रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्रसम्म २० किलोमिटर सडक कालोपत्र हुने भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना पोखराले मंगलबार तीन वर्षभित्र काम सक्ने गरी ताराखोला गाउँपालिकासँग सम्झौता गरेको हो ।
प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्र अर्गल जाने २० किलोमिटर सडक कालोपत्र हुँदै छ ।
आयोजना प्रमुख कुमार थापा, भौतिक पूर्वाधार सहरी तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुली र ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैह्रेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस वर्ष सडकको डीपीआर तयार गरी काम थालिने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले जानकारी दिए । उनका अनुसार सडक सञ्जाल जोडिएपछि स्थानीय उत्पादन बजार पु¥याउन सहज हुनेछ ।
ताराखोलामा उत्पादित आलु, भाँगो, काठ, तथा ढुंगा निकासी गर्न सकिने उनको भनाइ छ । ताराखोला पशुपालन,घरेलु उद्योग,कृषि र पर्यटन लगाएतको विभिन्न संभावना भएको गाउँपालिका हो ।
‘जनयुद्धका बेला ५ ग्राम चिनीमा २० ग्राम चिउरा खाएर स्थानीयले खोलेको ट््य्राक आज कालोपत्र हुने भएको छ,’ अध्यक्ष घर्तीमगरले भने, ‘कालोपत्रपछि ताराखोला थप पर्यटक हब बन्छ ।’
७० करोड अनुमानित लागतमा बन्न लागेको सडकमा स्थानीय तह, प्रदेश र संघीय सरकारले बजेट रकमान्तर गर्ने भएका छन् ।














































































































































































































