३ श्रावण २०८३, आईतवार

 

पेस्तोल सहित पक्राउ परेका युवक सार्वजनिक

बागलुङ – पेस्तोल सहित पक्राउ परेका एक युवकलाई प्रहरी पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४० वर्षीय श्यामबहादुर रेश्मीलाई पेस्तोलसहित बिहिबार सार्वजनिक गरेको हो ।

रेश्मीसँग हतियार भएको सुराकीको आधारमा प्रहरी निरीक्षक गुरुप्रसाद न्यौपानेको कमाण्डमा ५ जना सादा पोशाकका प्रहरीको टोलीले बुधबार बिहान साढे ९ बजे पक्राउ गरेको थियो ।

बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ ग्वालीचौर बस्ने रेश्मीका साथमा रहेको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसको म्यागेजिन र ४ राउण्ड गोली पनि बरामद गरेको थियो । रेश्मी ४ वर्ष अगाडि हतियार केशमा जेलमा बसी छुटेका थिए ।

उनी गुण्डागर्दीमा संलग्न हुन सक्ने भएकोले प्रहरीले निगरानी गर्दै आएको थियो । रेश्मीको साथमा पेस्तोल र गोलीहरू कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्त रेश्मीले हतियार बेनीमा केही वर्ष अघि भेटाएको पत्रकार सम्मेलनमा बताए । बागलुङ जिल्लामा प्रहरीको सक्रियता बढेसँगै अपराधीक घटनामा संलग्न व्यक्तिहरु धमाधम पक्राउ परेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले केही दिनअघि गाउँघरमा व्यक्तिहरुले राखेका लाइसेन्स सहितका हतियार निर्वाचन अवधिभर प्रहरी कार्यालयमा ल्याएर बुझाउन अनुरोध गरेको भएपनि अहिलेसम्म एकजनाले पनि लाइसेन्स भएको हतियार भने नबुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung