३ श्रावण २०८३, आईतवार

 

गलकोटको रगेनीदेखि मजुवा जाने सडक अलपत्र छोड्नेलाई नै ठेक्का

बागलुङ — हरेक वर्ष लाखौंको बजेट फ्रिज भएपछि गलकोटको चक्रपथ सपना अलपत्र परेको छ । काम नसक्ने, बजेट फिर्ता जाने समस्याले गलकोट नगरपालिकाको चक्रपथ योजना अलपत्र परेको हो ।

बर्सेनि एउटै ठेकेदारले ठेक्का पार्ने, काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा ६० देखि ७५ प्रतिशत बजेट फिर्ता हुने गरेको हो । रगेनीदेखि तोरीखोला, थाना, नेपाने, चरौंदी हुँदै मजुवा जाने झन्डै २० किमि सडक नबन्दा यात्रीले सास्ती खेपेका छन् । यो सडक कहिले पूरा हुने भन्ने यकिन छैन ।

सडक गलकोट नगरपालिकाको चक्रपथको खण्ड हो । यो सडकले २, ५ र ६ वडा जोड्छ । छिमेकी ताराखोला–१ सम्म जोड्ने यो सडक नबन्दा स्थानीयले घुमाउरो बाटो हिँड्न बाध्य छन् ।

‘सडक नबन्दा ३ घण्टा लामो सडक हिँड्न बाध्य छौं । नत्र एक घण्टामा पुगिन्थ्यो,’ गलकोट–६ की लक्ष्मी रेग्मीले भनिन्, ‘ठेकेदारले काम अलपत्र पार्छ, नगरपालिकाले पटकपटक उसैलाई काम दिन्छ, अनि कसरी सडक बनोस् ?

’ वडाध्यक्ष नरबहादुर खत्रीले पनि काम अलपत्र पार्नेलाई ठेक्का दिन नहुने बताए । सातबिसे कन्स्ट्रक्सनले यो सडकमा विनियोजन भएको १ करोड ५० लाख बजेटबाट ५० लाख पनि खर्चन नसकेको हो ।

पहिलो वर्षको बजेटमा तोरीखोलामा केही काम गरेपछि ५५ प्रतिशत बढी रकम फ्रिज गरेको यो कन्स्ट्रक्सनले दोस्रो वर्ष पनि टेन्डर पार्‍यो । दोस्रो वर्ष त २७ प्रतिशत पनि रकम खर्चन नसकेपछि सडक अलपत्रै भयो ।

तेस्रो वर्ष पनि सोही कम्पनीले टेन्डर पारेपछि स्थानीय र जनप्रतिनिधिले कामै रोकेका छन् । ‘पटकपटक उसैले ठेक्का पारेर काम अलपत्र पारेपछि हाम्रो गुरुयोजना पनि चौपट भयो,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘काम अलपत्र भएकोले चक्रपथ योजना पूरा गर्न सकिएन ।’

नगरको चक्रपथ बनाएर सवारी चलाउने नारा लगाएका नगरप्रमुखको कार्यकाल सकिन लाग्दा काम पूरा नभएको आरोप लागेको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा यो सडकमा बर्सेनि ५० लाखको दरले बजेट पर्दै आएको छ । गलकोटकै वडा ४ जाने सडक कालोपत्रका लागि खुलाएको टेन्डर पनि सातबिसेलाई नै परेपछि भने नगरपालिकाले कामै गर्न नदिएको गैरेले बताए ।

‘हामीले स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नदिएको कम्पनीले नगरभित्रका सबै टेन्डर पारेर हाम्रै काम अलपत्र भए, त्यसैले उक्त कम्पनीमा सम्झौता गर्न सकिएन,’ गैरेले भने, ‘हामीले दोस्रो पार्टीलाई काम लगाउने निर्णयमा पुगेका छौं ।’

प्रक्रियागत ढिलाइ भए पनि उक्त कम्पनीलाई नदिने सबैको सहमति भएपछि न्यु गोरख निर्माण कम्पनीलाई काम दिने निष्कर्षमा पुगेको उनले जानकारी दिए ।

काम नगरेको कम्पनीलाई भने नगरपालिकाले कालोसूचीमा राखेर १ लाख २५ हजार धरौटी पनि जफत गराएको प्रशासकीय अधिकृत तुलबहादुर विकले बताए । सडक निर्माण गर्न नसक्दा प्रदेश सरकारको नजरमा समेत कमजोरी देखिएको उनले बताए ।

‘५० लाखभन्दा बढी मूल्यको सडक, भवन वा अन्य निर्माणको काम ठेक्काबाट गर्नुपर्ने कानुनी बाध्यताले ठेकेदारको भर पर्नुपरेको छ,’ वडा २ का अध्यक्ष हेमन्त भण्डारीले भने, ‘उपभोक्तामार्फत गर्न पाएको भए चक्रपथ पूरा गरिसक्थ्यौं ।’

काम अलपत्र पारेको कन्स्ट्रक्सनले डोजर लगाउने काम मात्रै गरेको हो । ठेकेदार कम्पनीले पर्खाल, कल्भर्ट र कजवेलगायत कुनै पनि काम नगरेको हो ।

स्ट्रक्चर निर्माणको काम नगरेपछि हरेक वर्ष सडक अलपत्र पर्ने गरेको भण्डारीले बताए । ‘सडक पहिरो जाने, हिलाम्मे हुने, यात्रीले सास्ती पाउने ठेकेदारकै लापरबाहीले हो,’ भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung