१० कार्तिक २०८३, सोमबार

 

दुःख घटाउने र खुसी बाँड्ने कम्युनिस्ट पार्टीको खाँचो

तत्कालीन नेकपा (माओवादी) को संकल्प थियो– मानवजातिको मुक्ति र परिवर्तन । यसका लागि कि त विद्रोहको झन्डा उठाउँदै नउठाउने, उठाइसकेपछि लक्ष्य प्राप्तिमा नपुग्दासम्म त्यसलाई झुक्न नदिने । चाहे एकमुट्ठी प्राण नै किन बाँकी नरहोस् । समाज रूपान्तरण र विकासका लागि निरन्तर क्रान्ति एक मात्र मूलमन्त्र थियो ।

यही प्रतिज्ञाअनुरूप नेकपा (माओवादी) ले स्पष्ट विचार र दृष्टिकोणसहित मुलुकमा राजनीतिक परिवर्तनका लागि रणनीति र कार्यनीति बनाई २०५२ फागुन १ बाट जनयुद्ध सुरु ग¥यो ।

राज्यसत्ताबाट हुने गरेका सबैखाले अन्याय, अत्याचार, शोषण, उत्पीडनको विरोध र हजारौं मान्छेको मुक्तिका लागि ‘जिते सिंगो संसार, मरे आफ्नो एउटा ज्यान’ भन्दै उच्च मनोबलसाथ मानिसहरू क्रान्तिमा होमिए । जनताद्वारा जनताकै निम्ति लडिने न्यायपूर्ण राजनीतिक आन्दोलनमा उत्साहजनक सहभागिताकै कारण जनयुद्धको जगमा भएको २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनले मुलुकमा गुणात्मक रूपमा राजनीतिक परिवर्तन ग¥यो ।

विधिगत रूपमा पुरानो राज्यसत्ताको ध्वंस र नयाँ राज्यसत्ता निर्माण हुने क्रममा दुई सय वर्ष पुरानो सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहित उत्पीडित वर्ग–समुदायको राज्यका हरेक निकायमा प्रतिनिधित्वका लागि समानुपातिक–समावेशिताको मुद्दा नयाँ संविधानमै व्यवस्था हुनुले आमनागरिकको अधिकार स्थापित गरेको छ । सामाजिक समानता र आर्थिक समृद्धिमार्फत समाजवादी अर्थतन्त्रको आधारशिला तयार गरेको छ ।

राजनीतिक परिवर्तनका लागि दल र समुदायको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका महत्त्वपूर्ण भए पनि सारमा विचार र राजनीतिक एजेन्डाका हिसाबले नेकपा (माओवादी) केन्द्रको नेतृत्वदायी पहलकदमीबाट यो उपलब्धि निर्माण भएकोमा दुईमत नहोला ।

तर मुलुकमा राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिको रक्षा र त्यसलाई थप विकास गरी अगाडि बढ्ने सन्दर्भमा नेकपा (माओवादी) केन्द्रभित्र वैचारिक हिसाबले एकताबद्ध भई त्यसको व्यवस्थापन गर्न नसक्दा टुटफुट तथा विभाजनले पार्टी कमजोर बन्न पुग्यो ।

यसबीच विरोधी शक्तिहरू जो परिवर्तनलाई आत्मसात् गर्न नचाहने, यथास्थितिमा रमाउन खोज्ने, सत्य कुरालाई बंग्याउने, शंका गर्ने, अप्रमाणित गर्न खोज्ने प्रयासमा गर्दै प्रतिगमनलाई साथ दिनमा लागे ।

संघीयता कार्यान्वयनमा देखिएको उदासीनता र चलखेलका साथै दुई तिहाइको कम्युनिस्ट सरकारको नेतृत्व गर्न पुगेका केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७७ जेठ ८ गरी दुईपटक संसद विघटन गर्नु यसको प्रमाण हो । जनताको अभिमतमाथिको यो प्रहार मुलुकलाई असफल राष्ट्र बनाउन गरिएको पश्चगामी प्रयास हो ।

यस्तो खालको गलत प्रवृत्तिमा मुलुकमा भएको गुणात्मक परिवर्तनको उपलब्धिलाई सामान्य बनाउने, समस्यालाई समाधानभन्दा पहाड बनाएर सत्ता र शक्तिको आडमा व्यक्तिवाद हाबी गराउने मनसाय थियो ।

एमालेभित्रको मुख्य नेतृत्वमा देखिएको यस्तो मनोदशा सरकार–संसद्बाट प्रस्तुत गरेको जालझेल षड्यन्त्र र बहानाबाजीले प्रस्ट पारेको छ ।

नेतृत्वमा हुनुपर्ने विचार, राजनीतिक कार्यकुशलता, विवेक र बुद्धिमत्ताको अभावले कम्युनिस्ट पार्टीको आदर्शलाई नैतिकताहीन तुल्याइदिएको छ । त्यसको प्रभाव– आज समाजमा समयसापेक्ष परिवर्तनको अनुभूति आमनागरिकमा हुन सकेको छैन ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताको मुद्दा माओवादी केन्द्रको विचारबाट जन्मिए पनि राज्यको निर्णायक भूमिकामा पार्टी कमजोर हुँदा चाहेअनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यसञ्चालनले गुणात्मक फड्को मार्न सकेन ।

दोस्रो कुरा, संविधान निर्माताहरूको प्रतिनिधिसभामा निकै कम उपस्थिति हुनाले संविधानको मर्मअनुसार कानुन बनाउने कुरामा पनि कमजोरी निम्तिन पुग्यो ।

किनभने प्रतिनिधिसभामा जाने माननीयहरूमा संविधान बनाउने बेलाको जति स्पिड र जिम्मेवारी नहुन सक्छ, जुन कुरा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच साझा अधिकारमध्येका महत्त्वपूर्ण कानुन नबन्नुले प्रस्ट्याइसकेको छ ।

यस कारण नेकपा (माओवादी) केन्द्रको विचार, दृष्टिकोण, रणनीति र कार्यनीति, संगठन संरचना, कार्यकर्ताको परिचालन र व्यवस्थापन अरू पार्टीको भन्दा फरक हुनुपर्छ । यसो गरिएन भने जुनसुकै तहको पार्टी संगठन किन नहोस्, परिवर्तित समयको नेतृत्व गर्न सक्नेछैन ।

आजको सचेत नागरिकमा हुने विकासको चाहनालाई पूरा गरी विश्वसनीयता कायम राख्ने दिशामा राजनीतिक पार्टीका समस्या पहिचानको घडी पनि हो यो । यस कारण पार्टी र नेतृत्वले परिस्थितिको ठोस आकलन गरेर समयमै समाजवादमा पुग्ने रणनीति, कार्यनीतिको विषयमा स्पष्ट दृष्टिकोण र धारणा बनाउनुपर्छ ।

आत्मगत तथा वस्तुगत अवस्थाको आकलन गरी लक्ष्यमा पुग्ने तयारीसाथ जनतालाई जानकारी गराउनुपर्छ । पार्टीभित्र व्यक्तिगत स्वार्थअनुकूल काम भए ठिक नभए विद्रोह गर्ने भन्ने चरम व्यक्तिवादी अवसरवादको विरुद्ध लड्न सक्नुपर्छ ।

वर्गीय पक्षधरता र संगठन विकासमा पार्टी मातहतका संगठन र परिचालनका ठोस योजना निर्माणमा ध्यान दिन आवश्यक छ । पार्टी संगठन कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘क्रान्तिकारी युद्धको समयमा लडाइँमा नडराउने, बलिदानका निम्ति तयार हुने व्यक्तिको खाँचो हुन्छ भने समाजवादी आधार निर्माणको सन्दर्भमा राजनीतिक रूपमा विश्वसनीयता, व्यावहारिक रूपमा दक्ष, नैतिक रूपमा माथि उठेको, जनताले विश्वास गरेको, राम्रो अधिकारी हुनुपर्छ’ भन्ने कथनलाई आत्मसात् गर्नुपर्छ ।

पार्टीका विचार र धारणाहरू प्रस्ट हुन आवश्यक छ । बलियो पार्टी निर्माण र परिचालन भए संगठनको चरित्र उद्देश्यमुखी, नतिजामुखी हुँदै जान्छ । यसले पार्टीको नेतृतहदेखि कार्यकर्तासम्मलाई जनताको सेवा गर्ने जिम्मेवारी निःस्वार्थ तरिकाले बहन गर्न सक्ने क्षमता दिलाउँछ । त्यसका लागि दर्शन, विचार, आदर्शमा अध्ययनशील हुनुपर्छ । अध्ययन नगरिएका कुराले मान्छेलाई कहिलेकाहीँ उडन्ते बनाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारिदिन्छ । यो कुरा ख्याल राख्न जरुरी छ ।

सकारात्मक सोच राख्ने बुद्धिमान् मानिसले मात्र परिस्थितिअनुरूप भूमिका बदल्न र उपाय दिन सक्ने भएकाले बेलाबेलामा पार्टीले प्रशिक्षण पनि दिइरहन जरुरी छ । त्यसले मात्र साँचो कुरालाई अंगीकार र स्थापित गर्दै खुसी वृद्धि गरिदिनेछ, दुःखलाई घटाउनेछ ।

(घर्तीमगर ताराखाेला गाउँपालिकाका अध्यक्ष हुन् )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung