बागलुङ- काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९,०८० का लागि ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको ११ औं गाउँसभामा उपाध्यक्ष तेज बहादुर थापाले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका स्तरीय कार्यक्रमअन्र्तगत विभिन्न विषयगत समितिहरुतर्फ ५ करोड १६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । आर्थिक विकासका लागि १ करोड ६८ लाख रुपैयाँ, सामाजिक विकासका लागि २ करोड २६ लाख ५० हजार रुपैयाँ,प
पूर्वाधार विकासका लागि ५७ लाख रुपैयाँ, सार्वजनिक सेवा तथा क्षमता विकासका लागि ३५ लाख रुपैयाँ र वन, वातावरण तथा विपद व्यवस्थापनको लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन भएको हो ।
काठेखोलाको प्रशासकीय भवन निर्माण गर्न जग्गा ब्यवस्थापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष थापाले बताए । गाउँपालिकाको हरेक वडाको योजना तथा कार्यक्रमका लागि ६ करोड १५ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ ।
अक्षेते, करिना, वडा कार्यालय धिमी जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख र अक्षेते राहाले घुम्टीदेखि डुडिया, लामांगीघुम्टी हुँदै ४ नं वडा कार्यालयसम्म पुग्ने सडक स्तरोन्नतिका लागि ५० लाख रुपैया गरी जम्मा १ करोड रुपैयाँ विनियोजन भएको छ । वडाको गौरवको योजना पहिचान गरि कम्तिमा २० लाख नघट्ने गरि प्रत्येक वडाको एक एक वटा योजनासहित जम्मा ८ वटा योजनालाई बजेट बिनियोजन गरेको थापाले बताए ।
अध्यक्षसँग शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ र उपाध्यक्षसँग बिद्यालय सघन तथा नियमित अनुगमन कार्यक्रमका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ । विपद कोष स्थापनाका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
कृषि तथा पशुपालनमा ७२ लाख, उद्योगतर्फ ३० लाख, उर्जातर्फ ८ लाख, शिक्षातर्फ २१ करोड २६ लाख, स्वास्थ्यतर्फ ४ करोड १ लाख, आवास व्यवस्थापन कार्यक्रमतर्फ ३६ लाख, सामाजिक सुरक्षा तथा रोजगार प्रबद्र्धन कार्यक्रमतर्फ ८८ लाख, झोलुंगे पुलतर्फ ४० लाख र पर्यटन पूर्वाधारतर्फ २० लाख रुपैयाँ बिनियोजन गरिएको थापाले बताए ।













































































































































































































