचा नाच बागलुङ बजार परिक्रममा गराउने चलन बसालेका थिए ।लक्ष्मीनारायणको मूर्ति बनारसका बनाउन लगाएर बागलुङ ल्याएका थिए ।

विहान मृतक तायाः मचाको सबैभन्दा अगाडि लक्ष्मीनारायण भगवानको तायाः मचा बनाएर नारायणस्थान मन्दिरमा पूजा गरेर बाहिर राख्ने चलन छ ।

सबैजना लक्ष्मीनारायण मन्दिरमा भेला भइ उक्त मन्दिरबाट विहान ४ बजे गाईजात्रा निकालेर नगरपरिक्रमा गरि सोही स्थानमा ल्याइ विसर्जन गर्न परम्पराका थालिएको बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारीले नयाँ विश्वलाई बताए।

यहाँ तायाः मचा बाँसबाट बनाइन्छ । हरियो  बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर यसलाई कपडाले बेरेर तायाः मचा बनाइन्छ । तायाः मचामा पुरुष बितेको भए पुरुषको लुगा र महिला वितेको भए महिलाको लुगा झुण्डाएर राख्ने चलन छ ।बच्चा बितेको भए डोकोमा चाङग्रा खसीको सिङग राखेर बनाउने चलन छ ।

तहामचाको शिरमा गाईको चित्र,मृतकको तस्विर राखेर र चौरी गाईको रौ शिरमा लगाउने चलन छ । यसलाई डोकामा अडाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तस्विरबाट जात्रा हेर्न आएकालाई कुन मृतकको तायाः मचा निकालेको हो थाहा हुन्छ ।

मृतकको सम्झनामा निकालिने तायाः मचा नाच घरका छोरी वा बुहारीले पुजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पुजा गरेर समापन गर्ने चलन रहेको उनको भनाइ छ ।

उनकाअनुसार तायाः मचा नाच निकाल्नु अघि विहान १ र २ बजेको समयमा मृदंगना, झ्यालीसहितको सांकेतिक बाजा बजाएर नगर परिक्रमा गरिन्छ ।यसरी बाजा बजाएर बजार परिक्रमा गर्नुको अर्थ सबै मृतकको परिवारलाई आफनो तायाः मचा लिएर नारायण चोकमा भेला हुने सूचना हो ।

त्यसपछि सम्बन्धित घरबाट बिहान ४ बजे बजारको नारायणचोकमा तायाः मचासहित भेला हुने र नगरपरिक्रमा गर्ने चलन रहेको छ । त्यसै गरी दिउँसो पनि नारायण चोकमै भेला भै बजार परिक्रम गर्ने गरिन्छ ।

तायाः मचा निकाल्दा सबैभन्दा अगाडि भगवान् लक्ष्मी र नारायणको नामको तायाः मचा राखेपछि मात्र मृतकको सम्झनामा बनाइएको तायाः मचाराखिन्छ ।

तायाः मचा नाच संस्कृति संरक्षणमा नेवा नयाँ पुस्ता

बागलुङमा तायाः मचा नाच संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको नेपाल भाषा मंका खलका सचिव सुदिप राजभण्डारीले बताए । युवा पुस्ताको सक्रिय सहभागिताले संस्कृति हस्तान्तरण एवं जगेर्ना गर्ने काम पनि सघाउ पु¥याएको उनको भनाई छ ।

‘हामीले केही वर्षदेखि यस पर्वलाई व्यवस्थित गरेका छौ, र यस वर्ष पनि कोभिडका कारण सबैलाई स्वास्थ्य मापदण्ड पालन गर्न लगाएर मात्र तायाः मचा निकालेका छौ’ उनले भने ।

तायाः मचा संरक्षण गर्न युवा सहभागिता बढाउने र तायाः मचा बनाउन मृतकको घरमा गएर सहयोग पनि गरेको नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए ।

प्रत्येक वर्ष तायाः मचा प्रत्येक मृतकको घरघर हुँदै बजार परिक्रममा गर्नु पर्ने र त्यहि मृतकको परिवारले प्रसाद वितरण गर्ने चलन भए पनि कोभिडको कारण यस पालि सो परम्परा स्थगित गरिएको छ ।

तायाः मचा नाच विसं १९८३ भन्दा पहिले राधाकृष्ण टोल, त्यसपछि शिवकुमार प्रधानको घरको आँगनबाट निकाल्ने चलन थियो । विस १९८३ नारायण चोकमा सरेको साहित्यकार प्रेम छोटोले जानकारी दिए ।

यसरी विस्तार भयो उपत्यका बाहिर गाईजात्रा

तायाः मचा नाच हरेक जिल्लामा फरकफरक खालको छ । ३६७ वर्षसम्म आर्थत आनन्ददेवदेखि यक्ष मल्लसम्मको समयमा नेपालको राजधानी भक्तपुर थियो । भक्तपुरमा गाईजात्रादेखि कृष्ण जन्माष्टमीको दिनसम्म डबली र टोलहरूमा गीत, नाटक, ख्याल प्रदर्शन गर्ने चलन छ ।

यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भयो । ब्राहृमण चन्द्रशेखरको आग्रहमा राजा जगतप्रकाश मल्लले गाईजात्रामा नाचगान र बाजागाजाको प्रयोग गरेका थिए । यसरी गाईजात्रा धुमधामसँग मनाउन परम्परा बस्यो ।

पछि यो परम्परा उपत्यका बाहिर पनि विस्तार भयो । यसको कथा भने अनौठो खालको छ ।

रणबहादुर शाहले बिफरको महामारीबाट रानी कान्तिवतीको मृत्यु भएको र छोरा गीर्वाणयुद्धको समेत मृत्यु नहोस भनि तीनै शहरका सबै बालबालिकालाई नेपाल उपत्यकाबाट बाहिर निकाले ।

त्यसरी निस्कासित परिवार बनेपा, पनौती, पोखरालगायत ठाउँमा गएर बस्न थालेको इतिहास छ । त्यहि घटनापछि बल्ल उपत्यका बाहिर गाई जात्रा पर्वको विस्तार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung