१० कार्तिक २०८३, सोमबार

 

विस्थापन र पुनःस्थापनमा बागलुङका नेवार

पृष्ठभूमि

प्रायः मानिसमा एउटा पन पाइन्छ– त्यो हो स्वाभिमानीपन । यो पन बागलुङेहरूमा अझ धेरै छ कि भन्ने मलाई लाग्दछ र यो राम्रो पक्ष हो । यति मात्र होइन, उनीहरू केही न केही गरेर देखाउन चाहन्छन् ।

यसका पछाडि कतिपय भन्ने गर्छन्– बागलुङको पानी । हो हामीलाई गर्व छ, बागलुङको पानीमा मिठास छ, शक्ति छ, आफ्नोपन छ । कतिपय मानिसहरू बागलुङमा केही समय बसी आफ्नै स्थानमा फर्किए भने उनीहरू पनि भन्ने गर्छन्– बागलुङको पानी मीठो छ र यो पनि कि बागलुङको पानी कडा छ । तर यो बुझाइको फेरो नै हो, यहाँको पानी कडा हो कि नरम ।

यहाँको पानीले साबुन पखाल्नुपर्दा धेरै बेर धोइरहन पर्दछ किनकि थोरै समय पखाल्दा पनि यहाँको पानीले साबुनको चिल्लोपन पखालिँदैन ।

यसको अर्थ हो– साबुन कडा भो र पानी नरम । यसरी अध्ययन गर्दा यहाँका मानिसहरू नरम हुनुपर्ने अर्थ लाग्ला । तर वास्तविकता यो पनि हो कि यो नरम पानीले लामो समयसम्म हात धुनुपर्दा, लुगा धुनुपर्दा, भाँडाकुँडा माझ्नुपर्दा र नुहाइधुवाइ गर्नुपर्दा हाम्रो हात–खुट्टा र शरीरलाई राम्रैसँग मिच्नुपर्ने हुँदा राम्रो शारीरिक श्रम पर्न गई हामीलाई सशक्त र कर्मशील बनाउन थप बल प्रदान गरेको छ, प्राकृतिक तवरबाट भन्न रुचाउँछु म ।

यस आलेखमा काठमाडौंबासी बागलुङेहरू किन, कसरी र कहिलेदेखि काठमाडौं उपत्यकाबाट विस्थापित हुन पुगे तथा कहिले र कसरी पुनः काठमाडौं उपत्यकामा पुनःस्थापित हुन सके ? भन्ने सवाललाई प्रकाश पार्ने जमर्को गरिएको छ । यद्यपि प्रस्तुतिका क्रममा यो आलेखकारको लेखनी आफ्नै किसिमबाट फरक धारमा बगिरहेको हुन सक्ने सम्भावनालाई म नकार्दिनँ ।

नेपालको उत्पत्तिको सन्दर्भ र नेवारको सम्बन्ध

पृथ्वी अथवा विश्वको उत्पत्ति तथा मानव समाजको उत्पत्ति र विकासबारे भूगर्भविद् तथा नृशास्त्रीहरूका बीच विभिन्न मतमतान्तर पाइएजस्तै नेपालको उत्पत्तिबारे पनि विभिन्न अन्वेषक र विद्वान्का आ–आफ्नै विचार र तर्क पाइन्छ ।

नेपालको नाम मूलतः यसको वर्तमान राजधानी काठमाडौंको भौगोलिक स्वरूपका आधारमा तय गरिएको हुनुपर्ने अनुमान छ । काठमाडौंको भू–बनोटबाट यो स्पष्ट छ कि प्राचीन कालमा नेपाल खाल्डो एउटा ठूलो तलाउ (नागदह) का रूपमा थियो । काठमाडौंको चोभारको गल्छी फुटेर यहाँको तलाउको पानीले निकास पाएपछि नै यहाँ मानवबस्तीको विकास हुन सकेको आँकलन गरिएको पाइन्छ ।

हिन्दू धर्मावलम्बीले विश्वास गर्ने जनश्रुतिअनुसार भारतको द्वारकादेखि भगवान् कृष्ण आप्mना ग्वालाहरूको समूहमाका आई चोभारको गल्छी फुटालेका थिए ।

बौद्ध धर्मावलम्बीहरूले विश्वास गर्ने जनश्रुतिलाई आधार मान्ने हो भने नेपालको उत्तरमा रहेको चीनबाट बोधिसत्त्व मञ्जुश्रीले आप्mना अनुयायीहरूका साथ आई यो गल्छी फुटालेका थिए ।

दुवै जनश्रुतिबाट यो विश्वास गर्न सकिन्छ कि परापूर्व कालमा नेपाल (काठमाडौं) उपत्यका एउटा महाकुण्डका रूपमा थियो । चोभारको गल्छी फुटेर यहाँको पानी सुकेपछि यो तलाउको वरपरका डाँडाकाँडामा बसोबास गरिरहेका मानिस उपत्यकामा झरेपछि नै मानव बस्तीको विकास हुन सकेको हो ।

यो देशको ऐतिहासिक पृष्ठभूमितर्फ फर्केर हेर्दा ‘नेपाल’ भन्ने नामले विभिन्न कालखण्डमा फरकफरक भूभागको प्रतिनिधित्व गरेको पाइन्छ ।

प्राचीन समय र मध्ययुगमा यो नामले काठमाडौं उपत्यका र यसको आसपासका क्षेत्रलाई मात्र बुझाउँथ्यो ।

(मार्क ग्याबरियो तथा जेरार्ड तोफाँ : प्रस्तावना, हख) हाम्रो देश नेपालको नामकरणका बारेमा विभिन्न राष्ट्रिय–अन्तरराष्ट्रिय अनुसन्धाता र इतिहासविद्हरूले आ–आफ्नै तर्क पेस गर्ने गरेका छन् । कसैले यो नाम भाषागत आधारमा त कसैले ऐतिहासिकता र जातिगत नामका आधारमा रहेको हुनुपर्ने जिकिर गरेका छन् ।

१) प्राचीन समयमा नेपालमा गोपालवंशीहरूले शासन गर्दथे जसलाई ‘नेपा’ भनिन्थ्यो । पछि यसको नाम नेपाल हुन गयो ।

२) तिब्बती भाषामा ‘ने’ को अर्थ ‘घर’ र ‘पाल’ को अर्थ ‘ऊन’ हुन्छ । कुनै समयमा काठमाडौं उपत्यकामा बाख्रापालन गरिन्थ्यो । यस प्रकार ‘ऊन पाइने ठाउँ’ का रूपमा नेपाल नाम रहन गएको मानिन्छ ।

३) नेवारी भाषामा ‘ने÷ङे’ को अर्थ ‘मध्य/केन्द्र’ र ‘पा’ को अर्थ ‘देश’ भन्ने बुझिन्छ । आज पनि कतिपय नेवारहरू नेपाललाई ‘ङेपा/नेपा’ भन्ने गर्दछन् । यस प्रकार मध्य भूभागमा रहेको देश भन्ने अर्थमा ‘ङेपा/नेपा’ भन्ने गर्दागर्दै नेपाल भएको हुनुपर्ने तर्क पनि पाइन्छ ।

४) परापूर्वकालमा यो भूभागमा बगिरहेका पवित्र नदीहरू बागमती र विष्णुमतीको किनारमा ‘ने’ नाम गरेका एक ऋषि रहन्थे । उनले बेलाबखत यहाँका शासकलाई राज्य सञ्चालनमा समस्या आइपर्दा आवश्यक सल्लाह–सुझाव दिने गर्दथे । त्यसैले यो देशको नाम उनैको सम्झनामा नेपाल रहन गयो ।

५) लेप्चा भाषा/भाषिकाअनुसार ‘ने’ को अर्थ पवित्र र ‘पाल’ को अर्थ गुफा हुन्छ । यसअनुसार हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा यस देशको नाम ‘नेपाल’ रहन गएको हुनुपर्ने अनुमान गरिएको पाइन्छ ।

नेवार जातिको प्राचीन अवस्थासम्बन्धमा विभिन्न स्वदेशी तथा विदेशी विद्वान्हरूले गरेका खोज तथा व्यक्त विचारका आधारमा नेवारहरू नेपालमा प्राचीन कालदेखि नै बसोबास गर्दै आएको तथ्य पुष्टि हुन्छ ।

हेमिल्टनको अध्ययनअनुसार भाषा वंशावलीको अध्ययनबाट नेपाल आवाद गर्ने मञ्जुश्री बोधिसत्त्व स्वयम् महाचीनबाट आप्mना थुप्रै शिष्यका साथ आएका थिए । नेवारहरूको भाषा, शारीरिक सुगठन, कलाको मिलान आदिले गर्दा नेवार जाति विशुद्ध मंगोल हुन् । (प्रधान : ३)

नेवार सभ्यताको ऐतिहासिक र भौगोलिक केन्द्र पहाडी उब्जाउ जमिन काठमाडौं उपत्यका नै हो ।

प्राचीनकालको अन्त्य र मध्यकालको इतिहास केलाउँदा तत्कालीन नेपाल उपत्यकाको पूर्वतर्फ र पश्चिमतर्फ गरी क्रमशः साना–साना बाइसी र चौबीसी राज्यहरूमा विभक्त रहेको देखिन्छ भने नेपालको वर्तमान भौगोलिक, सामाजिक र राजनीतिक स्वरूपबाट यो एक सानो राष्ट्र हुनुका साथसाथै एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र रहिआएको प्रमाणित हुन्छ । विश्वमै अलग जातीय विशिष्टता कायम गरेको यो देशमा कुनै पनि जातिको बाहुल्य छैन । यो नेपालको आप्mनै मौलिक पक्ष हो । (प्रधान : १–२)

भाषा वंशावलीअनुसार नेवार ब्रह्मपुत्र क्षत्री हुन् । यिनको आदि निवासस्थल दक्षिण भारतको नायर प्रदेश हो । १२औं शताब्दीमा नेपाल आई आप्mनो राज्य कायम गर्ने कर्नाटवंशी राजा नान्यदेवको साथमा नेवारहरू नेपाल आएका हुन् भन्ने भनाइ पनि रहेको पाइन्छ ।

वेनसेन्ट स्मिथले भाषा वंशावलीको यही कथनलाई आधार मान्दै नेपालमा निर्मित प्यागोडा शैलीका मन्दिरहरू भारतको दक्षिणमा अवस्थित कन्नड प्रदेशको मलावारमा निर्मित जैन मन्दिरसँग मिल्दाजुल्दा भएकाले नेवारहरू दक्षिणबाटै आएको हुनुपर्छ भन्ने अनुमान लगाएका छन् । तर नेपालका यी मन्दिरहरू सातौं–आठौं शताब्दीतिरै बनिसकेको हुँदा प्राप्त ऐतिहासिक तथ्यका आधारमा भाषा वंशावली र वेनसेन्ट स्मिथको यो अनुमान अनुमानमै सीमित रहन जाने देखिन्छ । (प्रधान : ३)

कर्कप्याट्रिकको विचारमा नेवार स्वतन्त्र जाति हो । नेवार शब्दको व्युत्पत्ति यस जातिको मूल निवासस्थल नेपालमा भएको हो । डा. डिल्लीरमण रेग्मीका अनुसार क्राइस्ट जन्मनुभन्दा ६ सय वर्षअगाडि नेवारहरू देखा परेका छन् । (प्रधान : ३)
डा. कमलप्रकाश मल्ल भन्नुहुन्छ, नेवारहरू जति पुराना छन् ‘नेपालभाषा’ पनि त्यति नै पुराना छन् । (प्रधान : ३) विद्वान्हरूको भनाइ यो पनि छ कि प्राग्–ऐतिहासिक कालमा तत्कालीन नेपाल खाल्डो (वर्तमानमा काठमाडौं उपत्यका) मा ग्वाला/गोपालीहरू (मधेस/तराईको शब्दमा आभीर/आहिर/यदुवंशी यादव) ले पहिलो बस्ती बसालेका थिए ।

उनीहरूमध्येका भुक्तमान भन्ने व्यक्तिले यो ठाउँको पहिलो राजा भई शासन गरेका थिए । यिनै गोपालीहरूको वंशलाई नै गोपालवंशी (गाईपालकहरूको वंश) र यो वंशसँग सम्बन्धित वंशावलीलाई गोपाल वंशावलीका रूपमा व्याख्या गर्ने गरिएको पाइन्छ । यसपछि अहिर/महिषपालवंशी (भैंसीपालकहरूको वंश) ले राज्य गरे । यी गोपालवंशीहरू र अहिर/महिषपालवंशीका सन्तानहरू नै नेवार समुदायका वर्तमान ‘साःपु’ (गाईपालक) र ‘मेपु’ (भैंसीपालक) हुन् भन्ने कुरामा इतिहासविद्हरूको विश्वास रहेको छ । (डा. श्रेष्ठ : ६)

यस प्रकार नेपालमा विभिन्न कालखण्डमा लिच्छविहरू, किरातहरू, मध्यकालमा नेवार मल्लराजाहरू र बाइसी–चौबीसी राजारजौटाबाट शासन हुँदै आएको तथ्य नेपालको ऐतिहासिक पृष्ठभूमिको अध्ययनबाट स्पष्ट हुन्छ ।

केही विद्वान्ले नेवार र नेपार शब्द उच्चारणका क्रममा ‘र’ को उच्चारण गर्न कठिन हुन गई ‘नेपाल’ भएको हुनुपर्ने अड्कल पनि गर्दछन् । हुन पनि आजपर्यन्त काठमाडौं उपत्यकादेखि बाहिरका कतिपय नेवार समुदायका नेपालीहरू काठमाडौं जानुपर्दा कहाँ जाने भनेर सोध्यौं भने ‘नेपाः वनिउ’ भन्ने गर्दछन् । जस्तो आजभोलि बागलुङ जिल्लाका विभिन्न गाउँ तथा पालिकामा बस्ने मानिसहरू बागलुङ बजार आउँदै छन् र उनीहरूलाई ‘कहाँ जाने’ भनेर सोधियो भने कसैले पनि ‘बागलुङ बजार जाने’ भन्दैनन् बल्कि ‘बागलुङ जाने’ भन्ने जवाफ दिन्छन् ।

काठमाडौं उपत्यकाबाट बागलुङलगायत विभिन्न स्थानमा स्थानान्तरित हुने र विस्थापित भई जाने जातिमा मूलतः नेवारकै बाहुल्य पाइन्छ । यसबाट पनि नेपाल खाल्डो नेवारहरूकै आदिभूमि रहेकोमा शङ्का रहन्न ।

नेपालको मल्लकालको अन्त्यतिर आधुनिक कालको प्रारम्भमा आएर गोरखाका महत्त्वाकांक्षी राजा पृथ्वीनारायण शाहले उपत्यकाका कान्तिपुर (काठमाडौं), ललितपुर (पाटन) र भादगाउँ (भक्तपुर) माथि विजय हासिल गरे ।

पृथ्वीनारायणले काठमाडौंलाई एकीकृत राज्य नेपालको राजधानी बनाएपछि उपत्यकामा बस्दै आएका मुसलमान र क्रिस्चियन समुदायलाई देश निकालाको घोषणा गरे । केही मुसलमान र क्रिस्चियनहरू भारतको बेतियामा गई बसोबास गरे भने केही उपत्यकाभित्रकै नेवार समुदायमा विलीन भई नेवारी भाषा, संस्कृति, र संस्कार अपनाई उपत्यकावासी बने ।

कतिपय स्वाभिमानी नेवारहरू उपत्यकादेखि विभिन्न स्थानमा स्थानान्तरण भई जाँदा वा विस्थापित हुनुपर्ने अवस्था सिर्जना हुँदा तिनीहरू आफ्ना दाजुभाइ, कुल–कुटुम्ब, इष्टमित्र र मिल्ने साथी–भाइ भई एउटा समूह नै बनाएर स्थानान्तरित स्थलमा आ–आफ्ना भाषा, धर्म, सामाजिक संस्कृति–संस्कार, कला–कौशल र रीतिस्थितिसमेत लिएर गए ।

पृथ्वीनारायणको देहावसानपछि मुख्तियार बहादुर शाहले पूर्वपश्चिम दुवैतर्फ हमला गरी यसको सिमाना विस्तार गरे । यस देशमा करिब २४० वर्षसम्म शाहवंशको अकण्टक शासन चल्यो । त्यसो त वि. सं. १९०३ मा जङ्गबहादुर कुँवर (राणा) ले श्री ३ महाराजको पदवी हत्याउन सफल भएपछि राणाहरूले १०४ वर्षसम्म जहानियाँ शासन चलाए ।

उपत्यकाबाट नेवारहरूको स्थानान्तरण
उपत्यकामा रहँदा कुनै नेवारहरू राजाका रूपमा कोही मन्त्रिमण्डल निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काजीका रूपमा थिए भने कोही राजप्रासादको भण्डारको रेखदेख र रक्षा गर्ने कार्यमा संलग्न ।

धेरैजसो नेवारहरू कृषि–व्यवसायमा संलग्न थिए भने केही व्यापार–व्यवसाय, उद्योगधन्दा र कलकारखानामा संलग्न थिए । गोरखाका राजा राम शाह (सन् १६०९–१६३३) ले पाटनका राजा सिद्धिनरसिंह मल्लसँग मैत्रीपूर्ण सम्बन्ध जोडेर त्यहाँको २४ कोठीका नेवार व्यापारीहरूलाई आफ्नो राज्यमा ल्याई गोरखा बजारको दरिया टोलमा कुनै पनि कसुर (कर) नलिने गरी व्यापार व्यवसायको विकास गर्ने अवसर दिएका थिए ।

त्यतिखेर नेवारका यी २४ परिवारका साथ अरू नेवार पनि त्यता गएको इतिहासविद्हरू बताउँछन् । (डा. तुलाधर र अरू : २३–२४) यसबाट कोही नेवारहरू आफ्नो व्यापार–व्यवसायको विस्तार र सहज आजीविकाका लागि काठमाडौं उपत्यकादेखि केही टाढाका स्थान जहाँ व्यापार–व्यवसायको राम्रो सम्भावना देखे, त्यतै स्थानान्तरित हुन इच्छुक रहेको देखिन्छ । वि. सं. १८६२ मा काठमाडौं उपत्यकामा शीतलामाई रोगको महामारी फैलियो । यो बेला आपूm र आफ्ना जहानपरिवार तथा बालबच्चाको रक्षाका लागि कतिपय नेवारहरू काठमाडौं छाड्न बाध्य हुन पुगेका थिए ।

कतिपय नेवारहरू सांस्कृतिक रूपमा उपत्यकाभित्रको संस्कार अर्थात् गर्भावस्थादेखि मृत्युपर्यन्तका रीतिरिवाज, चाडपर्व र उत्सवमा अपनाउनुपर्ने जीवन–पद्धतिलाई सहज तवरबाट आत्मसात् गर्न नसकेको कारणबाट पनि बाहिर जान बाध्य भएको चर्चा स्थानान्तरित भएका नेवारका पूर्वजहरूले गरेको तथ्य सुन्नमा नआएको होइन । यस प्रकार उपत्यकाबाट बाहिरिने नेवारमध्ये कोही व्यापार–व्यवसायको सिलसिलामा त कोही उपत्यकामा उत्पन्न महामारीबाट बच्न र कोही राजनीतिक उत्पीडनका कारण तथा कोही सामाजिक, सांस्कृतिक तथा आर्थिक कारणबाट स्थानान्तरित हुन पुगेको पाइन्छ ।

बागलुङको नामकरण
यहाँ बागलुङ समाजको चर्चा गर्ने सिलसिलामा बागलुङको नामकरणपछाडिको ऐतिहासिक पृष्ठभूमिबारे छोटो प्रकाश पार्नु सान्दर्भिक ठान्दछु । बागलुङको नामकरणबारे विभिन्न श्रुति–स्मृति र किंवदन्तीका आधारमा फरकफरक भनाइ पाइन्छन् । कसैले यहाँ घना जङ्गल र ओढारहरू भएकाले बाघको वासस्थान हुन सक्ने आँकलन गरी ‘बाघ लुङ’ भन्दाभन्दै बागलुङ भएको हुन सक्ने बताउँछन् भने कसैले बाग–बगैंचाको पुञ्जको अर्थमा बागलुङ भन्ने गरिएको अनुमान गर्दछन् ।

कोही मूलपानीमाथि रहेको ‘बउलुङ’ भन्ने स्थानको नामबाट बागलुङ हुन गएको पनि बताउँछन् ।

इतिहासविद्हरूका अनुसार यो शब्द तिब्बेतो–बर्मिज भाषाबाट आएको हो । त्यसैले मस्र्याङ्दी नदीदेखि प्युठानसम्मको यो प्रदेशमा मगरहरूको बाहुल्य रहेको र तिब्बती (भोटे) भाषाबाट विकसित मगर भाषामा ‘बाङ’ को अर्थ केही उच्च र ‘लुङ’ शब्दले समथर भूभाग भन्ने बुझाउने हुँदा ‘बाङलुङ’ बाटै बागलुङ भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

हुन पनि यो स्थान प्रसिद्ध कृष्णागण्डकी प्रश्रवण क्षेत्रको उच्च समस्थली भूभागमा पर्ने र यो भेगका कतिपय टार अथवा सम्म स्थान भएका पाङ, नागलिबाङ, खरबाङ, बुर्तिबाङ, बोबाङ, दरबाङ, रनबाङ, आदि तिब्बती भाषाबाट विकसित मगर भाषामा आधारित नाम रहेबाट यसको नाम पनि ‘बाङ लुङ’ हुँदै बागलुङ भएको हुन सक्ने अड्कल पनि छ । मैत्रेय : ३–४) कसैले यो शब्द संस्कृत शब्द ‘व्याघ्र+लुञ’ बाट अपभ्रंश भई ‘व्याघ्रलुँ’ हुँदै बागलुङ भएको हुन सक्ने बताएका छन् । (छोटा ः १७) तथापि यसको नामकरणपछाडिको यथार्थ कारण भने आज पनि खोजीकै विषय बनेको छ ।

नेवारहरूको बागलुङ स्थानान्तरण
नेवारहरूमा मन्दिरै–मन्दिरको सहरका रूपमा विकसित काठमाडौं उपत्यकाको गहिरो धार्मिक छाप रहेको थियो । त्यसैले यिनीहरू जहाँ–जहाँ गए कुनै न कुनै मठ–मन्दिरको निर्माणमा संलग्न रहे । बस्तीको विकास गरे ।

व्यापार, व्यवसाय र उद्योगको विस्तारमा योगदान गरे । यसका साथै विभिन्न लोककला, लोकसंस्कृति, आफ्नो मातृभाषा नेपाल भाषाको समेत प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान गरे । त्यो चाहे बागलुङ होस् वा पाल्पा, पोखरा होस् वा दोलखा, भोजपुर होस् वा इलाम, हरेक ठाउँमा गणेशजी, भीमसेनजीको मन्दिर, पूजाआराधना, भजन–कीर्तन तथा परम्परादेखि चलिआएको नाचगान र कलाकौशललाई निरन्तरता दिन कुनै कसर बाँकी राखेनन् ।

सायद यसैको प्रतिफल भन्नुपर्छ, काठमाडौं उपत्यकामा लोपोन्मुख अवस्थामा रहेको माक प्याखँ (हनुमान् नाच), जोगी नाच, रोपाइँ नाच आजपर्यन्त बागलुङ बजारमा जीवित छन् । त्यस्तै लाखे नाच देशका विभिन्न भूभाग भोजपुर, हेटौंडा, चितवन, बागलुङ बजार, नागनागिनी नाच बेनीबजार, कुस्मा बजारमा आज पनि स्थानीय नेवार समुदायले संरक्षण गरी प्रदर्शन गर्ने गरेको पाइन्छ ।

बागलुङमा प्रदर्शन हुने गरेका नागनागिनी नाच, सिकारी नाच, धान नाच, थेटर नाचजस्ता परम्परागत लोकसंस्कृति भने आज घरघरमा टीभी, हातहातमा नयाँ प्रविधियुक्त एन्ड्रोइड मोबाइलको सुविधा भित्रिएसँगै विलुप्त भइसकेका छन् ।

यो लोकसंस्कृतिप्रेमीहरूका लागि ठूलो चिन्ताको विषय बन्न पुगेको छ ।

खैर, बागलुङ समाज कल्याण केन्द्रले बागलुङको हनुमान् नाचलाई काठमाडौं उपत्यकासम्म आमन्त्रण गरी यस लोकसंस्कृतिको महत्त्व बागलुङमा मात्र नभई नेपालको राजधानी काठमाडौं तथा यसको उद्गम स्थल भक्तपुरका लागि समेत रहेको हुँदा यसको संरक्षण र संवद्र्धनका लागि सदा क्रियाशील बन्न बागलुङेहरूलाई सचेत पारेको अनुभूति भएको छ । जोगी नाच र रोपाइँ नाच पनि काठमाडौं उपत्यकामा प्रदर्शन गर्नुपर्ने खालका लोकसांस्कृतिक नृत्यमा पर्दछन् ।

राजा पृथ्वीनारायण शाहसँगको युद्धमा प्रताडित नेवारहरू तिनका आफन्तहरूमाथि गरिएको अपमानजनक व्यवहार सहन नसकी पूर्वको दोलखा, धनकुटा, भोजपुर, चैनपुर, विराटनगर, इलाम, ताप्लेजुङ एवम् भारतको दार्जिलिङ, कालिम्पोङ र भुटानसम्म र कोही नेपालकै पश्चिम दिशाका पाल्पा, बन्दीपुर, पोखरा र बागलुङ, कुस्मा, बेनीमा समेत विस्थापित भई बसोबास गर्न पुगेको देखिन्छ ।

यहाँ विशेषतः बागलुङे नेवारहरूको चर्चा गर्नुपर्ने भएकाले अब म त्यतैतिर केन्द्रित हुँदै छु ।

आजभन्दा ६०/७० वर्षअघिको बागलुङ बजारमा बसोबास गर्ने बासिन्दाहरूको अवस्थितिको चिरफार गर्ने हो भने यहाँका करिब २०० कुरिया घरमध्ये ५/६ घर थकाली समुदायका, १ घर बाँसकोटा परिवारको र १ घर कोइराला परिवारकोे थियो भने अरू सबै श्रेष्ठ, राजभण्डारी, वझान्थाक्षे, मलेपती, प्रधान र शाक्य समाजका सदस्यहरूको घर थियो ।

बागलुङमा दुई नेवार दाजुभाइ थिए धन्जुसिंह र छत्रसिंह । तीमध्ये जेठा धन्जुचाहिँ वि. सं. १७६८/६९ मा बागलुङ आउने नेवारमध्ये पहिलो थिए । (छोटा : ८) हाम्रो वंशावलीको प्रारूपका आधारमा काजी खलः वि. सं. १८४० को दशकमा आएको हुनुपर्ने देखिन्छ ।

राजभण्डारी खलःका अध्यक्ष काजी रोशनसँग बुझ्दा राजभण्डारी खलःको पूर्वज वि. सं. १८६२ तिर आएको भन्ने जानकारी प्राप्त भयो । यो इतिहासको वास्तविक आधार र प्रामाणिकता उपलब्ध हुन नसक्दा हामी सबै अलमलिइरहन बाध्य छौं ।

अन्दाजको आधारमा अगाडि बढ्न बाध्य भएका हामीलाई सत्यतथ्यको नजिक पुग्नका लागि उपत्यकाका अन्वेषक, इतिहासकार, पुरातत्त्वविद् र संस्कृतिविद्हरूको सद्भाव, सदाशय र सहयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सवालमा दुई मत नहोला ।

उपत्यकावासी अनुसन्धाता र इतिहासविद्हरूबाट उपत्यकाका विभिन्न थरका नेवारहरूको बागलुङतर्फ विस्थापन किन, कहिले, कसरी र कहाँबाट भयो भन्ने सम्बन्धमा विस्तृत अन्वेषण गर्नमा सकारात्मक सहयोग मिल्नेछ भन्ने अपेक्षा गर्दछौं पनि ।

 

इतिहासविद्हरूका अनुसार भक्तपुरका राजा रणजितसिंंह मल्लका भित्रिनीपट्टिका छोरा अवधूत सिंह करिब वि. सं. १८४० मा बागलुङ आई बसेका थिए ।

उनले बागलुङचौरको उपल्लाचौरमा तेलिया इँट, झिँगटी र कलात्मक काठको खाँबो र झ्याल भएको भव्य दरबार बनाएका थिए । (श्रेष्ठ : ७, मङ्का इनाप) भनिन्छ– यिनले पर्वतका राजा कीर्तिबम मल्लसँग मिली राजा पृथ्वीनारायण शाहका विरुद्ध प्रत्याक्रमणको प्रयास गरेका थिए । (श्रेष्ठ : ८०–८१)

उपत्यकादेखि बाहिर जाने क्रममा बागलुङलाई कर्मथलो बनाउन बाध्य भएका नेवारहरू प्रायः भादगाउँबाट आएका देखिन्छन् । भादगाउँको खौमाटोल डोको छेँबाट साहू खलः, सुकुलढोकाबाट मलेपती खलः, ब्वलाछेँबाट राजभण्डारी खलः, खुम्बुबाट पसः खलः, इकुछेँबाट पाण्डौ खलः, सुन्डाँडाबासी सँय्जु खलः भादगाउँबाट (श्रेष्ठ : ७, मङ्का इनाप), स्व. मुक्तिप्रसाद प्रधानाङ्गका अनुसार काजी खलः च्वछेंबाट (प्रधान : ६) ।

यसरी नै कसः (बगाले) खलः बनेपाबाट, शाक्यहरूका कर्मी खलः पाटनबाट, र रामलाल शाक्यको पुर्खा काठमाडौं चोभारबाट आएको देखिन्छ । साथै कोही दोलखा, पनौती, नाला, धुलिखेलबाट त कोही उपत्यकादेखि गुल्मीको गेवाडी, रूपन्देहीको बेठरी, बन्दीपुर र पोखरा हुँदै आएका पनि बताइन्छ । (श्रेष्ठ : ७, मंका इनाप) तर पहिलो नेवार को हुन् भन्ने तथ्य हाम्रा सामु उपलब्ध नहुँदा यो खोजीकै विषय छ ।

बागलुङमा आएका नेवारहरूको विशेषता भन्नुपर्दा उनीहरू धर्मकर्ममा विश्वास गर्दछन् । हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बी दुवै एकआपसमा श्रद्धाभाव राख्दछन् र दुवै विभिन्न मन्दिर र विहारमा गई पूजाआजामा सरिक हुन हिचकिचाउँदैनन् ।

उनीहरूले आपूm बस्दै आएको स्थलमा विभिन्न मठ, मन्दिरको स्थापना गरी भजन–कीर्तनमा संलग्न हुने गरेका छन् । यस्तै चाडपर्वका बेला मेला–महोत्सवको आयोजना गर्दै सम्बन्धित स्थलमा आवश्यकीय वस्तुको आपूर्ति गरी व्यापारिक गतिविधिको माध्यमबाट स्थानीय बासिन्दाको आवश्यकता परिपूर्ति गर्नुका साथै आफ्नो आजीविका पनि चलाउँदै आइरहेका छन् ।

तत्कालीन पर्वत राज्यकै सबभन्दा ठूलो मेला बागलुङचौर भगवतीस्थानमा लाग्दथ्यो । यो मेला आजभन्दा ३५/४० वर्षअघिसम्म १०/१५ दिनसम्म जम्थ्यो तर हाल बागलुङका नेवारहरू काठमाडौं, बुटवल, भैरहवा, पोखरा, नारायणगढ आदि सहरहरूमा स्थानान्तरित भएको र गाउँ–गाउँमा सानो–सानो पसल सञ्चालन हुन थालेपछि यो मेलाको समयका साथै यहाँको व्यापार पनि घट्दो छ ।

विस्थापित नेवारहरूको काठमाडौं उपत्यकामा पुनःस्थापना
बागलुङमा स्थापित नेवार तथा शाक्यवंशीहरू कोही अध्ययनका सिलसिलामा, कोही जागिरका सिलसिलामा, कोही स्वास्थ्य परीक्षणका क्रममा त कोही व्यापार÷व्यवसायको विस्तारका लागि आफ्नो ७/८ पुस्ताअघिको पुख्र्यौली थलो काठमाडौं उपत्यकातर्फ प्रवेश गर्न थालेको देखिन्छ ।

काठमाडौं रहँदा–बस्दा केही नेवारहरूले त्यहीँ आफ्नो वैवाहिक सम्बन्ध जोड्न पुगे र त्यतै पुनःस्थापित हुने जमर्को गरे ।

यसरी सुरुमा वि. सं. १९८४ तिर लक्ष्मीनरसिंह राजभण्डारी, २००६ सालमा गोविन्दलाल श्रेष्ठ, र २००८ सालमा श्यामसुन्दर गुभाजू काठमाडौं टेकेका थिए ।

त्यस्तै डम्बरनर्सिंह राजभण्डारी २०१४ सालमा, डा. तेजकुमार श्रेष्ठ २०१५ सालमा र दिलविकास राजभण्डारी २०१८ सालमा काठमाडौं पुनःस्थापित भएको पाइन्छ । (मङ्काः इनाप : १५६–१५९) बागलुङको बजार सानो छ तर चिटिक्क परेको छ ।

त्यसैले यहाँका घर–घडेरी महँगा छन् । यसैले पनि कतिपय बुझक्कड बागलुङे नेवारहरू ‘यति पैसा हाल्ने हो भने त काठमाडौंमै पाइन्छ नि ।

जे भए पनि त्यो भनेको देशको राजधानी हो । त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार व्यवसायको अवसर बागलुङमा भन्दा त बढी नै उपलब्ध हुन सक्छ’ भन्ने विचार र मान्यताका कारण काठमाडौं उपत्यकातर्फ हानिएको पाइन्छ ।

हुन पनि करिब वि. सं. २०३० देखि २०६० सालमा काठमाडौंमा विभिन्न ठाउँका बासिन्दाहरूले जग्गा किन्ने क्रममा मोलतोल हुँदा ‘जग्गाको मोल कि त मनाङेहरूले दिन्छन् कि बागलुङेहरूले’ भन्ने भनाइ पनि थियो ।

कोही–कोही नेवारहरू वि. सं. २०२७/०२८ देखि २०३५/०३६ मा तत्कालीन तानाशाही पञ्चायती व्यवस्थामा राजनीतिक आस्थाका कारण प्रताडित भए । उनीहरू काठमाडौं उपत्यकामा गएपछि ‘सागरमा गागर भर्न सजिलो होला’ कि भन्ने आशाको किरण बोकी बागलुङदेखि काठमाडौंमा स्थानान्तरित हुन पुगेको पनि पाइन्छ ।

बागलुङ समाज कल्याण केन्द्रको स्थापना र यसका गतिविधि

बागलुङ समाज कल्याण केन्द्रले संस्थाका तर्फबाट स्मारिका प्रकाशन गर्ने जमर्को गरिरहँदा यो संस्था स्थापनाको पृष्ठभूमिबारे चर्चा गर्नु जरुरी देखेर नै विश्वको उत्पत्ति, नेपालको उत्पत्ति तथा यसको ऐतिहासिक पृष्ठभूमिसमेत केलाउने कसरत गरिएको हो ।

सामाजिक संस्कारका बीच हुर्केको प्राणी भएको नाताले मानव–जगत्ले आपूm जहाँजहाँ गयो त्यहाँत्यहाँ आ–आफ्नो छुट्टै समुदाय, समाज, गुठी आदि निर्माण गर्दै आपूmलाई सामुदायिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र धार्मिक दृष्टिबाट क्रियाशील बनाई अगाडि बढ्ने गरेको पाइन्छ ।

यसै क्रममा काठमाडौं उपत्यकाबाट विविध कारणले विस्थापित भएका खास गरी नेवार समुदाय जो विभिन्न कारणबाट पुनः काठमाडौंमा पुनःस्थापित हुन पुगे, तिनीहरूले काठमाडौंमा पुनःस्थापनका क्रममा भोग्नुपरेका समस्यासँग सामना गर्ने उद्देश्यले बागलुङ समाज कल्याण केन्द्र, काठमाडौं स्थापना गरे ।

प्रारम्भमा आफ्नो अस्तित्वको रक्षा गर्न, आफ्ना सामाजिक, सांस्कृतिक संस्कारलाई निरन्तरता दिनका लागि स्थापना भएको यो संस्था आजको समयमा आइपुग्दा सशक्त रूपमा खडा हुन पुगेको छ ।

आफ्नो पुख्र्यौली थलो काठमाडौं उपत्यकादेखि विविध कारणबाट बसाइँ सराइ गरी बागलुङ पुगेका यसबीचका बागलुङेहरूले बागलुङ समाज कल्याण केन्द्रलाई एक फरक सोच र लक्ष्यका साथ विकास गर्न सकेको एक सशक्त सामाजिक संस्थाका रूपमा स्थापित गर्न सकेको देखिन्छ ।

वि. सं. २०३८ मा गोकर्णमा आयोजित भेलाबाट गठित यस समाजको तदर्थ समितिको संयोजकमा डा. रामकुमार श्रेष्ठ, सदस्यहरूमा दिलविकास राजभण्डारी, पुष्पमान श्रेष्ठ, ईश्वरकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहनुभएको थियो । वि. सं. २०३९ मा बालाजुमा आयोजित भेलाले डा. रामकुमार श्रेष्ठको अध्यक्षतामा समाजको नौ सदस्यीय पहिलो कार्यसमिति सर्वसम्मतिबाट गठन ग¥यो ।

यो समाजले बागलुङको कला–संस्कृतिको संरक्षणका अतिरिक्त बागलुङको विशेष पहिचान बोकेका सामाजिक संघ–संस्थाहरू विद्यामन्दिर पुस्तकालय, विद्यामन्दिर माध्यमिक विद्यालय, धवलागिरि बहुमुखी क्याम्पस, धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय, सर्वसिद्धिधाम पञ्चकोट मन्दिर परिसर, कालिका भगवती मन्दिर, ज्ञानोदय बुद्ध विहार, शालग्राम सङ्ग्रहालय आदिको विकासका लागि समेत यथाशक्य योगदान पु¥याइरहेको छ ।

यसरी नै नेपाल भाषा मंकाः खलः बागलुङद्वारा मनाइएको न्हू दँ नेपाल संवत्को कार्यक्रम (ने. सं. ११३०) मा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं, यस केन्द्रको महिला समूह, सिन्ह स्वाँः खलः, ललितपुरबाट भएको सहयोग र सहभागिता उल्लेख्य रह्यो ।

मंकाः खलः बागलुङले आफ्नो स्मारिका ‘मङ्काः इनाप’ प्रकाशन गर्ने तयारी गर्दै गर्दा बागलुङ समाज कल्याण केन्द्रको स्थापनामा विशिष्ट योगदान पु¥याउनुहुने व्यक्तित्वमध्येका श्यामसुन्दर गुभाजू, पुष्पमान श्रेष्ठ, भरतकुमार श्रेष्ठ, सुकुन्द प्रधानले विज्ञापन र सहयोग उपलब्ध गराउनुभएको सन्दर्भलाई सो स्मारिका प्रकाशन समितिको सम्पादक मण्डलको सदस्यको हैसियतले उहाँहरूको योगदानप्रति आभार प्रकट गर्नु सान्दर्भिक ठान्दछु ।

यसले काठमाडौंमा बागलुङे महिलाहरूलाई पनि गोलबन्द पारी भगिनी संस्थाका रूपमा महिला समूह गठन गरेको छ जसले गोंगबु, सामाखुसी क्षेत्रमा सहकारी संस्था सञ्चालन गरिरहेको छ ।

बागलुङ समाज कल्याण केन्द्र तथा बागलुङवासीको जिम्मेवारी
काठमाडौं उपत्यकाबाट विस्थापित वा स्थानान्तरित भई नेपालको पश्चिममा रहेको बागलुङ जिल्लामा स्थापित नेवारहरू पुनः काठमाडौं उपत्यकामा आई पुनःस्थापित भएपछि स्थापना गरिएको बागलुङ

समाजका प्रथम पुस्ता र दोस्रो पुस्तासम्म बागलुङे हुनुमा बागलुङप्रति जुन गर्व र स्वाभिमान तथा अपनत्वको भावना छ, त्यसलाई आजको पुस्ताका बागलुङे बालबालिकाहरूले के कसरी लिइरहेका छन् ? यो यस समाजले सोच्नुपर्ने अहम् सवाल हो भन्ने लाग्छ ।

यी नेवारहरूका ७/८ पुस्ताअघिका मानिस काठमाडौं उपत्यकावासी नै भए तापनि आज यहाँ पुनःस्थापित नेवारहरूको पृष्ठाधार बागलुङ नै भएकाले यिनीहरूमा बागलुङको

हरेक स्थान, बाटो–घाटो, कुना–काप्चा–कन्दरा, पाखा–पखेरा, नदीनाला, छहरा–पँधेरा, मठ–मन्दिर, लोककला, लोकसंस्कृति, संघ–संस्था, दाजुभाइ, कुल–कुटुम्ब, आफन्तजन, सङ्गी–साथीप्रति अपनत्व र आफ्नोपन सशक्त रूपमा गाँसिन पुगेको अनुभूति हुन्छ ।

यसलाई नयाँ पुस्ता अर्थात् बागलुङेका तेस्रो–चौथो पुस्ताका सन्तान र काठमाडौं उपत्यकामा स्थापित हाम्रा छोरीबेटीका सन्तानमा समेत पुस्तान्तरण र हस्तान्तरण गर्न यो समाज र यसको भगिनी संस्था बागलुङ समाज कल्याण केन्द्र महिला समूह पनि लागिपरिरहेको देखिन्छ भने आउँदा दिनमा थप सशक्त रूपमा लाग्नुपर्ने आजको टड्कारो आवश्यकता हो ।

यस सन्दर्भमा बागलुङवासी नेवार तथा गैर–नेवारहरूले पनि यहाँबाट अन्यत्र स्थानान्तरण भएका हाम्रा दाजु–भाइ, दिदी–बहिनी, छोरा–छोरी, भतिजा–भतिजी र भान्जा–भान्जीहरूसमेतको अवस्था, उन्नति–प्रगति, समस्या आदिको जानकारी लिई हाम्रा तर्पmबाट हुन सक्ने सहयोगको आदान–प्रदान सम्बन्धमा चासो हुन जरुरी हुन्छ भन्ने लाग्छ ।

अन्त्यमा, बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंको गतिविधि आगामी दिनमा अझ विस्तारित हुँदै र फस्टाउँदै जाओस्, हार्दिक शुभकामना !

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung