बागलुङ – बागलुङ उद्योग वाणिज्य संघले बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरको उद्योग र व्यापारको विकासको लागि उद्योग वाणिज्यसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । व्यवसायीक सुरक्षा र उद्योगी व्यवसायीको समस्या समाधानमा गर्न आफू लागि पर्ने मेयर श्रेष्ठले बताउनु भयो ।
अव्यवस्थित पार्किङलाई ब्यवस्थित गर्न पार्किङस्थल निर्माण गर्ने तयारी गरिएको समेत श्रेष्ठले बताउनु भयो । कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का,जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा,ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायत,बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेल,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माको धन्यवाद र महासचिव नरेश कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर : मन्जुल शाक्य













































































































































































































