हामीले थाहा पाउँदा अहिलेको बागलुङ बजार पूरै खेत थियो । बागलुङ नगरपालिका–३ मा पर्ने लालीगुराँस चोकदेखि देउरालीचोकतिर बजार थियो ।
अहिले ठूलठूला घर बनेको ठाउँमा धान–मकैको खेती हुन्थ्यो । हामी साथीहरूसँग खेतमा बुर्कुसी मार्दै खेल्थ्यौं ।कालिका मन्दिर भएको ठाउमा घना जंगल थियो । यति बाक्ला रूख हुन्थे कि मन्दिरमा घामको किरण नै पर्दैनथ्यो ।
त्यति बेला बागलुङमा यति बाक्ला बस्ती थिएनन् । घरहरू टाढाटाढा थिए तर मानिसहरूबीचको आत्मीयता नजिक थियो । कसैलाई केही अप्ठ्यारो पर्दा अर्कोले दिल फुकाएर सघाउँथ्यो ।
समाजको त्यही स्वभावका कारण म विद्यालय जाने उमेरदेखि नै समाजसेवामा लागें । हामी मुट्ठीदान संकलन गरेर यहाँको बाटो बनाउँथ्यौं ।
ओमप्रसाद गौचन यहाँको कहलिएका समाजसेवी हुनुहुन्थ्यो ।
उहाँकै प्रेरणाले हामीलाई पनि सामाजिक क्रियाकलापमा दिल खोलेर लाग्ने वातावरण बन्यो । जीवनको सात दशकभन्दा बढी समय पार गर्दा मैले यहाँका दर्जनौं सामाजिक संस्थामा आबद्ध रहेर काम गरें । व्यक्तिगत रूपमा पनि उत्तिकै खटिएँ ।
सामाजिक सेवाको साटो कुनै व्यापार–व्यवसायमा लागेको भए तैंले राम्रो प्रगति गर्ने थिइस् भन्थे मलाई आफन्तहरू । अहिले पनि त्यसै भन्छन् ।जिन्दगी भनेको आज छ, भोलि छैन ।
जति सम्पत्ति कमाए पनि मरेर जाँदा रित्तै हात हो । हामी सामाजिक कार्यकर्ताहरू प्रायः एकलव्य स्वभावका हुँदा रहेछौं । परिवार चाहन्थ्यो– म व्यापार–व्यवसाय गरूँ ।
जागिर खाऊँ । म शिक्षक भएँ । गाविस सचिव पनि भएँ । तर सामाजिक काम गर्ने हुटहुटीले जागिरमा मन रमेन । त्यसपछि स्वयंसेवी संस्थाहरूको नेतृत्व गर्न थालें ।
जागिर वा व्यापारमा रहेको भए धन–सम्पत्ति कमाउँथेँ होला । तर सामाजिक सेवामा लागेर आत्मसन्तुष्टि कमाएको छु ।बागलुङमा पहिलोपटक होलसेल डिलरको स्थापना मैले नै गरेको हुँ ।
तर सामाजिक सेवाबाट जस्तो आनन्द अन्त कतैबाट मिलेन । आफूले गरेको कामबाट अरूले सेवा पाएको देख्दा मन फुरुङ्ग भएर आउँछ । त्यसैले पनि व्यापार छाडेर सामाजिक काममा लागें ।
२०२० सालमा यहीँको विद्यामन्दिर हाइस्कुलबाट एसएलसी पास गरें । त्यति बेला यहाँ उच्चा शिक्षा अध्ययन गराउने क्याम्पस थिएन । पञ्चायती शासन थियो ।
धौलागिरि अञ्चललाई समेट्ने गरी क्याम्पस स्थापना गर्ने कुरा उठ्यो । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा बागलुङमै महेन्द्र मल्टीपल क्याम्पस स्थापना भयो । क्याम्पसका लागि केही जग्गा सार्वजनिक थियो ।
अरू सबै जग्गा किनिएको हो । निर्माण सुरु भएको ६ महिनामा क्याम्पसको भवन तयार भयो । यसका लागि हामी विभिन्न ठाउँ पुगेर सहयोग संकलन गरेका थियौँ ।
छाउने ढुंगा गलकोटबाट ल्याइयो । बागलुङ, पर्वत र म्याग्दी तीनै जिल्लाबाट श्रमदान गर्न मानिसहरू आए । हामीले आफैं इँटा उत्पादन गरेका थियौं । कालीगण्डकीबाट ढुंगा बोक्यौं ।
त्यति बेला समाजमा अनुशासन थियो । सामाजिक काम भनेपछि सबैले सकेको सघाउँथे । बागलुङ मात्र होइन, समग्र धौलागिरिकै जनताको पसिनाबाट ठडिएको हो, अहिलेको धौलागिरि क्याम्पस ।
मैले त्यही क्याम्पसबाट २०२४ सालमा आईए पास गरेँ । यहाँ आईए पढ्ने हामी पहिलो ब्याच थियौं । क्याम्पसमा विभिन्न संकायको पढाइका लागि धरौटी राख्नुपर्थ्यो ।
हामी रातारात स्थानीयसँग सहयोग रकम उठाएर धरौटी बुझाउँथ्यौं । म लामो समय क्याम्पस व्यवस्थापन समितिमा रहेर पनि काम गरेँ । पछिल्लो समय क्याम्पसको सबै खटनपटन त्रिभुवन विश्वविद्यालयले गर्छ ।
अहिले क्याम्पस यहाँका समुदायसँग टाढिँदै गएको अनुभूति हुन्छ । हाम्रो नाम त छ तर भूमिका छैन । विगत समयमा पैंतीस सयसम्म विद्यार्थी हुने क्याम्पसमा अहिले मुस्किलले हजार जना विद्यार्थी हुन्छन् । निजी क्षेत्रबाट पनि कलेजहरू स्थापना भएकाले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी कार्यक्रम बनाउनुपर्छ ।
यहाँ पहिलोपटक रेडक्रसमा आबद्ध हुने पनि मै हुँ । रेडक्रसको अहिलेको कार्यालय भवन हामीले नै सहयोग जुटाएर बनाएका हौं । म नेपाल नेत्रज्योति संघ बागलुङको संस्थापक अध्यक्ष पनि हुँ ।
त्यसैमार्फत बागलुङमा पहिलोपटक आँखा अस्पताल स्थापना गर्यौं । हिमालयन आँखा अस्पताल पोखराको व्यवस्थापन समितिको सदस्यसमेत भएँ । अस्पतालको सहयोगमा हामीले बागलुङमै आँखाका धेरै बिरामीको उपचार गर्यौं ।
नेपाल परिवार नियोजन संघ, लायन्स क्लब अफ धौलागिरि, अस्पताल विकास समितिको अध्यक्ष, नेपाल बाल कल्याण समितिको सदस्य भएर काम गरें ।
बहिरा विद्यालय स्थापना, बलेवामा दृष्टिविहीनहरूका लागि विद्यालय स्थापना गर्ने काममा मैले सक्रियता लिएँ । विभिन्न शैक्षिक तथा धार्मिक संस्थाका लागि सहयोग संकलन गर्न धान्याचल महायज्ञ पनि लगाइयो ।
विद्यालय र विभिन्न सामाजिक संस्थाका लागि भवन, मन्दिर निर्माणलगायत काममा सहयोग जुटाउन सधैं अगाडि रहेँ । मलाई अहिले पनि काठमाडौंमा चिनेको मान्छे कसैले देख्यो भने ‘यो माग्न आएको हो’ भन्छन् ।
तर मैले कहिले पनि आफ्ना लागि मागिनँ, केवल समाजका लागि मागेँ । मैले यसैलाई सामाजिक सेवाको परिचयका रूपमा देखेको छु । सामाजिक काम निस्स्वार्थ भावले गर्ने सेवा हो ।
सामाजिक कार्यकर्ताले मैले यो काम गरेबापत कसैले मलाई केही देला भन्ने सोच राख्न हुँदैन । समाजसेवी हुँ भन्ने व्यक्तिले आफूले गरेको कामको प्रतिफल खोज्नु पाप हो ।
आफूले गरेको कामबाट व्यक्तिगत फाइदाको अपेक्षा राख्ने मान्छे सामाजिक कार्यकर्ता हुनै सक्दैन । कसैले मूल्यांकन गरून्रनगरून्, आफ्नो कर्तव्य छाड्न हुँदैन ।
हामीले त निरन्तर सेवा गरिरहने हो । हिजोआज सामाजिक कार्यकर्ताको परिभाषा नै बदलिएको छ । कसैले टन्न पैसा कमाएर कुनै ठाउँलाई केही रकम हस्तान्तरण गरे ऊ ठूलो समाजसेवी कहलिन्छ ।
समाज पूरै व्यक्तिवादी भएको छ । हरेक मान्छे आफ्ना लागि कमाउन चाहन्छ । आफ्नो परिवारका लागि सम्पत्ति जोड्न चाहान्छ । व्यक्तिवाद हाबी हुँदै गर्दा राज्य कमजोर भएको छ । देशको विकास हुन निस्स्वार्थ दिलले काम गर्ने सामाजिक कार्यकर्ताको खाँचो पर्छ ।
( समाजसेवी श्रेष्ठसँगको कुराकानीमा आधारित )



















































































































































































































