२२ भाद्र २०८३, सोमबार

 

अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो

म्याग्दी स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो ।

नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई दिनमा छोटिएको जानकारी दिए ।

‘नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला दुई दिन हिँड्नुपर्ने बाटो अहिले गाडीमा दुई घण्टामा पार गर्न सकिन्छ’, उनले भने, ‘सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ ।’

अन्नपूर्ण हिमालको आधार शिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको पुर्जाले बताए । विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको पहिचान गरेका थिए ।

पर्यटन विभागले रु दुई करोड ५० लाखभन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ ।

यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

नीलगिरिखोला हाइड्रोपावर प्रालि प्रवर्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्गले पर्यटक र स्थानीयलाई समेत सुविधा पुगेको छ ।

यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । आयोजनाका इन्जिनियर केशव वाग्लेले अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण भएको बताए ।

‘समग्रमा पाँच प्रतिशत भौतिक प्रगति भएको नीलगिरि पहिलोको दुई हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ,’ उनले भने, ‘नीलगिरि क्यासकेडको बाँध र पहिलाको विद्युत्‌गृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाएका छौँ ।

’ दश प्रतिशत प्रगति भएको नीलगिरि क्यासकेडको चार हजार २०० मिटरमध्ये चारवटा अडितबाट दुई हजार २०० मिटर सुरुङ खनिएको नीलगिरि हाइड्रोपावरका साइट कार्यालयका प्रमुख रतन बमजनले बताए ।

नीलगिरि क्यासकेडको दोभिल्नामा विद्युत्‌गृह निर्माण सुरु भएको छ ।१३ अर्ब लागत अनुमान गरिएको सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणमा करिब एक हजार मजदुर परिचालन भएका छन् ।

नीलगिरि पहिलाको विद्युत्‌गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७।४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको तयारी गरेको छ । दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung