२० बैशाख २०८१, बिहीबार

 

यी विद्यार्थी जसले हाम्रो आकाशगङ्गामा रहस्यमय वस्तु पत्ता लगाए

पृथ्वीबाट हेर्दा देखिने आकाशगङ्गाको तस्बिर र ताराको संकेत जस्ले रहस्यमय दोहोरिरहने तर अस्थायी उपस्थितीलाई इंगित गर्दछ।अष्ट्रेलियाका वैज्ञानिकहरूले भनेका छन् तिनीहरूले मिल्की वे भनिने हाम्रो आकाशगङ्गामा अफ्नै अक्षमा घुमिरहेको एउटा रहस्यमय बस्तु फेला पारेका छन् जुन यसअघि थाहा पाइएका कुनै पनि खगोलीय बस्तुसँग मेल खाँदैन।

एकजना विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पहिलोपल्ट फेला पारेका उक्त बस्तुले हरेक १८ मिनेटको अन्तरालमा पूरा एक मिनेट अवधीसम्म रेडिओ उर्जाको ठूलो मात्रा उत्सर्जन गर्ने गरेको पत्ता लगाइएको छ।ब्रम्हाण्डमा यसरी घरीघरी उर्जा उत्सर्जन गर्ने बस्तुहरू प्रायः फेला पर्ने गरेको छ।

तर पूरा एक मिनेटसम्म यो स्तरमा सकृयता देखाउने बस्तु फेला पर्नु एकदमै अस्वाभाविक रहेको अनुसन्धानकर्ताहरू बताउँछन्।अब तिनीहरूको एक टोलीले यो विषयमा थप जानकारी जुटाउन अध्ययन थालेको छ।

विद्यार्थी

टाइरन ओ’ डोहर्टी खगोलशास्त्र अध्ययनका लागि अस्ट्रेलियाको इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्च (आईसीआरएआर)मा स्नातक विद्यार्थीको रूपमा भर्ना हुँदा उनले ब्रह्माण्डमा भएका रेडियो तरङ्गहरूको अनुसन्धानका लागि कम्प्युटर प्रोग्राम बनाउने लक्ष्य लिएका थिए।

तर उनले सन् २०२० को नोभेम्बरमा हाम्रो आकाशगङ्गामा घुमिरहेको एउटा अज्ञात वस्तु देखेपछि त्यसैको अध्ययनमा जुटे।धेरै महिनाको तथ्य परीक्षणपछि उनले पत्ता लगाएको यो खोज गत ज्यानुअरीमा विज्ञान सम्बन्धी जर्नल नेचरमा प्रकाशित भएसँगै सार्वजनिक घोषणा गरिएको छ।

“म केही कोडहरू लेख्ने प्रयासमा लागिरहेको थिएँ। यस्तो रोमाञ्चक खोजमा आइपुग्ने अपेक्षा साँचिनै गरेको थिइनँ,” २२ वर्षीय ओ’ डोहर्टीले बीबीसीसँग भने।“आकाशमा के हुन्छ कसले के गर्छ भन्नेबारे केही पनि थाहै हुँदैन।”“यसले मलाई अनर्स उपाधि सहित स्नातक पूरा गर्न सहयोग गर्‍यो त्यसैले कुनै गुनासो छैन,” ठट्टा गर्दै उनले भने।

क्षणिक देखिने बस्तुहरू

अस्ट्रेलियाको पर्थ सहरबाट कुरा गर्दै ओ’ डोहर्टीले खगोलशास्त्रीहरूले ‘क्षणिक’ वस्तुहरू भन्ने गरेको अन्तरिक्षमा देखिँदै हराउँदै गर्ने वस्तु पत्ता लगाउने प्रविधि विकास गर्न आफू लागिरहेको बताए।यो अध्ययनका लागि उनीसँग धेरै मानिसहरूको सूची थियो तर एक जनालाई पनि भेट्न सकिरहेका थिएनन्।

तर उनले यस्तो कुरा भेटे जसलाई उनको अनुसन्धान केन्द्रले ‘यसअघि कहिल्यै नदेखिएको’ र ‘रहस्यमय’ भएको बताएको छ। यी युवा अस्ट्रेलियालीले यो रहस्यमय घुमिरहने वस्तु बारेमा हामीलाई अहिलेसम्म थाहा भएका कुराहरू बताएका छन्।

यो के हो ?

ओ’ डोहर्टी का अनुसार यो वस्तु के हुनसक्छ भन्नेबारे अहिलेसम्म दुई वटा मान्यता छन्।यसमध्ये एउटाले यो ताराबाट उछिट्टिएर रहेको सेतो सानो ग्रह भएको विश्वास गर्छ।अर्को मान्यताले यो एउटा चुम्बकीय तत्त्व भएको ठान्छ। जुन अत्यन्त शक्तिशाली विद्युतीय क्षेत्र भएको न्युट्रोन तारा हुनसक्छ।तर यसको अनौठो व्यवहारले खगोलशास्त्रीहरूलाई टाउको कन्याउन बाध्य बनाएको ओ’ डोहर्टी बताउँछन्।

यसले हरेक १८ मिनेटमा एक मिनेटसम्म रेडियो ऊर्जा निष्कासन गर्छ।क्षणिक ऊर्जा निष्कासन गर्ने वस्तुहरू ब्रह्माण्डमा सामान्य भए पनि एक मिनेटसम्म यस्तो ऊर्जा फैलाउने वस्तु फेला पर्नु निकै असाधारण हो।“ऊर्जा निष्कासन गर्ने क्षणको अन्तर पनि निकै अनौठो छ,” ओ’ डोहर्टी भन्छन्।त्यसैले यो एउटा बिलकुलै नयाँ आकाशीय पिण्ड हुनसक्ने ठानिएको छ।

यो वस्तुबाट हाम्रोलागि कुनै खतरा छ ?

ओ’ डोहर्टी अहिले पत्ता लागेको कुरालाई नेटफ्लिक्सले हालै सार्वजनिक गरेको व्यङ्ग्यात्मक चलचित्र ‘डोन्ट लुक अप’सँग तुलना हुने ठान्छन्।यो चलचित्रमा एक जना नयाँ खगोलविद्ले एउटा उल्का पिण्ड हाम्रो ग्रहसँग ठोकिन लागेको पत्ता लगाउँछन्।

तर यी अस्ट्रेलियाली युवा यो वस्तुले पृथ्वीलाई ठक्कर दिने कुनै खतरा नभएको बताउँछन्।उनका अनुसार यो रहस्यमयी वस्तु ४,००० प्रकाश वर्ष टाढा छ।“एक प्रकाश वर्ष भनेको प्रकाशले अन्तरिक्षमा एक वर्षमा पार गर्ने दुरी हो। प्रकाशको गति भनेको ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा तीव्र गति हो,” ओ’डोहर्टी प्रस्ट्याउँछन्।यो वस्तुको यात्रा प्रकाशको गतिको छेउछाउ पनि छैन।

‘एलियन’ भेटिएको हो ?

“झट्ट सोच्दा यो ‘एलियन’ पनि हुनसक्छ भन्ने लाग्नु एकदम जायज सवाल हो,” ओ’डोहर्टी भन्छन्।यो खगोलशास्त्रीका भनाइमा उतिनै समयसम्म र एकै अन्तरालमा रेडियो सङ्केत दोहोरिई रहनुले हामी एलियनहरूबाट के अपेक्षा गर्छौँ भन्ने कुराको सम्झना दिलाउँछ।

ब्रम्हाण्डमा अन्य ग्रहका बासिन्दा भएका हुन सक्ने परिकल्पना गरिएका काल्पनिक प्राणी, एलियनहरूको अस्तित्वबारे अध्ययनका लागि सर्च फर एक्ट्रा टेरेट्रियल इन्टेलिजेन्स प्रोजेक्ट (एसईटीआई)ले ठ्याक्कै यस्तै सङ्केतहरूको खोजी गरिरहेको यी युवा बताउँछन्।

तर ओ’ डोहर्टी ले एलियनको खोजी गरिरहेकाहरूका लागि दुख:को कुरा सुनाउँदै यस्ता सङ्केतहरूको थप विश्लेषणले आफूहरूले एलियन नभेटेको “स्पष्ट बनाएको” बताए।अध्ययन सुरु गर्नेहरूका लागि थप प्रस्ट्याउँदै उनले यस्तो सङ्केत तरङ्ग अर्थात फ्रिक्वेन्सीको ठूलो क्षेत्रमा भेटिएको उल्लेख गरे।

ओ’ डोहर्टीले जुटाएको अर्को प्रमाण के हो भने यो रहस्यमयी वस्तुबाट उत्पादित भएको प्रकारको ऊर्जा “केवल प्राकृतिक स्रोतले मात्रै उत्पादन गर्न सक्छ”।उनका अनुसार हामीले प्राप्त गरेको उक्त सङ्केतमा कुनै पनि सामग्री वा सन्देशहरू उपलब्ध छैनन्।“यस कारण पनि म पक्का गर्न सक्छु कि एलियनहरूबाट सङ्केत आउँदैन,” उनले भने।

खगोलशास्त्रीहरू किन उत्साहित

कुनै पनि अप्रत्याशित कुराले खगोलशास्त्रीहरू उत्साहित हुने ओ’डोहर्टी बताउँछन्। यो वस्तुले पनि त्यही कौतुहलता जगाएको छ।“उदाहरणको लागि यो साधारण न्युट्रोन ताराहरू भन्दा निकै सुस्त घुम्छ,” उनले भने।“यो के हो भन्ने कसैलाई पनि थाहा छैन। यो नै यसको रोमाञ्चक पक्ष हो।”

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्