बागलुङ – उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार निर्माण कुमार श्रेष्ठको प्यानललाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन भएको छ ।
सोमबार उद्योगी व्यवसायीहरुको संयुक्त भेलाले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो । समितिको सदस्यमा दयाराम पौडेल,मुकेशचन्द्र राजभण्डारी,थानेश्वर सुवेदी,लालबहादुर केसी र बाबुकाजि केसी रहेका छन् ।
समितिले निर्माण कुमार श्रेष्ठको नेतृत्वमा संघको सर्वसम्मत कार्यसमिति चयन गर्न अध्यक्षका अन्य उम्मेदवारसँग संवाद गरी सहमति जुटाउन पहल गर्ने जनाएको छ । कार्यसमिति र उद्योग तर्फ सर्वसम्मत समिति निर्माणका लागि उम्मेदवारी दिएका व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको संयाजन भारीले नयाँ विश्वलाई बताए ।
निर्वाचन परिचालन समिति र बागलुङमा क्रियाशिल नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी, नेकपा एकीकृत समाजवादी निकट व्यवसायीका नेताहरुले सदस्यमा उम्मेदवारी दिएका राप्रपा निकट व्यवसायी ईश्वर जंग राजभण्डारीसँग पनि आवश्यक छलफल गरी सर्वसम्मत नेतृत्व चयनका लागि संवाद गर्ने निर्णय भएको समितिले जनाएको छ ।
बागलुङ उद्योग वाणिज्य संघको नयाँ अध्यक्षको लागि आईतबार भएको मनोनयमा निर्माण कुमार श्रेष्ठ, राजन कुमार शाक्य, नरेश कँडेल र शशिकपुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसै गरी सदस्यहरुमा अर्जुन चोखाल, विष्णु राज पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, गणेश राज लम्साल, महेन्द्र प्रसाद शर्मा,उमाकान्त शर्मा बाबु, राजेश भारी, इन्द्रमणी पौडेल अर्जुन, विष्णु प्रसाद अधिकारी, दिपक हमाल,भुपाल कार्की, राजु गौतम, संजय कुमार श्रेष्ठ, ईश्वर जंग राजभण्डारी रहेका छन् ।
उद्योग तर्फ निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी परेको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए ।
संघको ५८ औ वार्षिक साधारण सभाको निर्णय अनुसार नयाँ नेतृत्व चयनको लागि असार ४ गते निर्वाचन हुँदैछ ।अध्यक्षसहित १९ जना सदस्यको लागि निर्वाचन हुनु पर्नेमा दुई जना महिला उद्यमी निर्विरोध निर्वाचित भएकोले अध्यक्षसहित २ जना उद्योग सदस्य र १४ जना सदस्यको लागि निर्वाचन हुँदैछ ।
शिव कुमार प्रधानको नेतृत्वमा २०२० सालमा स्थापना भएको बागलुङ उद्योग वाणिज्य संघमा १ हजार ३ सय १३ साधारण र १ सय ७७ आजीवन सदस्य गरि १ हजार ४ सय ९० सदस्य रहेका छन् । बागलुङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापन सदस्य समेत हो।













































































































































































































