५ जेष्ठ २०८१, शनिबार

 

पुटिनले युक्रेनमा हस्तक्षेप चाहे पनि पूर्ण आकारको युद्ध चाहेका छैनन्- बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘हस्तक्षेप गर्न चाहे पनि पूर्ण आकारको युद्ध नचाहेको’ आफूलाई लागेको बताएका छन्।रुसी हमलाको चिन्ताबारे एक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा बाइडनले भने, “मेरो अनुमानमा उनी अगाडि बढ्छन्।

उनले केही गर्नुपर्नेछ।” तर बाइडनले पश्चिमा विश्वको ‘परीक्षा’ लिन चाहेका रुसी नेताले त्यसको ‘गम्भीर मूल्य चुकाउनुपर्ने’ भन्दै चेतावनी दिएका छन्।

अमेरिकी अडान

बाइडनको भनाइपछि पत्रकारहरूले के त्यसोभए अमेरिकाले एउटा सानो हमला स्वीकार्छ भन्ने जिज्ञासा राखेका थिए। ह्वाइटहाउसले त्यसबारे आफ्नो अडान स्पष्ट पार्न पछि एउटा विज्ञप्ति जारी गर्‍यो। जसमा ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले भनेकी छन्, “यदि रुसी सेना युक्रेनभित्र पसे भने त्यो नयाँ हस्तक्षेप हुनेछ र अमेरिका र उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ पाउनेछ।”

बाइडनले युक्रेनमाथि हमला भएमा रुसमाथि अहिलेसम्मै नदेखिएको प्रतिबन्ध लगाइने बताएका छन्।पद सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले आफ्नो छिमेकीमाथि रुसी हमला भएमा त्यसको नतिजा सम्हाल्न नसकिने द्वन्द्वका रूपमा हुने चिन्ता रहेको बताए।

मस्कोका माग

मस्कोले भने हस्तक्षेप अथवा हमलाको तयारी गरिराखेको भन्ने अमेरिकी भनाइलाई अस्वीकार गरेको छ।तर उसले युक्रेनतर्फको सीमामा १ लाखजति सङ्ख्यामा सेना तैनाथ गरेको छ। रुसले पश्चिमा सरकारहरूसँग प्रस्तुत गरेका कयौँ मागमा युक्रेन कहिल्यै नेटोमा नजोडियोस् र उक्त रक्षा गठबन्धनका सैन्य गतिविधि सदस्य देशभित्रै सीमित रहुन् भन्ने छ।

युक्रेन भ्रमण र बर्लिनमा युरोपेली साझेदारसँग भेटेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले शुक्रवार आफ्ना रुसी समकक्षी सर्गेई ल्याभरोभलाई जिनिभामा भेट्दैछन्।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्