छठ पर्व सोमबार विधिवत् रूपमा सुरु भएको छ । सूर्य उपासनाको पर्व छठको तयारीमा मिथिलाका बासिन्दा परिचालित भइसकेका छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दै छन् ।
व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि भने कात्तिक शुक्ल तृतीया अर्थात् आइतबारकै नै सुरु गरेका हुन् । निरामिष सात्त्विक भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु गर्ने परम्परा छ ।
छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी छठी देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि भने महाव्याधि कम भएपछि पर्व मनाउन सहज भएको व्रतालु बताउँछन् ।
छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएका छन् । पर्वमा महिलारपुरुष जसले व्रत गरे पनि हुने विधान शास्त्रीय मत भए पनि धेरैजसो घरका मुख्य महिलाले नै गर्ने गरेका छन् ।
पर्व सुरु भएको मानिने आज सोमबार अर्थात् कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत संकल्प गरेर चोखोनितो खाँदै छन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घरघरमा व्यस्तता बढाएको छ । पूजासामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।
छठमा ठकुवा गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार, भुसुवा कसार र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।
यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को पातगुवो सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेका छन् ।
आइतबार कात्तिक शुक्ल तृतीया का दिन ‘अरबा–अरबाइन’ र आज चौथी तिथि ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरूप खानेछन् ।
यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।
यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।
मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् ।













































































































































































































