२४ बैशाख २०८१, सोमबार

 

राष्ट्र बैंकको निर्देशनपछि सेयर बजारमा हरियाली

नेपाल राष्ट्र बैंकले ब्याजदर औसतमा १० प्रतिशतले मात्र बढाउन निर्देशन जारी गर्दा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । उक्त निर्देशनको भोलिपल्टै सेयर बजारमा हरियाली छाएको हो ।

गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारी र २७ वटै वाणिज्य बैंकका सीईओहरू तरलता व्यवस्थापन, ब्याजदर र वित्तीय प्रणालीका बारेमा छलफलमा जुटेका थिए ।

त्यसैको प्रभावस्वरूप आइतबार खुलेको सेयर बजार सम्हालिँदै साढे १.३८ अंकले मात्र घटेको थियो । लगत्तै आइतबार केन्द्रीय बैंकले दिएको निर्देशनले बजारमा उत्साह थपिएको हो ।

कारोबार खुल्नेबित्तिकै सोमबार १५ मिनेटभित्र बजार सूचक नेपाल स्टक एक्सचेन्ज ९ नेप्से आइतबारको तुलनामा ४० अंकले बढेर २७२९ सम्म पुगेको थियो । तर, त्यसपछि भने बजार केही बढ्ने र केही घट्ने गर्दै अन्तिम समयमा २६.४४ अंकले बढेर २७१५.३५ अंकमा पुगेको छ ।

आइतबारको केन्द्रीय बैंकको निर्देशनपछि बैंकहरू ब्याजदर बढाउने कि नबढाउने भन्नेमा विभाजित छन् । सरकार र केन्द्रीय बैंक र निजी क्षेत्रको मनसाय ब्याजदर नबढोस् भन्ने पक्षमा छन् भने केही बैंकहरू ब्याजदर बढाउने पक्षमा छन् ।

केन्द्रीय बैंकको पछिल्लो निर्देशनले निक्षेपको ब्याजदर १० प्रतिशतमाथि जाने सम्भावना तत्काललाई देखिएको छैन । मंसिरमा निक्षेपको ब्याजदर बढेमा ब्याजको आधार दर बढ्ने त्यसले कर्जाको दरलाई पनि बढाउने सम्भावना रहन्छ । ब्याजदर नबढ्दा भने बजारले केही गति लिन सक्छ ।

सोमबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार ४ अर्ब ९ करोड रुपैयाँमा बजार खुम्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्